शशी पौडेल
१९८९ मा बर्लिनको पर्खाल भत्केपछि र १९९१ मा सोभियत संघको विघटन पछि विश्वमा समाजवादको भविश्य बारे निकै ठूला ठूला बहस हुन थाले । समाजवादीहरु भित्र केही निराशाको र थोरै आशाका टुसाहरु देखिए भने पूँजीवादीहरु भित्र भने विभिन्न तर्क गर्दे समाजवाद अब ५० वर्षका लागि पछाडि धकेलियो भन्दै भोज भतेर गर्न थाले । पूँजीवादीहरुले समाजवाद प्रति जनताको मोह भंग भएको मात्र तर्क गरेनन् कि उनिहरुले समाजवादी सिद्धान्तलाई ‘‘व्यवहारमा लागु गर्न नसकिने’’ सिद्धान्त हो भन्ने आरोप समेत लगाएका छन् । उनिहरुले राज्यविहिन समाजको परिकल्पना अहिलेको अवस्थामा गर्नै नसकिने भन्दै खास गरी निम्न तर्कहरु क्रिष्टलाइज गर्न खोजे । हेरौं उनिहरुका आरोपमा कति सत्यता छन् ?
१ .समाजवादको ‘‘मोडेल’’ रुस, पूर्वी युरोप र अफ्रिकाका केही मुलुकहरुमा टिक्न सकेनन् ।
२. पूँजीवाद नयाँ यन्त्र, साधन र टेक्नोलोजिबाट विकाश हुदै गैरहेको छ र यो ग्लोवलाईजेसनले गर्दा अन्तराष्ट्रिय क्षेत्रमा बलियो हुदै गैरहेको छ । र पूजीको विकाश र आधुनिक बजार व्यवस्थाका कारणले सर्वहारा वर्ग बिस्तारै बर्गसंघर्षबाट बिमूख भैरहेका छन् ।
३. परम्परागत समाजवादीहरु र परम्पराबादी सर्वहारा वर्ग समर्थक ट्रेड युनियन (व्यवसायिक संगठनहरु) ले अहिले सर्वहारा वर्गका राजनितिक पार्टीलाई समर्थन गर्नबाट हिचकिचाई रहेका छन् किन भने उनीहरुले पनि पूँजीवादलाई नजानिदो ढंगले स्वीकार गरि सकेका छन् । सच्चा समाजवादीहरु अहिले नब उदारवादी शक्ति बनेर आएका छन् र आफ्नो सिद्धान्तलाई महत्व दिएका छैनन् । उनिहरुले अर्थात परिम्परागत समाजवादी र रिफििमस्टहरु अहिले नवउदारवादी पूँजीवादी हुन पुगेका छन् ।
४. उपरोक्त कारणहरुले सर्वहारावर्गका आर्थिक सामाजिक एवं राजनीतिक अवस्था कमजोर हुदैं आईरहेको छ । टेक्नोलोजिकल विकाश, परिवर्तन, नयाँ व्यवस्थापन तरिका र ग्लोवलाइजेसनले वर्गीय संगठन एवं पेशागत संगठनहरुको शक्ति खोसिसकेको छ । यो कसरी देख्न सकिन्छ भने प्रथम वा दोस्रो विश्व युद्धका अघि र पछि पनि वर्गीय एवं पेशागत संगठनहरु राजनितिक पार्टीहरु भन्दा शक्तिशाली थिए । त्यस्ता पेशागत संगठनका व्यक्तिहरु अहिले छदै छैनन् भन्दा अत्युक्ति हुने छैन । किन भने त्यस प्रकारका क्लासिकल उद्योगहरु जस्तै कोइला खानी, मेकानिकल इन्जिनियरिङ बर्कसमा अहिले मोडर्न टेक्नोलोजिद्धारा काम हुने गर्छ ।
५. अर्कोतिर समाजवादी नेताहरु अहिले प्रो क्यापिटलिष्ट बनेर आफ्नो वर्गलाई बिर्सेका छन् उनिहरुलाई नेतृत्व बिहिन पारेकाले सर्वहारा वर्गमा निरुत्साह पलाएको छ ।
संसारभरका पूजीजीबीहरुले समाजबाद माथि लगाएका उक्त आरोपहरु नेपालको सन्दर्भमा पनि लागु हुन्छ । यसरी विश्वमा समाजवादी आन्दोलनका बिरुद्ध पूँजीवादले उपरोक्त तर्कहरु गरिरहेकै बेला हाम्र्रो मुलुकमा सामन्तवादी राजाको सत्ता ढलेको हो । गणतन्त्र नेपालको उदय भएको हो । गणतन्त्रको उदय पछि जनताको बहुदलीय जनवादको संस्थागत विकाश गर्दै लाने वा लोकतान्त्रिक पद्धतीको संस्थागत विकाश गर्दे लाने अथवा तुरुन्तै जनगणतन्त्र सम्म जाने भन्ने तीन धारबाट राजनितिक बहस भैरहेको छ । अर्थात राजनितिक पार्टीहरु विशेष गरी तीन धुर्वमा विभाजित छन् । यसरी तीन धुर्वमा विभाजित भएको अवस्थाले समग्र नेपाली जनसमुदायलाई अन्योल पार्न सक्छ एकातिर भने अर्कोतिर जनताले नचाहेको शक्तिको उदय हुने संभावना हुन सक्छ । यति मात्र नभै वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टीले अझै पनि प्रष्ट धार लिन नसकेको अर्थात एक्काइसौं सताब्दीको समाजवाद वा जनगणतन्त्र नामक दुई पंतिमा विभाजन भएको अवस्था छ । यस्तो अवस्थामा हाम्रो मुलुकको राजनितिक भविष्य र समग्रमा समाजवादको भविष्य कस्तो छ त ? राष्ट्रिय अन्तरराष्ट्रिय संभावनाहरुलाई आंकलन गर्ने प्रयास गरेको छु ।
कार्लमाक्र्सको उदयपछि विश्व जनसमुदाय शोषण र शोषितको परिभाषाबाट परिचित भए । अतिरिक्त पूँजी र मुनाफा गर्ने तरिकाबाट परिचित भए । पूँजीवाद प्रति बितिष्णा जाग्न थाल्यो । माक्र्सवादी सिद्धान्तको प्रतिपादनसंगसंगै अर्कोतिर युरोपका देशहरुमा औद्योगिक एवं व्यवसायीक क्षेत्रको विकाश हुदै गयो । मजदुर बर्गले आफ्नो यथार्थता बुझ्न थाले । जसको कारण पूँजीवादको मार्गमा काँढा उम्रन थाल्यो । पूँजीवादभित्र भएका महत्वाकांक्षा, शोषण प्रवृति र अन्य थुप्रै खराबीका कारणबाट माक्र्सवादी द्धन्दात्मक भौतिकवादी सिद्धान्तले प्रेरणा पाउन थाल्यो । कार्लमाक्र्सको कम्युनिष्ट पार्टीको घोषणा पत्रको उद्देश्य समाजवादी तरिकाबाट सामाजिक आर्थिक व्यवस्थालाई स्थापित गर्नु थियो । समस्त भौतिक उत्पादनका साधनहरुमा केही मुठ्ठीभर व्यक्तिहरुको स्वामित्व हुनु अनुचित थियो । समाजको अर्थव्यवस्था अथवा उत्पादन, वितरण, विनिमय तथा उपभोग संबन्धी व्यवस्था समाजले गर्नु पर्छ भन्ने मान्यता हो । प्रतिस्पर्धात्मक अर्थव्यवस्थाबाट एक व्यक्तिले अर्को व्यक्तिको शोषण गरी सम्पति संचय गर्ने प्र्रवृत्तिको अन्त हुनुपर्छ भन्ने हो । यसपछि समाजको पुननिर्माणका लागि विधि, विधान र नेतृत्व समाजवादी हुनु पर्छ भन्ने हो ।
तर दुर्भाग्य रुसमा स्तालिनको नेतृत्व र चीनमा माहोत्सेतुङको सांस्कृतिक क्रान्तिको बिरोध गर्ने मौका पूँजीवादले पायो । शीत युद्ध शुरु भयो ।सोभियतसंघले शोभियत जनतासंग आफ्नो वास्तविकता लुकाउने प्रयास गर्यो । राजतितिक सिद्धान्तको आधुनिकिकरण गर्दे जनतालाई प्रशिक्षित गर्दे लानु पर्नेमा नगरी बिधि, विधान र नेतृत्व तीनै चीजले आफ्नो लिक छोड्यो ।
अहिलेको बर्गीय चरित्रको रुप फरक छ । औद्योगिक व्यवस्था, कलकारखानाको चरित्र फरक छन् । यस अर्थमा आन्दोलन, क्रान्ति र वर्ग संघर्षको रुप पनि फरक हुने भयो ।
जहाँसम्म पूँजीको विकाश र बजार व्यवस्थाको कारणले सर्वहारा वर्ग विस्तारै वर्ग संघर्षबाट विमुख भै रहेका छन् भन्ने आरोप छ । अवश्य हो बजार व्यवस्थाको रुप फरक छ तर यस्तो अवस्थामा वर्ग चरित्र पनि फरक हुन्छ र वर्ग संघर्षको रुप पनि फरक हुन्छ । त्यसैले समाजवादी लोकतन्त्रात्मक जनताको बहुदलीय जनबाद नै आजको विकल्प हुन सक्छ । हालाकी यसले लेनिनवादका केही महत्वपूर्ण पक्षलाई सुधार्नु पर्ने हुन्छ भने माक्सवादका केही क्लासीकल सिद्धान्तलाई परिमार्जित गर्नु पर्ने हुन्छ । समाजवादी लोकतन्त्रले समाजवादका लक्ष्यहरुलाई लोकतान्त्रिक प्रकृयाबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरामा बलियो अडान राख्दछ । समाजवादी लोकतन्त्रका पक्षधरहरु अह्लिै जर्मनीमा एक पछि अर्को निर्वाचित हुदै आउन थालेका छन् । २०१० को अक्टोबर महिनामा भएको जर्मनीको राज्य सभाको निर्वाचनमा चारबटा प्रान्तमा दोस्रो र तेस्रो बलिया पार्टीका रुपमा निर्वाचित भएका थिए भने यस बर्ष भएको जर्मनीको संसद निर्बाचनबाट संसदको तेस्रो शक्तिका रुपमा निर्बाचित भएका छन् ।
लेटिन अमेरिकी परिवर्तनहरुले पूँजीवादीहरुले लगाएको परम्परावदी समाजवादीहरु सर्वहारा वर्ग र ट्रेड युनियनहरु बिस्तारै पूँजीवादी हुदै गएको भन्ने आरोपको खण्डन गरेको छ । पूँजीवादी शक्तिहरुले समाजवादलाई असफल सावित गराउन ल्याएको नव उदारवादी अर्थतन्त्र तहस नहस भएको छ । पूँजीवादीहरुका बलिया खम्बा भनिने बैंकहरु पातालमा पुगेका छन् । भेनेज्युला, ब्राजिल, बोलिभिया, इक्वाडोर, निकारागुवा, उरुग्वे, अर्जेनटाइन आदि मुलुकहरुले द्धृन्दात्मक भौतिकवादी सिद्धान्तलाई मुलुकको समाजिक आर्थिक, सांस्कृतिक र राजनितिक अवस्था संग सुहाउने गरी वैज्ञानिक ढंगबाट लागु गरिरहेका छन् ।
माक्र्सबादी लेनिनवादी दृन्दात्मक भौतिकवादी सिद्धान्तलाई हरेक मुलुकको परिवर्तित सामाजिक अवस्थालाई आत्मसात गर्दे देश काल र परिस्थिती सुहाउदो गरी लागु गर्नु पर्ने आजको आवश्यकता हो । मुल कुरा परिवर्तित वर्ग, वर्गीय चरित्र र वर्गसंघर्षलाई बुझेर, चिनेर शोषित उत्पीडित वर्गको शक्ति र आवश्यकता तर्फ ध्यान दिदैं समाजलाई शोषणबाट मुक्त गराउने तर्फ लाग्नु पर्ने हुन्छ ।
एक हद सम्म पूँजीवादीहरुको आरोपमा के सत्यता छ भने केही आफुलाई समाजवादी भन्न रुचाउनेहरुले पनि समाजवादको विरोधमा पूँजीवादीहरुले गरेको खेतीमा मल जल थप्ने काम गरे । ती व्यक्तिहरु अवसरवादी हुन् । तर कर्मठ सच्चा समाजवादीहरुले आज सम्म बाटो विराएका छैनन् । उनिहरुले पूँजीवाद र नव उदारवादीहरु विरुद्धको एकता कार्ल माक्र्स, ऐगेल्सले देखाएको बाटोबाटै हुनु पर्ने यथार्थतालाइै स्वीकार गरेका छन् । माक्र्सवादी द्धन्दात्मक भौतिकवाद, लेलिनवादी राज्य र सत्ता तथा वर्गीय समाज र राज्य जस्ता सिद्धान्तहरु आजको समाजले अझ दह्रो गरी आत्मसात गरेको छ । समाजका सबै खाले व्यवस्था र सामाजिक अवस्था परिवर्तनशील छ । पूँजीवादी व्यवस्थाका पनि विभिन्न ढाँचाहरु परिवर्तन हुदै आइरहेका छन् । यसै क्रममा केही समय अघि पूँजीबाद चरम आर्थिक संकटमा उभिएको थियो । गरीब र धनी बीचको दुरी अरु बढ्दै गैरहेको छ । शोषण बढ्दो छ । यस्तो अवस्थाको समाधान भनेको समाजवादी विचार र सिद्धान्त मात्र हो । समाजवादी लोकतन्त्र मात्रै यसको विकल्प हो । समाजवादी लोतन्त्र प्राप्तिको संघर्ष अथवा क्रान्तिको रुप पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध चिनियाँ क्रान्ति, भियतनाम क्रान्ति वा फ्रान्सेली क्रान्ति जस्तो हुने छैन । किन भने क्रन्तिको स्वरुप, प्रकृया र अवस्थामा मात्र हैन मानवजातीको सोच, कार्यशैली संचार माध्यम र हातहतियारका प्रकारमा समेत घना परिवर्तन भएको छ । समाजवादी लोकतन्त्रको भविष्य उज्जल छ । समाजवादी लोकतन्त्र एक स्थिर र परिपक्क राज्य व्यवस्थाको रुपमा स्थापीत हुने छ । कहिले र कहाँ स्थापीत हुन्छ भन्ने कुरा चाही मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा निर्भर हुनेछ । यस निम्ति आज सम्मका संघर्ष र आन्दोलनका इतिहासको गहिरो अध्ययन गरी चाहे ती राजनितिक पार्टीको नेतृत्वमा भएका आन्दोलन हुन् वा नहुन् उदाहरणका लागि ‘‘जयतु संस्कृतम’’ लाई लिन सकिन्छ बाट प्राप्त गरेका अनुभव र ती अनुभव बाट सिकेका शिक्षाहरु नै पूँजीवादी एवं सामन्तवादी व्यवस्था ढाल्ने शक्ति हो । त्यो शक्तिलाई मुलुकको वर्तमान अवस्थामा वैज्ञानिक ढंगले लागु गर्नु पर्छ । डेडसय बर्ष अगाडिको परिस्थितीमा जन्मिएको माक्र्सवाद झण्डै एक शताब्दी अगाडि प्रयोग गरिएको लेनिनवादलाई हुबहु लागु गर्ने तर्फ नलागी वर्तमान विश्व परिपस्थतिमा र नेपालको भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थालाई वस्तुगत ढंगले विष्लेषण गरेर, अन्तविरोध पहिचान गरी समस्त नेपालीहरुको समस्या, आवश्यकता र चाहना संबोधन हुने गरी ल्याइएका कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने छ । यसो गरेमा नेपाल, नेपाली समाज र नेपालमा कार्यन्वयन गरिने समाजवादी लोकतन्त्रको भविष्य बारे प्रश्न चिन्ह उठ्ने छैन ।
10 Responses to समाजवादको भविश्य