हिजो फेसबुकमा एउटा मेसेज आयो, जो यस प्रकार थियो । “हाम्रो बसाइ चाबहिलको मित्रपार्कमा थियो । हाम्रो कोठामा चोरी भएर मोजा समेत लगेको याद होला हैनर ?” मैले त्यसको जवाफमा लेखें “ओ कहाँ हुनुहुन्छ अहिले ? गणेश अंकल कहाँ हुनुहुन्छ ? त्यो घटना बिर्सियो भने त अरु सम्झने कुरा केही बाँकीनै रहेननी होइनर ? ”
सिताराम घिमिरेको त्यो मेसेजले मलाइ अतित तिर डोर्यायो । आज भन्दा झण्डै ३७/३८ बर्ष अघिको कुरा हो । मैले तानसेन क्याम्पस नपढ्ने सोचाइ राखेको थिंए । तर बुवाले भने तानसेनमा नपढे अन्यत्र पढ्न खर्च नभर्ने कुरा गर्नु भएको थियो । बुवाको यो सोचाइले मलाइ छटपटी बढेको थियो । त्यो छटपटीसंगै मैले बिहान वा साँझको पढाइ गर्ने र दिउसोमा कतै काम खोज्ने अठोट गरें र म पोखरा तिर लागें । त्यतिबेलाको पोखरा पश्चिमाञ्चल क्षेत्रको राजधानी थियो र त्यहाँ तानसेनमा भन्दा बढी हलचल हुन्थ्यो । पोखरामा बिहान वा साँझको पढाइ गर्ने र कुनै कामको ब्यबस्था गर्न सकिन्छ कि भन्ने खोजीमा थिंए म । त्यतिबेला घरबाट इन्टरनेट वा टेलीफोनको माध्ययमबाट काम वा पढाइका बारेमा सुसुचित हुन सम्भव थिएन । किनकि बिश्वमा इन्टरनेटनै थिएन । पोखरामा अचानक सिताराम घिमिरे भेटिए । उनिसंग चिनाजानी थिएन तर कुरै कुरामा मित्रता गासियो । उनि पनि मेरो जस्तै समस्याले रन्थनिएका रहेछन् र बिकल्पको खोजीमा रहेछन् ।
पोखरामा पनि साँझ वा बिहानमा पढ्न पाउने सम्भावना रहेनछ । म पृथ्वी नारायण क्याम्पसमा गएर सोधें, त्यहाँको सुचना अनुसार काठमाण्डौमा रत्नराज्य लक्ष्मी क्याम्पसले गत बर्ष देखि बिहानी कक्षा संचालन गर्न थालेको र त्यहाँ पत्रकारिता बिषय पढाइ हुने अनि पाटन क्याम्पसले पनि मानबिकी बिहानी क्याम्पस खोलेको थाहा लाग्यो । एउटै समस्या, कुरा मिल्यो उनिसंग । एक पटक घर फर्कने र अनि काठमाण्डौ जाने सल्लाहा गर्यौं । सल्लाहाक्रममा उनले फुरुगं हुदै हामीलाइ २/४ दिन आफ्नो ब्यवस्था नभएसम्म बस्ने ठाँउ पनि छ भनिहाले । उनले भने एकजना मेरा मित्र हवाइ बिभाग काठमाण्डौमा काम गर्छन् । उनका यी कुराले म पनि फुरुगं भएं र मेरो निर्णय झन बलियो भयो । हुनत मेरो स्वभाव त्यहाँ गएर के खाँउला वा के गरौंला भनेर पहिलेनै सोंच बनाउने खालको होइन । अर्थात अगाडी पछाडी नसोंच्ने रिस्क लिइहाल्ने ।
हामी काठमाण्डौ जाने निर्णय गरेर पोखराबाट तानसेन फर्कियौं । मैले मेरो वुवा आमालाइ मेरो योजना सुनाएं । पहिले त दुबैले बिरोध गर्नुभयो तर मेरो वाककलाको अगाडी उहाँहरुको केही लागेन, कन्भिन्स गरीहाँले । कन्भिन्स मात्र होइनकि बुवाले कमलराज रेग्मीका नाममा एउटा चिठी पनि लेखिदिनु भयो । त्यतीबेला कमलराज रेग्मी गाँउफर्क राष्ट्रिय अभियानका हर्ताकर्ता अर्थात अध्यक्ष थिए ।
काठमाण्डौका लागि साइतको दिन आयो । म बिहान १० बजे तिर सितारामको बाबाको पसलमा पुगें । त्यहाँ खाना खाइवरी हिड्न तयार थियौं । सतिारामको बुवाले यतिखेर ठीक १२ बजेको छ दोपहरमा यती टाढाको साइत गर्ने होइन, १०/१५ मिनेट पछि निस्कनु भन्नुभयो । हामीले त्यसै गर्यौं ।
मनमा असाध्य नमज्जा भयो । सायद अव धेरैदिनका लागि घर छोडेर हिडियो भन्ने भयो क्यारे । म घरबाट निस्कदा आमाले पुछेको आसुले मेरो बाटो छेके जस्तो पनि लाग्थ्यो । बुवाले भने मुटुमाथि ढुंगा राखेर “नबिराउनु नडराउनु छोरा, कही कतै बदमासी नगर्नु, कानुनले बन्देज लगाएको काम कहिल्यै नगर्नु, दुनियाँमा कसैलाइ पनि नसताउनु, यदि कसैले तिमीलाइ मन पराउदैन भन्ने बुझ्यौ भने त्यस्तो अवस्थामा सतर्क हुनु, नितान्त आफ्नो स्वार्थको मात्र पछि नलाग्नु, सल्लाह सबैको सुन्नु तर काम भने यो नै सही हो भन्ने लागेका मात्र गर्नु, यदि कुनै कुराले तिम्रो मनमा दोधार उत्पन्न भयो भने त्यसबारे राम्रोसंग सोच्नु र एउटा निर्णयमा पुग्नु, दोधारले मान्छेलाइ गन्तब्यसम्म पुग्न तगारो हाल्छ ।” यद्यपी मेरो आदरणीय दाजुको अकालमै मृत्यु भएको पाँच बर्ष पनि भएको थिएन । बुवा आमाका लागि त्यो सदाका लागि भएको बिछोडको घाउमा माम्री लागीसकेको थिएन । तै पनि मलाइ यस्तै केके सम्झाउनु भएको थियो । बुवाका यी सल्लाहा, आदेश वा प्रिय बचनले मेरो आँट र हौसला बढेको थियो । बाटामा मैले यी कुराहरु सितारामलाइ पनि सुनाएं । तर उनको दुनियाँ मेरो भन्दा फरक थियो । उनले रमाइलो र हड्ढागं हुड्डुगंलाइ बढी प्राथमिकता दिन्थे ।
त्यतिखेर भने म बडो सिरियस भएको थिएं । मैले भने काठमाण्डौमा कसरी काम खोज्ने, क्याम्पस भर्नाका लागि कसरी तयारी गर्ने भन्ने योजना बनाउन चाहान्थें । किनकि त्यतिबेला तानसेनबाट काठमाण्डौ सम्मको बसको यात्रा झण्डै २० घण्टाको हुन्थ्यो । पोखरा सम्म एउटा बसमा र पोखराबाट अर्को बसमा जानु पथ्र्यो । त्यतिबेला उनको मनमा पनि मलाइ जस्तै लामो समयका लागि घर छोडेको चिन्ता थियो । मलाइ थाहा थियो उनि यो चिन्ताले म भन्दा बढी डामिएका थिए । उनको यो लामो समयको लागि घर छोडेको पहिलो थियो । तर म भने यस पहिले पनि घर छोडेर बनारस बस्ने गरेको थिंए । अर्थात बिछोडको पिडा सहने बानी परेको थियो, यो पनि सिक्नु पर्दो रहेछ । यो बानी उनिमा परेको थिएन । बस गुडीरहेको हुन्थ्यो, अनि मैले काडमाण्डौमा के र कसरी क्याम्पस खोज्ने, र क्याम्पस खोज्ने भन्दा काम खोज्ने अझ प्राथमिकतामा परेको कुरा छलफल गर्न चाहान्थें । तर उनले या त गीत गाउन थाल्थे या त उनले अमिताब बच्चनका फिल्मका कुरा झिक्थे । मलाइ भने कति कतिबेला उनिसंग रिस उड्थ्यो । मैले त्यतिबेला उनलाइ बुझ्न सकेको रहेनछु । उनले बसमा त्यसो गर्नुको खास कारण चांही आमा बावुसंग भएको बिछोडको पिडा सहन गर्न पो रहेछ ।
हामी काडमाण्डौ पुग्यौं । उनले गणेश न्यौपानेलाइ टेलिफोन गरे । हवाइ बिभाग बबरमहल पुग्यौं र गणेशजीसंगै उनको डेरा क्षेत्रपाटी आयौं । गणेशजीसंग मेरो चिनाजानी थिएन । त्यतिबेलै शिबभक्त शर्माका भाइ पिताम्बर शर्मा र उनका एक साथी तालिमका लागि काडमाण्डौ आएका रहेछन् । एक जनाका लागि लिएको डेरामा पाँचजनाले रात काट्नु पर्ने भयो । यद्यपी पिताम्बरका दाइ शिबभक्तको आफ्नै घर थियो चाबहिलमा ।
भोली पल्ट देखि जागीर खोज्ने र क्याम्पस भर्ना प्रकृया सुरु भयो । त्यतिबेला काठमाण्डौ यस्तो थियो कि यदि कुनै पाल्पालीले म पाल्पाली हुँ भन्यो भने बाटो छोडिदिन्छन् जस्तो लाग्थ्यो । राजदरबार भित्रका हर्ता कर्ता पाल्पाली, गाँउफर्क राष्ट्रिय अभियानका हर्ताकर्ता पाल्पाली, स्वास्थ्यमन्त्री एवं उद्योग बाणिज्यमन्त्री पाल्पाली आदी आदी । तर सिताराम र म महिनौं जागीर नपाएर यत्र तत्र भौंतारिने पनि पाल्पाली । सिताराम पाटन क्याम्पसमा भर्न भए म रत्नराज्य लक्ष्मी क्याम्पसमा । तर हाम्रा अघि भने हरेकदिन क्याम्पस छोड्नु पर्ने खतरा बढ्दै थियो किनभने जागीर अझै भेटिएको थिएन । उता घरबाट खर्च मगाउनु पनि लाजमात्र होइनकि महिनौ लाग्ने । मर्नु भन्दा बहुलाउन निको भने जस्तै खर्च मागेर बाबाको नाममा एउटा चिठी लेखें । मेरो चिठी पाल्पा पुगेर त्यहाँबाट पैसा पठाउन निकै समय लाग्ने भएकाले एउटा आशा बोकेर म एक बिहान हरि नेपालको डेरामा पुगें, यदि उनले मलाइ एकसय रुपैंया दिए भने मैले बुबालाइ चिठी लेखेर हरि नेपालको घरमा खस्यौली पुगाइदिन भन्ने छु भन्ने सोचाइले म उनकोमा गएको थिंए । त्यही नै सबभन्दा सजिलो उपाए थियो । हरि नेपालले त्यतीखेर भौतिक योजना बिभागमा हो क्यार काम गर्थे । उनको पद समाजशास्त्री भन्ने थियो । उनी पहिले मेरो स्कूलको बिज्ञान शिक्षक थिए । त्यहाबाटै मेरो चिनाजानी थियो । उनको सबै परिवार र हामीबीच राम्रो चिनाजानी थियो । अहिले हरि नेपाल सम्बिधान लेख्न सम्बिधानसभा हल भित्र पाल्पाको हाम्रो क्षेत्रबाट चुनिएका छन् । उनि नेपाली कांग्रेसका सदस्य हुन् । म उनिकहाँ पुग्दा एकजना पाल्पा पोरकनीका ब्यक्ति पनि थिए । उनि बनारसबाट पढालेखा हुन् र त्यतिबेला उनले बाल्मिकी क्याम्पसमा उढाउथे । मैले हरि नेपालसंग म त्यहाँ जानुको कारण भन्न भ्याएकै थिइन । उनले बेस्सरी ठुला ठुला कुरा गर्न थाले र भने “अव त मेरो एउटा चाहाना छ काठमाण्डौबाट हेलीकप्टरमा बसेर खस्यौलीको मेरो बारीमा लगेर उतार्ने ।”
उनको त्यो भनाइले मेरो मनमा कता कता पोल्यो । उनले मलाइनै संकेत गरे जस्तो लाग्यो । हुनत यस पहिले पनि उनीसंग मेरो कुरा हुदा सधै बी पी कोइराला, गणेशमान, वा कृष्ण प्रसाद भट्टराइ बाहेक अन्य कुरा गरेको मैले थाहा पाएको थिइन । उनले त्यो जागीर भर्खर भर्खर मात्र सुरु गरेका थिए । त्यही बर्ष हो क्यारे उनले भारतबाट समाजशास्त्रमा एम ए गरेपछि स्कूल पढाउन छोडेर सरकारी जागीरमा लागेका थिए । पढाउने मामिलामा भने उनी सिपालु थिए । यस पहिले सम्म मैले उनलाइ असाध्यै आदर गर्थें तर उनको हेलिकप्टरका कुराले मलाइ निकै पिन्च गर्यो । मेरा आँखा झुके । त्यहा उपस्थित उप प्राध्यापक तर्फ मैले गहिरिए हेरे अचानक उनको अनुहार पनि झुक्यो ।
क्रमश……
अतिततिर फर्केर हेर्दा
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…