हरि फुँयाल जतिपटक उत्साहित भए त्यो भन्दा कैयौंगुना बढी निराश भए। पार्टी राजनीतिमा लाग्ने विचार दिमागमा कहिल्यै पलाएन। पञ्चायतकालमा नेपाल विद्युत कर्पोरेशनमा जागिरे थिए। आफ्नो पेशागत कर्ममा निष्ठापूर्वक समर्पित भएर काम गरिरहेका थिए। कर्मचारीहरूमध्ये पनि टाठाबाठा र धूर्तहरूले शक्तिकेन्द्रमा सम्पर्क बढाएर तथा आफ्ना नाता, कुटुम्बहरूमध्ये त्यस्तै चलाक, छट्टुहरूले दरबारियाहरूसम्म पहुँच पुर्याएर फाइदा लिएको, तर कर्तव्यलीनहरूलाइ पाखा पारिएको दृष्यहरू खट्किंदै गयो। पक्षपात खपिनसक्नु भएरै बहुदलीय नेताहरूलाई सहयोग गर्न थालेका थिए। ब्यवस्थाकै कारणले यो विसंगति देखिएको ठहर गरेर २०४६ सालको आन्दोलनमा खुलेरै लागे। आन्दोलनको बलमा प्राप्त बहुदलले न्याय गर्ला तथा पाखा पारिएका र पिल्सिएर रहेकाहरूको दिन फिर्ला भनेर विश्वास गरेका थिए। विश्वास गर्नुको कारण थियो–२०१५ सालमा ‘नेपाल पुकार’मा प्रकाशित वीपी कोइरालाको सानो लेख।
आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गरी लेखिएको उक्त लेखमा वीपीले पार्टीभित्रका सात वटा खराबीलाई रोगको रुपमा औंल्याएर डाइग्नोसिस गरेका थिए। कांग्रेसका नेताहरू हरेक बिषयवस्तुलाई आत्मकेन्द्रित भएर सोच्दछन्। प्रस्तुत बिषयलाई अगाडि बढाउँदा आफ्नो स्थान कहाँ रहन्छ, त्यसको लेखाजोखा गरेर मात्र पहल गर्छन् भनेर वीपीले एउटा रोग डाइग्नोसिस गरेका थिए। नेपाली कांग्रेसका नेताहरूमा जिम्मेवारीबोधको अभाव र उत्तरदायित्वप्रति तत्परता नभएको दोस्रो खराबी उनले औंल्याएका थिए। चाकरीमा आउनेसँग संधैं घेरिएर बस्ने र तिनीहरूकै सल्लाहमा चल्ने शैलीलाई तेस्रो कमजोरी भनेका थिए। नेताहरूले आफूलाई माथिल्लो तहको र पार्टीका साधारण र सोझा कार्यकर्तालाइ तल्लो तहको सम्झेर सोही मुताविक गर्ने ब्यबहारलाइ वीपीले चौथो दोष भनेका थिए। जनतासँग घुलमिल भएर जनताकै माझमा रहन नसक्ने जीवनशैलीलाइ उनले पाँचौं त्रुटी भनेका थिए। अध्ययन नगर्ने बानिलाइ छैठौं खराबी भने। र नैतिकताको अभावलाइ गम्भीर मान्दै उनले नैतिकहीन राजनीतिलाई अलिनो र खोक्रो भनेका थिए। वि।सं। २०१५ सालमा ‘नेपाल पुकार’मा प्रकाशित उक्त लेख मात्र ह्वैन, २०१२ सालमा बैरगनियाँ अधिवेशनबाट पारित दस्तावेजबाट पनि हरि फुँयाल प्रभावित भएका थिए।
जुन पार्टीको मुख्य नेताले आफ्नो कमीकमजोरीलाई आफैंले निर्ममतापूर्वक अप्रेशन गर्न सक्छ भने त्यस्तो नेताले निर्माण गरेको पार्टी तथा तिनीहरूबाट प्रशिक्षित नेताहरू परिस्कृत र खारिएका होलान् भनेर हरिले निस्कर्ष निकालेका थिए। पञ्चायतकालमा दरबारियासँग सम्पर्क बनाएका छट्टु, चलाक र धूर्तहरूको हालिमुहाली देखेर वाक्क भएका हरिले वहुदलीय पार्टीलाई साथ दिएका थिए र आन्दोलनमा होमिएका थिए। त्यतिमात्र हैन, वि।सं।२०४८ सालको निर्वाचनमा त्यही पार्टीलाई जिताउन कम्मर कसेरै भिडे।
सरकारमा पुगेपछि हरिले देखे, पार्टी त गुट–गुटमा विभाजित छ। आफ्नो गुटलाई भ्रष्टाचार र मनपरी गर्न पुरै छुट छ। सातखत माफ छ। छत्तिसे र चौहत्तरे बीच कौरव र पाण्डवको युद्ध छ। प्रजातान्त्रिक समाजवाद भनेपनि पार्टीले सिद्धान्त र दर्शनलाई तिलाञ्जली दिइसकेको छ। विचारको राजनीति बिसाएर मनि, मसल र हूलमूलको राजनीति हावी भएको छ। आफन्तवाद र गुटवादको दबदबा छ। नेपाली कांग्रेसका जगहरू बालचन्द्र शर्मा, सुवर्ण शमशेर, टङ्कप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्रहरूको सम्झना लेस पनि बाँकी छैन। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, शेख इद्रिसहरूलाई किनाराबाट पनि पर अँध्यारो कुनातिर धकेल्दै छ। यी सब दृष्य छ्याङ्गै देखेपछि हरि फुँयालको मन भरङ्ग भयो।
वितृष्णा उम्लिएर आक्रोश हुँडलिइरहेको अवस्थामा माओवादी नामको तेस्रो शक्तिको उदय भयो। वि।सं।२०५८ सालको आधाआधिसम्म त्यो शक्तिलाई हरिले निकै आशालाग्दो नजरले हेरेका थिए। त्यसबेलासम्म त्यो शक्ति सामाजिक विकृतिको विरुद्ध तथा सामाजिक न्यायका लागि मोर्चा कसेरै लडिरहेको थियो। त्यसबेलासम्म अनावश्यक हिंसाको दुरुपयोग भएको पनि थिएन। वि।सं।२०५८ सालको उत्तरार्र्द्धदेखि जब मनपरी पासविक हिंसामा उत्रियो, तब त्यो पार्टीप्रतिको आकर्षण स्वाट्टै घट्यो। एउटा कम्युनिष्ट पार्टीले वर्गसङ्घर्ष छाडेर जब समाजलाई जात–जातमा विभाजित गरी भिडाउने खेल शुरु गर्योष तब त्यो पार्टीप्रति घृणाको हदसम्म वितृष्णा जाग्यो।
२०७० साल मंसिरको निर्वाचनपछि आशा र उत्साहका मुना टुसाएका थिए। सरकार बनेपछि हरि दुई, तीनजना ठूला नेताको क्वार्टरमा पुगे। हरेक नेताको दरबारमा समाजका तिनै छट्टु, धूर्तहरू तथा ठेकेदार, माफिया, कमिशनखोर र घुस्याहा हाकिमहरू (समग्रमा भन्नुपर्दा पुराना चोरहरू) टनाटन भरिएका थिए। हरेकले आफ्नो फाइदाको कुरा गरिरहेका थिए। हाम्रा नेताजी चाहिं, ‘कसलाई भन्नुपर्छरु फोन नम्बर छरु’ भन्दै फोन हानिरहेका थिए। यो सब हरि फुँयालका लागि जीवनभरीलाई पुग्ने दृष्यहरू थिए। ‘अब यो जिन्दगीमा यी नेताहरूतिर फर्केर पनि हेर्ने छैन’ भन्ने सङ्कल्प गर्दै हरि फुँयाल घर फिरे। (विक्ली नेपाल डट कमबाट)
हरि फुँयालहरू किन निराश भए ?
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…