मलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो।
हाम्रो पार्टीभित्र तीन जनाले अध्यक्ष हुने मन गर्नुभएको छ। मैले भित्रभित्रै ‘यी तीन जनाभन्दा त मै हुनुपर्ने हो, त्यो चाहिँ किन भन्दैनन्’ भनें। मेरो जम्माजम्मी कमजोरी के छ भने चालीसौं वर्ष एमाले भएँ, चार वर्ष भइनँ। त्यही चार वर्ष नभएकै कारण मौका नपाएको भन्न त पाइँदैन नि ! हुनुपर्ने अध्यक्ष यही मान्छे थियो तर भएन! उहाँहरूले नै ‘तपाईं हुन सक्नुहुन्न’ भनेपछि तपाईंहरूले भने पनि हुँदै भइन्न। तीन जनामध्ये पनि अहिले दुई जनाको चर्चा आउन थालेको छ।
मेरोचाहिँ अभियान भनेको यसपटकको नवौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण गर्नुपर्छ भन्ने हो। म अन्तिम बेलासम्म सर्वसम्मत नेतृत्व निर्माणमै भूमिका खेल्छु। हाम्रो पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्छ। अरू अरू देशका कम्युनिस्ट पार्टीहरूमा पनि यो काम हुँदै आएको छ। पुरानो कम्युनिस्ट पार्टी रहेको चीनमा पनि अहिले योजनाबद्ध नेतृत्व हस्तान्तरण भएको छ। यस्तै नेतृत्व हस्तान्तरण हाम्रो पार्टीमा पनि लागू गर्नुपर्छ। किनभने, अब क्रान्ति गरौंला, फौज बनाउँला, ठोकौंला’ भन्ने तरिकाबाट हामी क्रान्ति सम्पन्न गर्न सक्दैनौं। अब हामीले जे–जति क्रान्ति सम्पन्न गर्नुपर्ने हो, त्यसलाई पूर्णता दिने सबै काम वैधानिक र शान्तिपूर्ण बाटोबाटै सम्पन्न गर्नुपर्ने ठाउँमा आइसकेपछि विश्वव्यापी रूपमा जे–जस्ता कुरा स्थापित हुँदै आएका छन्, त्यसकै आधारमा अगाडि बढ्ने हो। त्यसैको आधारमा समाजवाद, साम्यवादसम्म नेपाली समाजलाई पुर्याउने हो।
एउटा व्यक्ति सर्वेसर्वा हुने र एउटा व्यक्ति अनवरत नेता हुने स्थिति अब समाप्त गर्नुपर्छ। उमेरले पनि समाप्त गरिदिनुपर्छ। अवकाश हुने ठाउँ दिनुपर्छ। मेरो मान्यता के हो भने एकपटक जो मान्छे अध्यक्ष हुन्छ वा अध्यक्षमा पराजित हुन्छ, त्यसपछि उसले ‘रिटायर्ड’ जिन्दगी बिताउनुपर्छ। चाहे भने सल्लाहकारमा बस्न पाउने व्यवस्था गर्नुपर्छ। त्यहाँ पनि अध्यक्ष होइन, सदस्य मात्र बनाउनुपर्छ। अध्यक्ष भइसकेपछि उसले फेरि स्थायी कमिटीमा आएर राजनीति गर्न सुरु गर्छ।
निरन्तर परिवर्तन भइरहेको यो समाजमा बूढाहरू बूढै हुन्छन्। युवाहरूले जति सिक्न सक्नुहुन्छ, बुझ्न र जान्न सक्नुहुन्छ त्यति अब मैले सक्तिनँ। कुनै बेला थियो– ‘म यो संसारै बोक्न सक्छु’ भन्ने मलाई लाग्दथ्यो। मैले गर्न पनि साँच्चै त्यस्तै गर्छु कि क्या होर ? भन्ने लाग्थ्यो। आजकाल त्यस्तो हुँदैन। सम्झिन पनि सक्दिनँ। हात मिलायो, ‘अघि मिलाएको होइन कमरेडर ?’ भन्छ। ‘ए हो त’ भन्यो। दुई पटक–तीन पटक हात मिलाएको कमरेडलाई पनि बिर्सिइन्छ। अनि त्यस्तै मान्छेलाई पनि नेता बनाइरहनु हुन्छ त र ? हामी त स्वतः बिदा हुने बेला भइसक्यो। नयाँ मान्छे आउनुपर्छ। नयाँ आउने मान्छे अनुभवी, योग्य, सक्षम र सफल पनि हुनुपर्छ। २० वर्ष पार्टीमा काम गरेको छ भने त्यसले गरेका काम कति सफल, कति असफल भए र ? हेर्नुपर्छ। सफलता धेरै छन् भने त्यो राजनीतिमा सफल हुन्छ । कस्ता व्यक्तित्वलाई नेतृत्वमा ल्याउने भन्नेबारे मूल्यांकन गरेर एउटा योजना बनाउनुपर्छ।
तर, पहिले भएकाहरू पनि दाबी गरेर आइसकेपछि के गर्नु, फसाद पर्यो ! अब यस्तो सिद्धान्त लागू गरौं कि नगरौं ? ल्याऊँ कि नल्याऊँ ? भन्ने भयो। माधव कमरेडसँग बसेर छलफल गर्न खोज्दा एकजना कामरेडले ‘नेतृत्व हस्तान्तरण पनि सुनिश्चित गर्नुपर्छ’ भन्नुभयो। हामी माधव नेपाललाई नै अध्यक्ष बनाउनुपर्छ भनेर छलफल गरिराखेका छौं। हस्तान्तरण पुरानालाई गर्नुपर्छ भन्ने ठाउँमा आफू जाने अनि हस्तान्तरण सुनिश्चित गर्ने ? यस्तो अवस्था छ। संगठनात्मक समस्या हल गर्न यस्तो नीति बनाउन पाए हुन्थ्यो भन्ने मलाई लागेको छ।
मलाई लागेको अर्को कुरा के हो भने अबको पार्टी, काम नगर्नेहरूको बनाउनुहुन्न। हामीले के गर्यौं भने घर छाड्ने, पढाइ छाड्ने, सारा छाड्ने गरेपछि पार्टीमा राम्रो काम गर्न सकिन्छ भन्ने बनायौं। आजकाल भनिन्छ नि– ‘मैले घर छाडें, पढाइ छाडें, डिग्री छाडें, नोकरी छाडें, यति बलिदान गरें।’ अब यसो भन्ने स्थिति ल्याउन दिनुहुन्न। पार्टीमा हरेकले काम गर्नुपर्छ। पेसा–व्यवसाय गर्नुपर्छ। आफूले कमाएको पैसा पार्टीलाई बुझाउनुपर्छ। अब पाँच रुपियाँ सदस्यता शुल्क दिएर हुँदैन। प्रत्येक दिन सबैले काम गर्नुपर्छ। एक दिनमा थोरै तलब खानेले चार सय पाउँछ, धेरै खानेले चार हजार पाउँछ होला। चार सय खानेले त्यो एकदिनको कमाइ चार सय दिन किन सक्दैन ? यो स्थिति सिर्जना गरौं। सुरुमा एक सय गरौं, त्यसपछि बढाउँदै जाऔं। नेकपा (एमाले)भित्र कर नतिरेको पैसा खाएर बाँच्ने एउटा पनि मान्छे छैन भन्ने घोषणा गरौं।
अनि हामी यो पार्टी चलाउनका निम्ति कुनै पुँजीपतिकोमा जानुपर्दैन। पुँजीपतिले लाख रुपियाँ दियो भने भोलि जुक्ति मिलाएर हामीलाई प्रयोग गरेर करोड लिइछाड्छ। त्यस्तो अवस्थाबाट मुक्त हुनका निम्ति अब नेकपा (एमाले)मा त्यस्ता व्यक्ति मात्र सदस्य हुन्छन्, जसले एउटा न एउटा पेसा अपनाएकै हुनुपर्छ। त्यस्ता व्यक्तिले मात्र एमालेमा आवेदन गर्छ र पार्टीले त्यसलाई स्वीकार गर्नुपर्छ। त्यो हाम्रो विधानमा व्यवस्था गर्नुपर्छ। अब नेकपा (एमाले) उत्पादन र निर्माणको पार्टी बन्यो, काम नगर्नेको पार्टी होइन भन्ने बनाउनुपर्छ। पार्टीको केन्द्रीय कमिटीका २४सै घन्टा पार्टीकै काममा खटाउनुपर्नेहरूलाई पार्टीले आवश्यक पर्ने रकम दिनुपर्छ। आजको जस्तो सात हजार दिएर हुँदैन। सात हजार त एकपटक काठमाडौंबाट नेपालगन्ज जाँदा नै बाटो खर्च पुग्दैन। त्यसलाई सात हजार दिएर ‘होल टाइमर’ बनायो अनि उसले अरू बेला बाँच्नका निम्ति कहाँबाट ल्याउने ? घर गएर ‘लौन! श्रीमती, लौन छोरी, लौन! ज्वाइँ’ भन्नुपर्छ। भोलि यो सांसद, मन्त्री हुन्छ अनि हाम्रो इज्जत बढ्छ, पेसा–व्यवसाय बढ्छ भनेर दिन्छन्। पछि मन्त्री हुँदैन अनि तीनले पनि लोप्पा खुवाउँछन्। खेत बेचेको छ, घर बेचेको छ, छोराछोरीले नै यसले राजनीति गरेर सबै सिध्यायो भन्ने ठाउँमा पुर्याउनु त हुँदैन नि !
साथीहरू जनताको बहुदलीय जनवादका कुरा धेरै गर्छन्। हामीले ०४६ सालपछि पार्टीलाई दुईवटा पहिचानसहित अगाडि बढायौं।
एउटा ‘हाम्रो पार्टी लोकतन्त्रको विकल्प हो’ भन्यौं। नेपालमा चलेको लोकतन्त्रको विकल्प नेकपा (एमाले) हो। कांगे्रसले भन्यो– ‘लोकतन्त्रको विकल्प छैन, कांगे्रसबाहेक अर्कोले लोकतन्त्र बोक्न सक्दैन।’ हामीले भन्यौं– ‘साँचो लोकतन्त्रको बाहक एमाले हो, हामीले स्थापित गर्छौं, नेकपा (एमाले) लोकतन्त्रको पहिचान हो।’
दोस्रो– ‘यो कम्युनिस्ट पार्टी क्रान्तिको प्रतीक हो। हामी कांगे्रसको लोकतन्त्र होइन, सच्चा लोकतन्त्र स्थापित गर्छौ । लोकतन्त्र हाम्रो पार्टीमा, राज्यमा, समाजमा लागू गर्छौं। यसलाई क्रान्तिकारी परिवर्तनको बाटोमा लैजान्छौं। हामी क्रान्ति छाड्दैनौं, लोकतन्त्र छाड्दैनौं।’ लोकतन्त्र र क्रान्तिको प्रतीक बनाउनका निम्ति हामीले जनताको बहुदलीय जनवादलाई अगाडि सार्यौं। जनताको बहुदलीय जनवादमा लोकतन्त्रको स्पष्ट मार्गदर्शन छ, क्रान्तिको पनि स्पष्ट मार्गदर्शन छ। पाँचौं महाधिवेशनमा हामीले पारित गरेका दस्तावेजहरूमा ती सबै कुरा स्पष्ट उल्लेख छन्।
नेकपा (एमाले) क्रान्तिकारी पार्टी हो। त्यसबेला हामीले प्रजातान्त्रिक पार्टी भन्यौं। अब दुनियाँ यही बाटोबाट अगाडि बढ्छ। संसारको कम्युनिस्ट आन्दोलन यही बाटोबाट अगाडि बढ्छ। नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही बाटोबाट अगाडि बढिरहेको छ, हामी बढाउँछौं पनि भन्यौं। तर, पछिपछि हामी पनि लोकतन्त्र भनेर कांगे्रसकै लोकतन्त्र जस्तै गर्दै गयौं। कोही ठाउँमा ठीक कोही ठाउँमा बेठीक। आफैंभित्र पनि चुनाव गर्दा धाँधली गरेको छ, पैसाको चलखेल गरेको छ, पुँजीवादी विकृति लोकतन्त्रभित्र घुसाइयो। त्यो लोकतान्त्रिकरणलाई हामीले हाम्रो पार्टीको मुख्य मुद्दा बनायौं। कति ठीक कति बेठीक गर्यौं भन्ने ख्याल गरेनौं। समीक्षा पनि गरेनौं। अनि पार्टीलाई क्रान्तिकारी बनाउनुपर्छ भन्ने ठाउँमा कहीँ छँदैछैनौं। हामी चुनावमा गएका छौं, आएका छौं, सरकार कसरी बनाउने भनेका छौं। यिनै कुरामा अल्भ्कियौं, जनताको लोकतन्त्र हामीले बिर्सियौं। लोकतान्त्रिकरण, क्रान्तिकरणलाई बिर्सेर त्यसैमा डुब्ने काम हामी गर्ने छैनौं भन्यौं। क्रान्तिकारी कुरा हाम्रो पाँचौं महाधिवेशनको प्रतिवेदनमा स्पष्टरूपमा उल्लेख छ। संसद्बाट हाम्रो क्रान्ति सम्पन्न हुँदैन, त्योभन्दा बाहिर सडकमै जानुपर्छ। सडक आन्दोलन विकास गर्नुपर्छ र त्यो शान्तिपूर्ण तरिकाले सुरुआत गर्नुपर्छ, तर बल प्रयोग आवश्यक पर्यो भने त्यसका निम्ति पनि तयार हुनुपर्छ भन्ने कुरा अगाडि सारिएको थियो। हामीले त्यसो गरेनौं। त्यसो नगर्दा कांगे्रसकै लोकतन्त्रको पदचिन्हमा हिँडेपछि हामी जनताको नजरमा कांगे्रस–कांगे्रस जस्तै भयौं।
हामिले क्रान्तिकारी काम गर्न छाडेपछि माओवादी जन्म्यो । ‘क्रान्तिको प्रतीक त त्यो पो हो’ भन्ने जनतामा भान पर्यो । तर त्यसले मान्छे काट्दै आफ्ना विरोधीहरूलाई सिध्याउँदै गयो। सबै विदेशीहरूले नचाएका रहेछन् पछिल्लो समयमा त विदेशीले उता हैन्डिल, स्टेरिङ घुमाउने यता कहाँ मान्छे मार्ने, कहाँ बम पड्काउने त्यसरी भएको पनि पर्दाफास भयो। तर, त्यो ठाउँ हामीले नै दियौं। क्रान्तिका निम्ति हामी त्यो बाटोमा लाग्न सकेनौं। अब हामीले यी दुईवटै कुरालाई व्यवस्थित गर्न सक्नुपर्छ। हाम्रो देशको अनुभवले पनि बतायो– अब गोला, बारुद, फौज बनाएर क्रान्ति सम्पन्न गरिनेछ भन्ने कुराको आवश्यकता छैन। देशको परिवर्तन शान्तिपूर्ण तरिकाले भएको छ, युग परिवर्तन भएको छ। यस्तो व्यावहारिक अनुभव प्राप्त गरिसकेपछि अब हामीले जनताको बहुदलीय जनवादमा रहेका यावत् कुराहरूलाई व्यवस्थित गर्नुपर्छ। त्यसले हामीलाई मार्गदर्शन गर्नुपर्छ। हामी त्यसैमा अगाडि बढ्नुपर्छ। कांगे्रसकै जस्तो, उसले भनेकै जस्तो सामाजिक सुधारका कुरा, आर्थिक सम्बन्धका कुरा मात्र गर्ने हो भने कांगे्रस र हाम्रो बीचमा भिन्नता हुँदैन। हामी कम्युनिस्ट हौं, हाम्रो लक्ष्य, उद्देश्य, अधिकतम, कार्यक्रम सबै समाजवाद भएको हुनाले समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणको बाटो समात्नुपर्छ। बेलायतबाट औपनिवेशिक शासन प्रणाली कायम गर्नका निम्ति सुरु गरिएको बेलायती मोडलको राज्य सञ्चालन गर्ने संसदीय व्यवस्थामा हामी जानहुन्न। हामीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली भनेका छौं। यो प्रणालीले देशको राजनीतिक अस्थिरता समाप्त गर्छ। संसद्ले ६–६ महिनामा सरकार फेर्ने कामको अन्त्य हुन्छ। र, त्यसले शान्ति कायम हुन्छ। शान्ति र राजनीतिक स्थिरता कायम भयो भने राष्ट्र पुनःनिर्माणको काम पनि अगाडि बढ्छ।
(एमाले उपाध्यक्ष गौतमले गत शनिवार दैलेख–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा व्यक्त धारणाको सम्पादित अंश) बुधबार साप्ताहिकबाट ।