अनेकौं शंकाका बीचमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ। त्यसको नतिजा पनि लगभग आइसकेको छ। अब समानुपातिकतर्फको परिणमले नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये एउटा दल ठूलो हुनेछ। संविधान सभा निर्वाचनको यस पटकको निर्वाचन परिणाम पनि अप्रत्याशितै भयो।
त्यसो त अघिल्लो निर्वाचन परिणामको नतिजा पनि अप्रत्याशितै मानिएको थियो। पहिलो चुनावमा एनेकपा (माओवादी) त्यति ठूलो पार्टी हुने अपेक्षा माओवादीलाई नै पनि थिएन। यस्तै, यसपटक एमाओवादी यति धेरै खुम्चिएला भन्ने अनुमान पनि बिरलैले गरेका थिए।
चुनाव हुनु भन्दा केही पहिलेका भएको सर्वेक्षणले कांग्रेस ठूलो पार्टी बन्ने संभावना देखाएको थियो, ती सर्वेक्षण सही सिद्ध हुँदैछन्। तर, एमाओवादीको आकार अनपेक्षित रूपमा घट्नुको कारण चर्चा गर्नैपर्ने हुन्छ। त्यसले नेपालको राजनीति बुझ्न र नेपाली जनताले राजनीतिक दलसँग गर्ने अपेक्षा थाहा पाउन मद्दत गर्नेछ।
एमाओवादीको पराजयको पहिलो कारण त पार्टीको विभाजनै हो। विभाजित भएर चुनाव लड्दा स्वाभाविकरूपमा त्यसको नकारात्मक असर पर्छ। एमाले विभाजनपछिको चुनावमा पनि तत्कालीन मालेका कसैले चुनाव जितेनन् भने धेरै ठाउँमा एमालेका उमेदवार थोरै मतले हारेका थिए। तर एमाओवादीको यस्तो हारको कारण भने पार्टी विभाजनमात्र होइन। यस अरू पनि कारण देखिन्छन्।
राजनीतिक कौशलको अभावः राजनीतिलाई दर्शनशास्त्रीले कला र विज्ञान दुवै हो भनेर व्याख्या गरेका छन्। यसको सोझो अर्थ के हुन्छ भने राजनीतिक अभ्यासमा सिद्धान्त र निष्ठामात्र पर्याप्त हुँदैन कला अर्थात् कौशल अनिवार्य हुन्छ। नेपालको समकालीन राजनीतिमा एउटा विशिष्ट कलाको आवश्यकता देखिएको छ। त्यो हो सबैलाई समन्वय गरेर अगाडि बढ्ने कौशल। राष्ट्रिय शक्तिलाई समन्वय गरेर देशलाई संक्रमणकालबाट मुक्त पार्ने र लोकतान्त्रिक संविधान निर्माण गर्ने क्षमता एमाओवादीले देखाउन सकेन। बरु त्यसको उल्टो, चुनावमा जितेलगत्तै कांग्रेस र एमालेलाई “हरुवा” भन्दै पुष्पकमल दाहालले टुडिखेल रन्काउन थाले। यसले दलीय सहमतिको संस्कार बसाल्न बाधा पुर्याउँदै गयो। त्यस्तै संविधान निर्माणका लागि २०६९ जेठ २ गते सहमति भइसकेपछि दाहाल स्वयंले जनजाति अगुवाहरूलाई उचालेर विरोध गराए। सहमति भंग गरे। यसबाट एमाओवादीले संविधान नदिने र सहमतिको दम्भ देखाएर एक्लै हिड्ने इच्छा देखाए। यो उनको काम जनअपेक्षा र राष्ट्रिय आवश्यकताको ठीकविपरीत थियो। यसै कारण उनीप्रतिको विश्वास मत पत्रमार्फत् घटेको देखियो।
दम्भको राजनीत: २०६४ को चुनावपछि एमाओवादीका नेतामा उनीहरू कहिल्यै र कुनै कुरामा पनि हार्दैनन् भन्नेदम्भ देखियो । उनीहरूको पर्याय भनेको” जित जित” मात्र हो। यो दम्भका साथ उनीहरूले अन्य सहकर्मी दलको मानमर्दन गर्नेदेखि राज्यका संवेदनशील संरचनादेखि मन्दिरसम्म पनि अस्वाभाविक र प्रक्रियाविहीन ढंगले हस्तक्षेप गर्न थाले। राज्यका कानुन, प्रक्रिया र केही स्थापित परम्परालाई ध्वस्त पार्दै दलीय स्वार्थलाई केन्द्रमा राखेर एमाओवादी नेतृत्व प्रस्तुत हुँदै आयो। यो चरित्र लोकतान्त्रिक समाजमा स्वीकार्य हुने कुरै भएन। राजनीति भनेको सरल हुनुपर्छ। त्यसभित्रका जटिलतालाई कौशल प्रदर्शन गर्दै कानुन र प्रक्रियाका आधारमा फुकाउँदै जानुपर्छ। तर एमाओवादी त्यसको उल्टो ढंगले हिँड्न चाह्यो । दम्भ र अहंकारको प्रवेश भयो भने त्यसले राजनीतिलाई जटिल बनाइदिन्छ। यही दम्भ र अहंकारलाई अस्वीकृत गर्न यसपाली जनताले मतपत्रको उपयोग गरेका हुन्।
अविश्वसनीय चरित्रः राजनीतिमा खासै चासो नराख्नेले पनि कसैले दोहोरो कुरा ग¥यो, अस्पष्ट कुरा गर्यो र घुमाउरो कुरा गर्यो भने प्रचण्डका जस्ता कुराु भन्ने टिप्पणी गर्ने अवस्था निर्माण भयो। प्रचण्डमा अहंकारका साथमा विकास भएको यस चरित्रले उनको राजनीतिक कद घटाउँदै लगेको थियो। गंभीर निर्णय गर्नुपर्ने ठाँउमा पनि उनको यस्तै दोहोरो चरित्र देखियो। जेठ २ को सहमतिप्रति उनको घात, सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने आफ्नै प्रस्तावप्रति घातजस्ता केही उदाहरणले उनी सबैभन्दा अविश्वसनीय नेता र कुरा फेर्ने नेताका रूपमा चिनिन थाले। जनता र राष्ट्रिय शक्तिकोमात्र हैन अन्तराष्ट्रिय समुदायमा समेत उनी सबैभन्दा अविश्वसनीय नेताका रूपमा चित्रित हुँदै गए। मुलुकको सर्वोच्च हैसियतमा पुग्ने नेता जनताकै नजरमा अविश्वसनीय हुनपुगेपछि उसबाट कुनै अपेक्षा नै रहँदैन। दाहालमा उत्पन्न यो अविश्वनीय चरित्रप्रति जनताले भोटमार्फत अरुचि देखाइदिएका हुन्।
यिनै आधारमा दाहाल र उनको पार्टीप्रति जनताको जजमेन्ट आएको मान्न सकिन्छ। लोकतन्त्रमा जनताको निर्णयको विकल्प खोज्न थाल्नु भनेको आफ्नै घुंडामा बन्चरो हान्नु जस्तै हो । आफ्नै कर्मले आफ्नो कद घटाउँदै गएका दाहाल र उनको पार्टी ताजा परिणामपछि आफूलाई सुधारेर अगाडि बढ्ने जनअपेक्षामा पनि तुषारापात भएको छ। हार्न थालेपछि धाँधली भयो भन्दै परिणाम अस्वीकार गरेर उनले आफूलाई अपरिपक्व नेताका रूपमा प्रस्तुत गरेका छन्। अघिल्लो चुनावमा कांग्रेस एमालेको हालत लगभग यस्तै थियो। प्रमुख नेता समेतले हार बेहोर्नु परेको थियो । तर, उनीहरूले चुनाव समीक्षाका क्रममा माओवादीको दादागिरी चलेको बताए पनि चुनाव परिणामलाई अस्वीकार गर्ने कुरा गरेनन्। जस्तै एमालेका शिर्षनेता माधव कुमार नेपाल। त्यो राजनीतिक चरित्र हो। राजनीतिमा जनमतलाई सम्मान गर्नु सबैभन्दा ठूलो पुँजी हुन्छ। यसैले ५ वर्षकै अन्तरालमा माधव कुमार नेपाल आफ्नो हैसीयतमा पुग्दैछन्। प्रचण्डले भने जनमत स्वीकार गर्ने क्षमता पनि देखाउन सकेनन्। विसं २०३७ सालको जनमत संग्रहको परिणामलाई अस्वीकार गर्न बीपीलाई गणेशमान सिंहसमेतले दबाब दिदा। सिंहलाई कन्भिन्सु गर्दै बीपीले भनेको थिए कि बस्सिङ खेल्न रिङभित्र छिरिसकेपछि, मलाई दुख्यो भनेर खेल छाड्ने हो भने त्यो खेलाडी मानिदैन, प्रचण्ड अहिले चुनावमा हारे भनेर त्यसलाई अस्वीकार गर्दैछन् । त्यसमा मुख मिलाउँदै छन् केही मधेसीदलका नेतासमेतले। यो राजनीतिक अपरिपक्वता मात्र हो। यस्तो चरित्रले आफ्नै कद घटाउने मात्रै हो । शान्ति प्रक्रियाका सन्दर्भमा आफूलाई गिरिजाप्रसाद कोइरालासँग तुलना गर्दै त्यसको जिम्मेवार व्यक्ति अब आफूमात्र रहेको बताउने प्रचण्ड एउटा चुनावमा पराजय भोग्दैमा यसरी गैरजिम्मेवार तरिकाले प्रस्तुत हुनु सुहाउने कुरा होइन। देशलाई अझै संक्रमण कालमै राखिराख्न, विधानविहीन अबस्थामा राखिराख्न र जनताको समृद्धिको अभियानलाई अझै पनि वर्षौं पछाडि धकेल्न मद्दत पुग्ने गरी प्रचण्ड र उनको पार्टी गयो भने त्यसबाट उनीहरू स्वयंलाई मात्र हैन गंभीर राष्ट्रीय क्षति हुनेछ। नेपालका जनता निर्णय गर्नसक्ने भइसकेका छन् र उनीहरूको कसीमा खरो उत्रनका लागि योगदान गर्नुपर्दो रहेछ भन्ने अब पनि एमाओवादी र प्रचण्डले नबुझे तिनैका लागि घातक हुनेछ।
परिणाम अस्वीकार गर्ने कुराले उनीहरूको लोकतन्त्र अर्थात् जनअभिमतप्रति कत्तिको सम्मान रहेछ भन्नेलाई पनि छर्लङ्ग पारिदिएको छ। यस परिणामपछि आफूभित्रका कमजोरी र पराजयका कारणको यथार्थ समीक्षा गर्दै त्यसका आधारमा आफूलाई सच्याउँदै अगाडि बढ्न एमाओवादी तयार हुनुपर्छ। कमजोरीबाट सिक्दै र सच्चिदै अगाडि बढ्नु नै लोकतान्त्रिक चरित्र हो। यो संविधान सभा निर्वाचनको सन्देश एमाओवादीका लागि यही नै हो । यस सन्देशलाई ग्रहण गर्दै एमाओवादीले आफूमा लोकतान्त्रिक चरित्रको विकास गर्नेतर्फ लाग्नु नै श्रेयश्कर हुनेछ ।
(नागरिक दैनिकको सम्पादकीयबाट )
एनेकपा (माओबादी)लाइ सन्देश
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…