– कमल कोइराला
निर्मल लामाका कारण पनि विसं २०११ मा मेरो जीवनमा एउटा ठूलो मोड आयो। म त्यस समय त्रि–चन्द्र कलेजमा आईएमा पढ्दै थिएँ। मेरो कक्षामा पढ्ने मकबुल शाहलाई सुरक्षा कानुनअन्तर्र्गत पक्राउ गरी नख्खु जेलमा राखिएको थियो। मकबुलको घर किलागलमा थियो, जहाँ म कहिलेकाहीँ जान्थें। मकबुल नख्खु जेलमा थिए। सबैले परीक्षा फाराम भरेका थिए। तर, मकबुलको फाराम भरिएको थिएन। म उनको घरमा गएर सोध्दा आमाले भन्नुभयो– ‘अलिकति पैसा कम हुन्छ।’ मैले भनें– ‘म थपिदिन्छु।’ त्यसबेला त्रि–चन्द्र कलेजको पटना युनिभर्सिटीसँग सम्बन्धन थियो। फारामहरू चाँडै पठाउनुपर्थ्याे। अर्को दिन मकबुलको फाराम लिन म उनको घर गएँ। मेरो साथमा कलैयातिरका मेरै कक्षामा पढ्ने केशव भन्ने एकजना साथी पनि थिए। केशवले पछि कोसी प्रोजेक्टमा नोकरी गरे। मैले तेस्रो महाधिवेशनपछि भारतमा निर्वासनमा रहँदा दुईपटक उनको वीरपुरस्थित क्वार्टरमा भेटेको थिएँ। अल्पायुमै मकबुलको मृत्यु भयो।
मकबुलको घरमा फाराम दिएपछि मकबुलको कान्छो भाइले भन्यो– ‘सडकको पारि एउटा भित्री चोकमा निर्मल लामा, अरबिन्द रिमालहरू छन्।’ निर्मल लामासँग मकबुलको घरमा मेरो पनि दुई–तीनपटक भेट भएको थियो। म र मकबुलको भाइ त्यहाँ गयौं। त्यहाँ सरकारी प्रतिबन्ध (त्यस समयको धारा ८क) तोडेर प्रदर्शन गर्ने तयारी भइरहेको रहेछ। मलाई देख्नासाथ निर्मल लामाले भन्नुभयो– ‘क्या हो कमल! आजको प्रदर्शनमा भाग लिन आएको हो कि क्या हो? ल आज तिमी जानुपर्छ।’ के कामलाई गएको थिएँ, के कुरा आइलाग्यो! तर, मैले १६/१७ वर्षको उमेरमा धेरै सोचिनँ। मैले केशवलाई भनें– ‘हामीहरूले भाडामा लिएर आएको साइकल तिमीले पुर्या इदिनू।’ मलाई अरबिन्दनाथ रिमालले के–के बोल्ने सम्झाउन थाल्नुभयो। अनि निर्मल लामाले त्यसपछि त्यहाँ जम्मा भएकाहरूलाई भन्नुभयो– ‘ल आज को–को ४ जना झन्डा बोकेर हिँड्छ? आज पक्राउ पर्ने सबैको नाम अखबारहरूमा आउँछ।’
११/१२ वर्षको मकबुलको भाइले ‘म जान्छु’ भन्दा निर्मल लामाले ‘हुँदैन’ भन्नुभयो। त्यसदिन किलागलबाट जुलुस साथ गई इन्द्रचोक डबलीमा चढेर मलाई बोल्न भनियो। त्यहाँ केहीबेरमै पुलिस आएर पक्रिन्छ भन्ने निश्चित थियो। मैले के–के भाषण गरें, त्यो थाहा छैन। तर, मैले त्यहाँ १०/१५ मिनेट बोल्दा नबोल्दै पुलिस आयो। झन्डा लिएकाहरू भीडमा पसिहाले। तर, म उत्रँदा नउत्रिँदै दुईवटा पुलिसले दुईतिरबाट मेरो दुवै हातभित्र आफ्नो हात छिराए। त्यसमध्येको अफिसरले मलाई भन्यो– ‘जाऔं, प्रधानमन्त्रीकै पक्रनु भन्ने अडर छ।’
मलाई इन्द्रचोकबाट पैदलै नजिकै हनुमानढोका पुर्याेइयो। त्यसबेला अहिलेको जस्तो पक्की भवन थिएन र कम्पाउन्ड पनि पर्खालले घेरिएको थिएन। थानाको ढोकाबाट मैले मदन रेग्मीलाई देखें। तर, पुलिसले उनलाई मसँग भेट्न दिएन। उनले परबाट कराएरै भने– ‘म पनि आउँछु।’ उनले कहाँ निषेधाज्ञा तोडे, मैले देखिनँ। तर, आधा घन्टापछि उनलाई पनि पुलिसले पक्राउ गरी हनुमानढोकाभित्र हुल्यो। केहीबेरपछि राजेन्द्र प्रधान (हाल अमेरिकाका प्रसिद्ध प्रवासी नेपाली डाक्टर, त्यसबखत मदन रेग्मीसँगै साइन्स कक्षामा त्रि–चन्द्र कलेजमा थिए) लाई पनि पक्राउ गरेर ल्याइयो। भित्र ल्याएपछि उनले मलाई सोधे– ‘तपाईंको तलासी लिइसक्यो?’ मैले भनें– ‘लिइसक्यो।’ उनले भने– ‘त्यसो भए यो छुरा तपाईंको खल्तीमा राख्नूस्।’ मैले भनें– ‘कलेजमा बायोलोजी विषय भ्यागुता चिर्ने सेटको छुरा हो, के गर्ला र?’ तर उनले भने– ‘हैन उनीहरूले छुरा पकेटबाट निस्क्यो भन्लान्।’ मैले छुरा मेरो कोटको खल्तीमा राखें। नभन्दै केहीबेरपछि उनको शरीर पुलिसले तलासी गर्योा।
त्यस दिन काठमाडौं उपत्यकामा सनसनी भयो। किनभने, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोराहरू कम्युनिस्ट समर्थकका रूपमा सरकारले लगाएका निषेधाज्ञा तेाड्दै जेल परे। साँझ फेरि रूपचन्द्र विष्टलाई पनि पुलिसले पक्रेर ल्यायो। उनी पनि त्यससमय त्रि–चन्द्रमा पढ्थे। मैले कुन दिन पक्राउ परें, तिथिमिति र साल बिर्सेको थिएँ। तर, एकदिन देवीप्रसाद शर्माले लेखेको ‘आधुनिक नेपालको इतिहास’ भन्ने पुस्तक भेटें, जसमा लेखिएको थियो– ‘१७ जनवरी १९५५ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र परराष्ट्रमन्त्री डिल्लीरमणका छोराहरू पक्राउ परे।’ (पेज ४२३)। त्यसअनुसार विसं २०११ माघ ४ गते हुन्छ। यसरी म १६ वर्षको उमेरमा त्रि–चन्द्र कलेजमा पढ्दा पहिलोपटक जेल परेको थिएँ। मदन रेग्मी कहिल्यै पार्टी सदस्य हुनुभएन। तर, जीवनमा कैयौं वर्ष भेट नहूँदा पनि हाम्रो व्यक्तिगत मित्रता सधैं घनिष्ट छ।(बुधबार साप्ताहिकबाट)