खुट्टा छन् गति छैन
हात छन् कर्म छैन
आँखा छन् दृष्टि छैन
विवेक त झन् छँदैछैन
न त्यहाँ जीवन छ
उत्साह, सम्बेदना, जोश र जाँगर
सबै मरिसकेको छ
उसँग आकार नमिलेको
धमिलो अतीत छ
वर्तमान स्थीर छ
भविष्य शून्य छ
त्यही अतीतको विकृत आकृति देखाएर
सधैं हामीलाइ तर्साउने गर्छ
मानिसबाट हाकीममा रुपान्तर हुन
उस्ले धेरै चरण पार गरेको छ
आफूभित्रको जिउँदो मान्छेलाइ
धेरैपटक मारेको छ
सुख्खा पहाडबाट पहिरो खसेजस्तै
उस्बाट स्खलित शव्दहरु
मरुभूमि निर्माण गर्न पर्याप्त छन्
उभन्दा ठूलो
याँमानको अजङ्गको भएर
उस्को अहङ्कार डम्म बसेको छ
उस्को अहङ्कारलाइ छिचोलेर
उसम्म पुग्नै सकिंदैन
अहङ्कारबाट निस्केर
सक्कली मान्छेमा उ भेटिंदैन
उस्को अहङ्कारले हामीलाइ ठोक्छ
अग्रगतिका पाइलाहरु
सबै उसैले रोक्छ
एउटा सद्दे मानिस
उस्कोछेउमा पुग्दा
ठाडै सर्पदंशमा पर्छ
बिषाणु भिजेर
जीवनतत्व नष्ट हुन्छ
न त्यहाँ वसन्त आउँछ
न मुनाहरु पलाउँछन्
न त हरियाली छाउँछ
निरन्तरको सर्पदंशले
सश्यश्यामल राष्ट्र
मरुभूमिमा रुपान्तर हुन्छ।
आनन्दराम पौडेलको फेसबुक बाट
One Response to सरकारी हाकीम