-डम्बर खतिवडा
केही महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङलिङको एक औपचारिक कार्यक्रमपश्चात् अनौपचारिक कुराकानीमा एकजना सहभागीले मलाई सोधे, ‘सर तपाईंहरू अलिक बढी नै लेखपढ गर्नुहुन्छ । राजनीतिक टिप्पणी पनि लेख्नुहुन्छ । आफूहरूलाई स्वतन्त्र पनि भन्नुहुन्छ । विश्लेषण पनि गर्दै हिँड्नुहुन्छ । लौ भन्नुस् त, नेपालमा यतिका धेरै कम्युनिस्ट छन्, को चाहिँ खाँटी कम्युनिस्ट हुन् ?’ प्रश्न मेरा लागि अनपेक्षित थियो । जीवनमा मैले कहिल्यै यसरी सोचिनँ । नेपालका कुन कम्युनिस्ट खाँटी हुन् ? कुन नक्कली ? तसर्थ झट्ट कुनै उत्तर फर्काउन सकिनँ । केहीबेर मौन रहेँ ।
मेरो दिमागले उम्किने एउटा धूर्त तर्क सिर्जना गर्यो । मैले उनैलाई सोधेँ, ‘हेर्नुस्, हाम्रा, वरिवरि सनातनी पनि छन्, वैष्णवभित्र पनि निम्बार्क र श्रीवैष्णव छन्, प्रणामी, गीतावाला र शैव छन् । भन्नुस् त, यीमध्ये को खाँटी हिन्दू हुन् ?’ हिन्दूको सम्प्रदाय र कम्युनिस्टको समूह उस्तै उस्तै हो । उनीहरूबीच थुप्रै मतभेद हुन सक्छन तर गैर हिन्दूका आँखामा सबै हिन्दू हुन् । तपार्इं कम्युनिस्ट हो भने त्यही समूह खाँटी कम्युनिस्ट हो, जुन समूहमा तपाईं लाग्नुभएको छ । तपाईं गैरकम्युनिस्ट हो भने तपाईंका आँखामा सबै कम्युनिस्ट उस्तै हुन्, जसरी इस्लाम, इसाई वा यहुदीका आँखामा के सनातनी, के निम्बार्क, के श्रीवैष्णव, के प्रणामी, के गीतावाला, के शैव, सन्न्यासी, के उदासी, सबै हिन्दू हुन् ।
आज लाग्छ, मैले ठीकै भनेछु । नेपालमा जेजति कम्युनिस्ट समूह छन्, विचारको मात्र कुरा गर्ने हो भने यिनीहरूबीच खासै भिन्नता छैन । तर, उनीहरू मिल्न वा एक हुन भने सक्दैनन् । भैदिए हुन्थ्यो भन्ने कामना गर्न सकिन्छ । तर, लाख जम्लाहात गरे पनि उनीहरू एक हुनेवाला छैनन् । किनकि राजनीति भनेको विचार र सिद्धान्त मात्र होइन । विचार र सिद्धान्त त ‘ट्रेडमार्क’ जस्तै हो । वास्तविक राजनीतिक संघर्ष त नेतृत्व र मनोविज्ञानको भइरहेको हुन्छ । विचार र सिद्धान्त मिले पनि उनीहरूको नेतृत्वको स्वभाव, पृष्ठभूमि र मनोविज्ञान मिल्दैन । तसर्थ उनीहरू कसरी मिल्न सक्छन् रु नेपालका कम्युनिस्टहरूको विकास विभाजनकै बीचमा भएको हो । उनीहरू जति धेरै फुट्छन्, त्यति नै धेरै विकास गर्छन् । ०१५ सालको आमनिर्वाचनमा कम्युनिस्ट पार्टी एउटै थियो । मरेर चार सिट जितेको थियो । आज कम्युनिस्टका दर्जनौँ टुक्रा छन्, उनीहरूले ६२ प्रतिशतभन्दा बढी भोट र सिट पाएका छन् । देश सर्वत्र कम्युनिस्टमय छ । यो एकताले होइन, विभाजनले सम्भव भएको हो । जब विभाजनबाटै उन्नति, प्रगति र अस्तित्व–रक्षासिद्धि हुन्छ, एकता कसलाई के खाँचो पर्छ ?
खाँटी कम्युनिस्ट कसलाई भन्ने ? नयाँ एजेन्डा र साहसिक हस्तक्षेप गर्ने दृष्टिकोणले एमाओवादी अगाडि छ । संगठन सञ्जाल निर्माण गर्ने दृष्टिकोणबाट एमाले अगाडि छ । नैतिक चरित्रका हिसाबले नारायणमान विजुक्छे र चित्रबहादुर केसी अगाडि छन् । ऐतिहासिक नायकत्व हेर्ने हो भने मोहनविक्रम सिंह र सिपी मैनाली निकै अग्ला लाग्छन् । सिद्धान्तनिष्ठा मात्र हेर्ने हो भने मोहन वैद्यको अर्को जोडा छैन । के यी सबै कम्युनिस्ट नै हुन् ? यदाकदा ‘कन्फ्युजन’ हुन्छ ‘बिरालो, चितुवा, बाघ र सिंह, के साँच्चै एउटै जातका प्राणी हुन् ?’ केलाई आधार बनाएर मूल्यांकन गर्ने होला नेपालका कम्युनिस्टको ? ठूलो संगठन, जित्ने क्षमता, सैद्धान्तिक निष्ठा, नैतिक चरित्र ? आखिर केलाई ? सामान्यतया जर्मन दार्शनिक कार्ल माक्र्सको विश्लेषण पद्धति र वैचारिक मतमा विश्वास गर्नेलाई कम्युनिस्ट भन्ने गरिन्छ । के माक्र्सका सूत्रको कसी लगाएर हामी भन्न सकौँला कि नेपालका कुन समूह खाँटी कम्युनिस्ट हुन् ? आजसम्म कसैले पार लगाउन नसकेको काम नै यही हो ।
कार्ल माक्र्स, फ्रेडरिख, एंगेल्स, लेनिन, स्टालिन र माओप्रति नेपालका सबै कम्युनिस्टको समान मोह देखिन्छ । जोड र कोणको भिन्नता हुन सक्छ तर आधारभूत भिन्नता छैन, यी ‘पाँच प्राधिकार’ मान्ने कुरामा । सबै माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छन् । विष्णुबहादुर मानन्धरको नेकपा (संयुक्त) बाहेक सबै माओको नयाँ जनवादी विश्लेषण पद्धतिमा विश्वास गर्छन् । सबैको पार्टीको झन्डा हँसिया–हथौडायुक्त छ । सबैको पार्टीको स्थापना दिवस अप्रिल २२ हो । सबैका संस्थापक नेता कमरेड पुष्पलाल हुन् । रुस, चीन, उत्तरकोरिया, भियतनाम र क्युवालाई सबै समाजवादका रूपमा प्रशंसा गर्छन् । बल प्रयोगको सिद्धान्तप्रति सबैको आस्था थियो हिजो । हरेक समूहले इतिहासको कुनै न कुनै कालखण्डमा धेरैथोरै हतियार उठाएका छन् । सबैका आँखामा नेपाल अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक मुलुक हो । सबै बहुदलीय व्यवस्थालाई स्वीकार गर्ने जनवाद ल्याउन चाहन्छन् । यति धेरै समानता छन् उनीहरूबीच । तर, एकअर्कालाई गाली गर्दा यसरी गाली गर्छन् कि मानौँ उनीहरू एकअर्काका वास्तविक वर्गशत्रु हुन् ।
यो विरोधाभाषभित्रको अन्तर्य के होला ? आखिर के चाहन्छन् नेपालका कम्युनिस्ट नेता ? कति प्रतिशत भोट पाएपछि उनीहरूले देशको शासन चलाउने शक्ति पाउलान् ? करिब दुईतिहाइ भोट र सिटचाहिँ कम्युनिस्टहरूले पाउने, देश चलाउने शक्तिचाहिँ अन्यत्र कहाँबाट आउँछ ? संविधानसभा निर्वाचनपछि चारचारवटा कम्युनिस्ट प्रधानमन्त्री भए, के मौलिकता थियो ती प्रधानमन्त्रीमा ? के भिन्नता भयो देशलाई कम्युनिस्ट प्रधानमन्त्री हुँदा र नहुँदा ? गैरकम्युनिस्ट प्रधानमन्त्रीको भन्दा उनीहरूको योग्यता, क्षमता र नैतिक चरित्र कहाँनेर फरक देखियो ? कम्युनिस्टहरू यदि जिम्मेवार राजनीतिक शक्ति हुन् भने उनीहरूले यस्ता थुप्रै प्रश्नको उत्तर दिने कि नदिने ? शाब्दिक उत्तर मात्र होइन, व्यावहारिक सुनिश्चितता दिने कि नदिने ? आज कम्युनिस्ट– कम्युनिस्टबीच गठबन्धनको कुरै हुँदैन । बरु नेपाली कांग्रेस र राप्रपासँग गठबन्धनको कुरा हुन्छ । बरु मधेसी मोर्चासँग गठबन्धनको कुरा हुन्छ । कम्युनिस्ट–कम्युनिस्टबीचको गठबन्धनभन्दा के यी गठबन्धन प्राकृतिक छन् ?
विचार र राजनीतिक घटनाक्रम दुवै दृष्टिकोणबाट नेपालका कम्युनिस्ट ‘ट्रेडमार्क कम्युनिज्म’ को युगमा आइपुगेको प्रतीत हुन्छ, बर्मजियाको पेडाजस्तो । सप्तरी जिल्लामा राष्ट्रिय राजमार्गले छुने एउटा सानो बजार छ–बर्मजिया । त्यहाँ बैधनाथ नामका व्यक्तिले विशेष मिठास भएको पेडा उत्पादन गरी पेडालाई लोकप्रिय बनाइदिए । त्यहाँ आज करिब एक सय पेडा पसल होलान् । सबैको साइनबोर्डमा ‘बुढो बैधनाथको पेडा पसल’ लेखिएको हुन्छ । बुढा बैधनाथले सिर्जना गरेको स्वाद बर्मजियाको पेडाबाट हराइसक्यो । छिटो पैसा कमाउने स्वार्थमा पसलेले मकैको पीठो र बिस्कुट मिसाएर पेडाको स्वाद बिगारिसके । तैपनि सबैको नामचाहिँ ‘बुढो बैधनाथको सक्कली पेडा पसल’ । लाग्छ, नेपालमा कम्युनिज्म पनि त्यस्तै ‘ट्रेडमार्क’ बनिसकेको छ । अन्यथा माक्र्सवाद–लेनिनवादका आधारभूत प्रस्तावनासँग उनीहरू आफ्ना नीतिहरूको कतै संगति देखाउन सक्छन् ? सक्दैनन् भने आफ्ना ‘ट्रेडमार्क’ बदल्ने आँट किन गर्दैनन् ? माक्र्स र लेनिनका प्रस्तावनासँग नमिल्ने वा फरक हुने धारणा ग्रहण गरिसकेपछि आफूलाई कम्युनिस्ट भनिरहन किन आवश्य छ ?
कार्लमाक्र्सले आफ्नो ‘वैज्ञानिक साम्यवाद’ सिद्धान्तमा प्रारम्भिक औद्योगिक पुँजीवादी समाजको चित्रण गरे । सन् १८४८ मा प्रकाशित उनको ‘कम्युनिस्ट घोषणापत्र’ मा ‘वैज्ञानिक साम्यवाद’ का सरलीकृत सिद्धान्त छन् । राजनीतिक उद्देश्यका लागि ‘कम्युनिस्ट’ शब्द प्रयोग गर्ने पहिलो अभियन्ता माक्र्स नै थिए । उनले ‘कम्युनिस्ट’ शब्द प्रयोग गर्नुको आवश्यकतालाई प्रस्ट्याउँदै भने, ‘समाजवादी आन्दोलनमा अनेक प्रकारमा समाजवादी छन् । कताकता लाग्छ, यो समाजवाद भन्ने शब्द नै गन्जागोल भइसकेको छ । यी सबै समाजवादभन्दा हाम्रो समाजवादको फरक उद्देश्यलाई व्यक्त गर्न कम्युनिस्ट शब्द प्रयोग गर्न आवश्यक भएको छ ।’ माक्र्सको त्यो फरक उद्देश्य थियो, ‘सर्वहारा क्रान्तिमार्फत सर्वहारा अधिनायकत्व स्थापना गर्नु ।’ सर्वहारा अधिनायकत्वमार्फत ‘राज्य र वर्गको उन्मूलन गर्नु’ । राज्यविहीन, वर्गविहीन, शोषणविहीन, कम्युन प्रणालीमा आधारित समाज व्यवस्था स्थापना गर्नु । लेनिनले माक्र्सका तर्कको रक्षा गर्दै आफ्नो पार्टीको नाम फेरे । आज संसारका कुनै पनि राजनीतिक शक्तिले माक्र्सको जस्तो उद्देश्य राख्दैनन् । लेनिन र स्टालिनको अभ्यासले सर्वहारा अधिनायकत्वमा आधारित वर्गविहीन र राज्यविहीन समाज सम्भव छैन भन्ने व्यावहारिक पुष्टि गरिसकेको छ ।
आज कम्युनिज्म वर्गविहीन वा राज्यविहीन समाज स्थापनाको उद्देश्य होइन, राजनीतिको एउटा लोकप्रिय प्रचलन हो । बहुदलीय व्यवस्थामा अनेक पार्टी हुन सक्छन्, तिनै पार्टीमध्ये कम्युनिस्ट पनि छन् । तर, नेपालमा ‘ट्रेडमार्क कम्युनिज्म’ को पीडा यतिमा मात्र सीमित छैन । नेपाली समाजको संक्रमणकालीन जटिलताले उनीहरूलाई विशिष्ट प्रकारको शक्ति सन्तुलनमा स्थापित गरिदिएको छ । शक्ति सन्तुलन सधैँ उस्तै रहँदैन । यो शक्ति सन्तुलन फेरियो भने उनीहरूप्रतिका अपेक्षा पनि फेरिनेछन् । जब अपेक्षा गर्नयोग्य अर्को शक्ति बन्छ, उनीहरूसँग मानिसले अपेक्षा पनि गर्नेछैनन् । आज उनीहरूसँग मानिसका अपेक्षा छन् । त्यो अपेक्षा पूर्ति गर्न कम्युनिस्टमा लचिलो व्यावहारिक कौशल आवश्यक छ ।
कम्युनिस्टहरू एक भइदिए हुन्थ्यो भन्ने चाहनालाई पक्का उनीहरूले ‘बालसुलभ चाहना’ भन्नेछन् । तर, उनीहरूलाई प्रश्न गर्ने एउटा ठाउँ के छ भने ६२ प्रतिशत भोट र सिट पाएर पनि कम्युनिस्ट नामका पार्टी, संगठन, समूह र नेताले यो देशलाई कुनै निकास दिन सक्दैनन् भने यो देशका लागि उनीहरूको औचित्य कहाँनेर बाँकी रहन्छ ?
(उक्त लेख नयाँ पत्रिकाको २६ जुन अंकबाट लिइएको हो )
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................