काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्।
श्रीमान्कै पिटाइका कारण अहिले उनको दाहिने हात राम्ररी चल्दैन। उमेरले ७० कटिसकेकी सानुमाया भन्छिन्– ‘बोक्सी हो भन्दै खानसमेत दिँदैनथे।’ धेरैजसो दलित समुदायका महिलाले बोक्सीको आरोपमा पीडित हुनुपरेको घटना नौलो होइन। बोक्सीजस्तो अन्धविश्वासले जरा गाडेको समाजमा गरिब परिवारका दलित महिला पीडित त छँदै थिए, त्यसमाथि त्यही आरोपमा घरपरिवारले समेत यातना दिएपछि उनीहरू दोहोरो मारमा परेका छन्। सानुमाथि समाज र परिवारले लगाएको बोक्सीजस्तो अप्रमाणित आरोप त छँदै थियो। घरबाट बाहिर निस्कँदा चरित्रमाथि पनि शङ्का गर्दै श्रीमान्ले कुटपटि गर्थे।
श्रीमान् वा छोराबाट यातना खप्न बाध्य सानुमाया एक्ली महिला भने होइनन्। कुनै न कुनै निहुँमा महिला घरेलु हिंसाबाट पीडित भइनै रहेका छन्। काभ्रेकै अर्की महिला चिना विश्वकर्मा पनि श्रीमान्को कुटाइबाट आजित भएपछि अहिले माइतीमा छिन्। श्रीमान्ले दिनहुँ रक्सी खाएर कुटपिट गर्न थालेपछि उनी माइतीको शरणमा पुगेकी हुन्। बेरोजगार श्रीमान्बाट प्रायः दिनदिनै कुटाइ खाएको सम्झँदै उनी भन्छिन्– ‘काम छैन, दिनभर भट्टीमा बस्थ्यो। साँझ घर आएर कुट्थ्यो। सँगै बसेको भए अहिलेसम्म कुटेरै माथ्र्यो होला।’
घरभित्र मात्र होइन, दलित समुदायका महिला समाजबाट पनि उत्तिकै पीडित छन्। काठमाडौंमा भेटिएकी काभ्रेकी मैया रोकायालाई आफ्नै घरमा चियापसल राखेको व्यापारीले पसलमा बसेर चिया खान दिएनन्। तल्लो जातको महिला भन्दै ग्राहक भड्किने निहुँ पारेर पसलमा आउन नदिएको मैयाको भनाइ छ। मैया भन्छिन््– ‘म पढेलेखेकी मान्छे, मैले त्यो पसलेलाई सम्झाउने प्रयास गरेँ तर उसले मेरो कुरा बुझ्नै खोजेन।’
ललितपुरकी मनिता अछामी त अधिकारको क्षेत्रमा काम गर्ने महिलाले पनि दलितमाथि छुवाछूत गर्ने गरेको आरोप लगाउँछिन्। उनी भन्छिन्– ‘कुनै कार्यक्रममा गएको बेला हामी सहभागी छौँ र सँगै खाना खानुपयो भने मेरो व्रत छ वा भोक लागेको छैन भनेर बहाना पारेर नखाई हिँड्छन्। प्रत्यक्षरूपमा विभेद नगरे पनि अप्रत्यक्षरूपमा विभेद गरेका हुन्छन्। महिलामाथि गरिने अन्य हिंसासँगै हामी दलित भएकै कारणले यस्ता हिंसा सहन बाध्य छौँ।’
मनिता मात्र होइन, काठमाडौंकी सम्झना अछामी शिक्षितले पनि दलितमाथि हिंसा गरिरहेको बताउँछिन्। शिक्षित र गाउँ वा शहरमा बसोबास गर्दैमा उनीहरूले आफूहरूमाथि गर्ने विभेद कम नहुने उनको भोगाइ छ। आफ्नै घरमा भाडामा बस्नेले समेत ‘तल्लो जातको’ भनेर हेप्ने उनको अनुभव छ। उनी भन्छिन्– ‘डेरामा बस्नेले दलित हो भनेर पानी थाप्दा पाइप नछोइदिनू भन्ने गर्छन्।’
नेपाली काङ्ग्रेसकी पूर्वसभासद् लक्ष्मी परियार दलित महिलाले छोएको पानी गैरदलितले नखाने गरेको बताउँछिन्। कुनै जिल्लामा कार्यक्रममा जाँदासमेत पुरुषलाई सुत्नका लागि छुट्टै कोठा दिने तर महिलालाई पेटीमै सुत्न लगाउने गरेको बताउँछिन्। ‘हामी राजनीति गर्ने महिलाको अवस्था त यस्तो छ, गाउँका अन्य दलित महिलाको अवस्था के होला ?’ उनले प्रतिप्रश्न गरिन्। नीति–निर्माण तहमा पुगिसकेका महिलामाथि पनि विभेद हुने गरेको अनुभव उनको छ। उनी भन्छिन्– ‘हामीले प्रत्यक्ष र अप्रत्यक्षरूपमा थुप्रै विभेद सहनुपरेको छ।’
सामाजिक विभेदसँगै दलित महिला घरेलु हिंसाबाट पनि उत्तिकै पीडित छन्। बालविवाह, कुटपिट, मानसिक यातना, दाइजो, बहुविवाहबाट उनीहरू पीडित भइरहेका छन्। एक अध्ययनअनुसार नेपालमा विवाह हुने दलित बालिकामध्ये सात प्रतिशतको विवाह १० वर्षकै उमेरमा हुने गरेको छ। ४० प्रतिशत १४ वर्षको उमेर नपुग्दै विवाहबन्धनमा बाँधिने गरेका छन्। यसबाहेक बोक्सी उनीहरूमाथि लगाइने अर्को आरोप हो, जसबाट दलित बस्तीका महिला समुदाय, गाउँ र घरपरिवारबाटै पनि पीडित छन्। दलित महिला सङ्घले ५६ जिल्लामा गरेको अध्ययनले पाँच सयभन्दा बढी दलित महिला हिंसामा परेको देखाएको छ। दलित महिलाको शिक्षा र रोजगारीमा पहुँच नहुँदा पुरुषको तुलनामा दलित महिलाले बढी हिंसा सहनुपरेको देखिन्छ। शिक्षित नभएका कारण उनीहरू आफ्नो अधिकारको सवालमा सचेत देखिँदैनन्। यसका कारण उनीहरू हिंसा सहन बाध्य छन्।
कानुनले बन्देज लगाए पनि समाजमा जातिका आधारमा हुने विभेद अझै प्रचलनमा छ। जसका कारण तल्लो जातका भनिने मानिस पीडित भइरहेकै छन्। दलित महिला समाजमा भइरहेको जातीय विभेदको अलावा विभिन्न स्वरूपका घरेलु हिंसाबाट पनि पीडित भइरहेका छन्। राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदतारा दलित महिलाले खेप्ने हिंसा रोक्न छुट्टै नीति बनाउनुपर्नेमा जोड दिँदै भन्छिन्– ‘महिलामाथि हुने हिंसा कार्यस्थलदेखि घरसम्म छ।’ उनका अनुसार पहाडी जिल्लामा भन्दा तराईमा दलित महिलाले भोग्ने समस्या केही फरक छन्। राज्यले दलित महिलाको चेतनास्तर बढाउन शिक्षा र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको उनको भनाइ छ।
दलित महिला सङ्घकी अध्यक्ष दुर्गा सोब पनि अन्य महिलाको तुलनामा दलित महिला बढी हिंसाको सिकार हुनुपरेको बताउँछिन्। महिला हिंसाको विषयमा आवाज उठाउने अधिकारकर्मीले दलित महिलाको मुद्दालाई समेट्न नसकेको गुनासो गर्दै भन्छिन्– ‘महिलामाथिको हिंसामा पनि दलित महिलाले भोग्ने हिंसा फरक भएकाले राज्यको निर्णायक तहमा उनीहरूको पहुँच नपुगी उनीहरूमाथि हुने हिंसा अन्त्य गर्न सकिँदैन।’ ऐन–कानुनको प्रभावकारी कार्यान्वयन र दोषीलाई कारबाही गर्न सके उनीहरूमाथि भइरहेको हिंसा कम गर्न सकिन्छ। विभिन्न कार्यक्रममार्फत उनीहरूको चेतनास्तर बढाउने र आयआर्जनका काममा जोड दिए बिस्तारै हिंसा कम हुनेछ। यसबाहेक निर्णायक तहमा दलित र त्यसमा पनि महिलाको प्रतिनिधित्व हुनु जरुरी छ।