शिक्षा, क्यारियर र अपर्चुनिटीका बारेमा कुरा गर्दा बेलायत लगायत बिकशित मुलुकहरुमा सहजै थुप्रै अपर्चुनिटीहरु पाइन्छ भन्ने प्रायः सुनिने गर्दछ । साथै फलानाले आफ्ना शैक्षिक योग्यताका प्रमाण पत्र काखीमा च्यापेर हिन्दा हैरान भएछ अनि कही काम नपाए पछि उ बिदेशियो रे भन्ने पनि सुनिन्छ । यसरी केही आफ्नो मुलुकमा कुनै कामको जोहो नपरे पछि अथवा कुनै अपर्चुनिटी नपाएका कारण थुप्रै होनाहार युवाहरु बिदेशिने गर्दछन् भने केही आफ्नो शैक्षिक योग्यता अनुसार, र समाजमा प्रतिष्ठित जागीर हुदा हुदै पनि अझ उच्च प्रतिष्ठा र सुन्दर भबिश्य निर्माण गर्ने उद्धेश्य लिएर बिदेशिने गर्दछन् । त्यो पनि कुनै दलालको सहयोग बाट ।
कुनै दलालको सहयोगबाट घरबार बन्धक राखेर बिदेश पुगे पछि त्याहाँ आइपर्ने समस्यासंग जुध्नु पर्ने हुन्छ उनिहरुलाइ । कसैका कलेज बन्द भएका छन् त कसैलाइ साँझ बिहानको छाक टार्ने समस्या तुरुन्तै आइ पर्छ । जागीर खोज्दा जागीर पाइदैन । संगी साथी खोज्दा नजिक छैनन् । कतिपयका लागि त आफुले सहयोग पाउने भनेर बिश्वास गरेकै ठाँउबाट सहयोगको हात बढ्दैन । अरुबाट सुनिएका र आफ्नो कल्पनामा रहेका ती बिकशित मुलुकमा सहजै पाइने भन्ने अपर्चुनिटी आफुबाट कता कता टाढा छ । त्यसलाइ भेट्ने मृगतृष्णामा दिन, रात, हप्ता, महिना र बर्षहरु बित्ने गरेको छ । त्यो कल्पनाको अपर्चुनिटी नजिक पुग्न नसकेर निराश पर्नु परेका उदाहरण सय दुइसय होइनन् हजार हजार छन् ।
यही कारणले मैले केही समय अघि काठमाण्डौबाट प्रकाशित हुने एक दैनिकमा “बेलायतमा शिक्षाः भ्रम र यथार्थ” शिर्षकमा बेलायतमा शिक्षा कसरी हासिल गर्न सकिन्छ भन्ने कुरा बारे बस्तुस्थिती प्रस्तुत गरेको थिएं । त्यहाँ मैले बेलायतका बिश्वबिद्यालय अन्तरगतका कलेजहरुबाट उच्च शिक्षा हासिल गर्नका निम्ति भर्ना हुने तरिका र त्यसका लागि चाहिने कागज पत्रको बारेमा पनि उल्लेख गरेको थिंए ।
तर कुनै उदाहरण यस्ता पनि पाइएका छन् जो न सरकारी छात्रबृत्ति, न कुनै दलालको सहयोग, आफ्नै बल बुता र आफुले हासिल गरेका शैक्षिक योग्यताको प्रमाण पत्र टेबुलमा पछारेर बेलायत छिरेर उच्च शिक्षा हासिल गर्नेहरु पनि नभएका होइनन् । त्यसरी बेलायत छिरेर उच्च शिक्षा आर्जन गर्दै बेलायती सरकारी निकायमा आफ्नो प्रतिष्ठा बनाउनेहरु मध्यकि एक महिला हुन् स्मिता न्यौपाने । उनि बिगत दश बर्ष अघि आफुसंग मान मर्यादित एवं प्रतिष्ठित जागीर हुदाहुदै पनि त्यसलाइ लत्याएर बेलायत छिरेकी हुन् । उनले आफुले प्राप्त गरेको शैक्षिक योग्यतालाइ पूर्ण उपयोग गर्ने उद्धेश्यले सर्व प्रथम कुनै स्कूल वा कलेजमा जागिर खाने योजना बनाइन् । जागिर खोज्ने क्रममा बिगत सात बर्ष अघि उनले हामसायर कउन्टी काउन्सीलको बाल बच्चा सेवा बिभागमा दोभाषेको रुपमा नियुक्ति लिइन् । त्यतिखेरै उनले बयस्क एवं प्रौढ शिक्षा शाखामा शिक्षिका पदकालागि दर्खास्त हालिन् र त्यहाँ पनि उनले आफुले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाण पत्र उनलाइ जागिरका लागि अन्तरवार्ता लिनेहरुका अगाडी तेस्र्याइन् । धेरै बोल्न मन नपराउने तर दृढ मनोवल र बिश्वास भएकि स्मितालाइ अन्तरवार्ताकारले नाइ भन्न सकेनन् , त्यहाँ उनले अनुभव जम्मा गर्दै थिइन् । त्यसै बीच युनिभर्सिटी अफ सरे अन्तरगत रहेको फानबरो कलेज अफ टेक्नोलजीले उनलाइ लाइफ लङ्ग लर्निङ्ग शिक्षिकाको तालिमका लागि बोलाए । जहाँ उनि दुइ बर्ष अध्ययन गरिन् र डिप्लोमा इन् टिचिङ्ग इन् लाइफ लङ्ग लर्निङ्ग सेक्टरमा सफलता हासिल गरिन् ।
उनले अहिले सम्म बेलायती सरकारका लागि बिभिन्न पुस्तकहरु अनुबाद पनि गरिसकेकी छिन् । एक प्रसंगमा स्मिता न्यौपानेले भनिन् म यस अघिनै बयस्कहरुका लागि पढाउने शिक्षिकाको रुपमा काम गरिसकेकी थिंए, तर पनि बयस्क शिक्षण पेशाबारे अरु बढी ज्ञान हासिल गर्नु थियो मलाइ , कलेजले पढाउने अफर गरे पछि मैले पढ्न थालेकि हुँ । यो दुइ बर्षको अध्ययनले मलाइ कसरि बिद्यार्थीहरुका बिभिन्न आबश्यकता बुझेर पढाउन सकिन्छ भन्ने ज्ञान हासिल गर्न ठुलो मद्धत गरेको छ । कक्षामा उपस्थित बीसौं बिद्यार्थीहरुका अलग अलग ज्ञान, अनुभव र पढ्ने तरिकाहरु हुन्छन् । ती सबैलाइ बुझेर पढाउन सकेको खण्डमा मात्र बिद्यार्थीहरु सफल हुन्छन् र बिद्यार्थीहरु सफल हुनु भनेको शिक्षक सफल हुनु हो । त्यसैले मैले पनि यो दुइबर्षे तालिम आबश्यक भएको महशुस गरेकि थिंए, मौका पाएं, अनि सहभागी भए, जसले मलाइ आगामी दिनमा अरु शिक्षा हासिल गर्ने र अनुभव संगाल्न मदत गर्ने छ ।
कहिले कहाँ कहिले कहाँ पुगेर जागीर खानु पर्ने सैनिक परिवारमा जन्मेकी स्मिताको बाल्यकाल चिनमा बित्यो । प्राथमिक शिक्षा चिनकै अन्तरराट्रिय स्कूलबाट हासिल गरिन् तर एस् एल् सी भने नेपालबाटै गरेकी रहिछन् । उनका पिता सैनिक अधिकारी कर्णेल भएकाले घरमा औधी अनुशासित हुनु पथ्र्यो रे उनलाइ । अनुशासित हुनु पर्ने मात्र होइन शिक्षा हासिल गर्नु पर्छ भन्ने पनि परिवारले राम्रोसंग बुझेको रहेछ । पारिवारिक बातावरण अध्ययनशील र अनुशासित भएका कारणले उनलाइ क्याम्पस र बिश्वबिद्यालय अध्ययन गर्ने प्रेरणा जाग्यो र त्रिभूवन बिश्वबिद्यालयबाट अंग्रजी साहित्यमा स्नातकोत्तर गरिन् उनले ।
अंग्रजी साहित्यमा स्नातकोत्तर गरिसके पछि सिधै शिक्षिका भए हुन्न र किन अरु तालिम सालिमको झण्झट गरिरहेको भनी जिज्ञांसा राख्दा उनि भन्छिन्, नेपालमा जस्तो बिए वा एमए पास गर्दैमा बेलायतमा कुनै पेशाका लागि योग्य भइदैन, त्यसका लागि सम्बन्धित पेशाका लागि ब्यबहारिक तालिम लिनु पर्दछ । जस्तै कुनै वकिलले एल एल बी वा एल एल एम गर्दैमा वकिल भैहाल्छ भन्ने हुदैन यदि उ वकालती पेशा गर्न चाहान्छ भने उसले सोलीसिटरको तालिम पुरा गर्नु पर्छ वा जसले न्यायधीश हुन चाहेको छ भने उसले बेरिष्टरको तालीम पुरा गर्नु पर्छ । त्यस्तै शिक्षक पेशा अपनाउन चाहने ब्यक्तिले शिक्षक तालिम पुरा गर्नु पर्दछ । जो कसैले पनि लामो समय सम्म कुनै पेशा अपनाउन चाहेको छ भने उसले त्यो पेशाको लागि आवश्यक पर्ने पेशागत ब्यबहारिक तालिम गर्न नितान्त जरुरी हुन्छ । त्यसैले मैले बयस्कहरुलाइ अंग्रेजी लगायत अन्य सामाजिक शिक्षा अध्यापन गर्ने तालिम लिएकी हुँ । यो तालिमले मलाइ भबिश्यमा एक सफल शिक्षिका बनाउने छ भन्ने आशा लिएकी छु ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................