ब्याकुल माहिलासंग एक साँझ

– शशी पौडेल

राष्ट्रियगानका लेखक प्रदीप कुमार राइ लगभग तीन महिना बेलायत यात्रा पछि नेपाल फर्केका छन् । धेरै दिनको प्रयास पछि उनि बल्ल तल्ल फानबरोमा एक साँझ आइपुगे । फानबरो, अल्डरसट, यी क्षेत्र भनेको बेलायतका अन्य क्षेत्रहरुमा भन्दा बढी नेपालीहरुको बसोबास भएको क्षेत्र हो । यही क्षेत्रमा प्रायजसो नेपालीहरुका संगठनका नेतृत्वदाइ ब्यक्तिहरुको बसोबास रहेको छ । अझ जातजातीका संगठनहरुको यो क्षेत्र राजधानी नै हो भन्दा अत्युक्ति हुने छैन । जातीय संस्थाहरु मध्य सवभन्दा ठूला संस्था मानिने तमुधी युके र मगर संघ युकेका अध्यक्षहरु यसै क्षेत्रमा बस्दछन् । क्षेत्री समाज र ठकुरी समाजका अध्यक्षहरु लगायत बिभिन्न जिल्लाबासीहरुका संगठनहरु जस्तै गुल्मी समाज, पोखरा समाज, पाल्पाली भन्ज्याङ्ग आदी आदी ।


ग्रेटर रसमुर नेपाली कमिटीका महासचिब रोहित गुरुङ्ग र कोषध्यक्ष रामधन राईको सक्रियतामा यो साँझको आयोजना गरिएको थियो । ब्याकुल माइला बेलायतमा छिरेकै दिन देखि उनलाइ यस क्षेत्रमा ल्याउने चर्चा चलेको हो हामी बीच । बेलायतमा रहेका सबै संघ संस्थाहरु स्वयं सेवाबाट मात्र चलेका छन् । त्यसैले संस्थाका धेरै जसो ब्यक्तिहरुको अनुकूल पारेर मात्र कुनै कार्यक्रमको आयोजना गर्नु पर्ने हुदा केही इक्षालाइ पर पर सार्दै जानु पर्ने हुदो रहेछ । यस्तै पर पर सार्ने क्रममा झण्डै तीन महिना बितेको हो । यसरी पर पर सार्दै लग्दा पनि कतिपय संस्थाका पदाधिकारीहरु उपस्थित हुन सकेनन्, जस्तै तमुधी युके, क्षेत्री समाज आदी आदी । यहाँ पनि आफ्नै बाध्यताहरु होलान् जुन नितान्त ब्यक्तिगत हुन् ।
बेलायतबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिका नयाँ सन्देश साप्ताहिकको निमन्त्रणामा बेलायत आएका हुन् ब्याकुल माहिला । उनि पनि आफैमा ब्यस्त छन् बेलायतमा । झण्डै तीनसय पचासको संख्यामा रहेका नेपाली संघ संस्थाहरुमध्यका केही संस्थाहरुले आ आफ्नै तरिकाबाट निम्त्याएका छन् उनलाइ । कसैले भब्य रुपमा श्रष्टाको सम्मानका शिर्षक राखी सयौ नेपालीहरुबीच उनलाइ सम्मान गरे । कसैले सामान्य साँझ भान्साका लागि निम्त्याएर त कसैले केही छलफल कुराकानी आदी गरेर । तर ग्रेटर रसमुर नेपाली कमिटीले भने कबि, गीतकार एवं गजलकारका हैसियतले ब्याकुल माइलालाइ बेलायतको ब्यस्ततामा पनि, कथा, कबिता, गीत लेखेर साहित्य साधना गर्ने नव सर्जकहरुबीच किन नउभ्याउने भन्ने सोचाइ राख्यो । यथार्थता र भावनाका निम्ति किन एक साँझ उपयोग नगर्ने ? भन्ने चिन्तन राख्यो । यद्यपी बेलायतमा झण्डै एक दर्जन साहित्य एवं कलाका नाममा गठन भएका संगठनहरु पनि छन् ।
भाडामा लिएको हल समयको पावन्दीका कारण दर्जनौ कविहरुलाइ त्यहाँ कबिता बाचन गर्न दिन मिल्ने अवस्था भने थिएन । यद्यपी केही कबिहरुले लेखेर कपिमा थन्क्याएका भावनाहरु, यथार्थ भित्रका कल्पनाहरु सयौं कान समक्ष पु¥याउने मौका भने पाए ।
ब्याकुल माइला आफैले पनि दुइवटा गजल र एउटा कबिता सुनाए । यसक्रममा एउटा मिठो प्रसंग हामीबीच बाँडे उनले । एक बिदेशी पत्रकार उनीसंग कुराकानी गर्न पुगेछन् र कुराकानी क्रममा पत्रकारले भनेछन्, तपाइ राष्ट्रियगानका सर्जक, तपाइलाइ भेट्न निकै धेरै तगाराहरु पार गर्नु पर्छ होला भन्ने लागेको थियो । बिभिन्न एपोइन्टमेन्ट आदी आदी । यति सहजै म तपाइकहाँ आइपुग्छु भन्ने लागेको थिएन । राष्ट्रियगानका सर्जकहरुलाइ भेट्न प्राय कठिन हुने गर्दछ । हुनत धेरै मुलुकहरुका राष्ट्रियगानका सर्जक अव यस दुनियाँमा छैनन् । ब्याकुल माइलाले जवाफ दिएरे, म त एक सामान्य ब्यक्ति हूँ । मलाइ भेट्न किन कठिन हुनु पर्ने ? म अरु नेपालीहरु जस्तै आम नेपाली नागरिक हूँ ।
पेशाले अधिबक्ता भनेर चिनिने ब्याकुल माइलाले बेलायतबाट प्रकाशित हुने एक साप्ताहिक नयाँ सन्देशसंगको अन्तवार्तामा भन्छन् , हैकियतको दृष्टिकोणले ममा केही पनि फरक भएको छैन र हुनु पनि हुदैन । नढाँटी भन्नु पर्दा वकिल हुँदाको बेला बरु म आफूलाइ एक बिशेष बर्ग ठान्थें भने राष्ट्रियगानको सर्जक भैसके पछि आफूलाइ एक आम नेपाली नागरिक ठानेको छु । यही हैसियतमा रहिरहने छु । यद्यपी राष्ट्रियगानको सर्जक भै सके पछि एक संबेदनशील सार्वजनिक ब्यक्तित्वको हैसियत पनि पाएको छु । त्यसैले मेरा हर सोंच, बिचार, चिन्तन, जीवनशैली र ब्यबहार संगतिपूर्ण हुनु पर्छ भन्ने कुरामा सचेत भएको छु । मैले सम्पूर्ण नेपाली समाज र सिङ्गो राष्ट्रबाट धेरै मायाँ स्नेह र सम्मान पाएको छु । मैले आफ्नो जीवन सार्थक र सफल भएको ठानेको छु । ब्यत्तिगत एवं पारिवारिक बिषयबस्तु भन्दा सार्वजनिक चासो र सरोकारको बिषयबस्तु एवं कार्य मेरो प्राथमिकतामा परेको छ । आफू सौभाग्यशाली भएको गौरवको अनुभूती गरेको छु ।
बिदेशमा कार्यथलो रोजेका नेपालीहरुले आफ्ना नयाँ पुस्तालाइ औपचारिक शिक्षाका साथ साथै नेपाली भाषा पनि सिकाउनु पर्ने आबश्यकता उनले देख्छन् र भन्दछन्, हामी नेपालीहरु श्विको जुनसुकै ठाँउमा पुगेर जिबिकोपार्जन गरे पनि आफ्नो मातृभूमीलाइ धेरै मायाँ र राष्ट्रियता प्रति गौरव गर्ने रहेछौं । आफ्नो पहिचानलाइ बचाइ राख्ने प्रयास गरिराख्ने रहेछौं भन्ने कुराको प्रमाण मैले बेलायती नेपाली समाजमा पाएको छु । यहाँ नेपालीहरु निकै ब्यवस्थित र संगठित अवस्थामा रहेछौं । मलाइ धेरै खुसी र गौरव लागेको छ । हामी जहाँ छौ, जस्तो छौं र जे छौं त्यहीबाट जे जसरी हुन्छ त्यसरीनै नेपाल र नेपालीको उन्नतीका निम्ति केही न केही गरिरहनु पर्छ भन्ने आदर्श यहाँका नेपालीहरुमा पाएको छु । उहिलेका पुर्खा देखि अहिलेका पुस्ता सम्मले ब्रिटीश गोर्खा सेना मार्फत बेलायतलाइ बलिदानीपूर्ण योगदान दिएकै कारण बिश्वको एक बैभवशाली यो देशको पनि नागरिक भएर बस्ने अधिकार पाएका छौं । यसलाइ सदुपयोग गर्दै बैभवपूर्ण बाँच्नका निम्ति बिशेषगरी नयाँ पुस्तालाइ औपचारिक शिक्षा आर्जन गर्न प्रोत्साहन गर्दै नेपाली भाषा सिकाउने काममा जोड दिनु पर्ने देखेको छु ।
उनलाइ कतै आफु इमान्दार नरहिने हो की अथवा कतै भबिश्यमा राम्रा सृजनाहरु मुलुकलाइ दिन नसकिने होकी भन्ने चिन्ताले भने सधै सताउदो रहेछ । कतै कुनै पाठकद्धारा राष्ट्रियगानका सर्जकले पनि यति तल्लो दर्जाको काब्य सिर्जना गरेको भनि आलोच्य भइने हो की भन्ने डरले कलमनै नसमाउने सोंचमा पनि पुगिसकेका रहेछन् उनि । तर बाह्य र वाताबरणीय मोटिभेसनले तान्दो रहेछ उनलाइ । उनि जहाँ पुग्यो त्यही ल न एक दुइवटा गजल वा कबिता जावस् भनेर म प्रति आग्रह हुने गर्दछ, जसले गर्दा नलेखी सुखै पाउन्न, उनको कथन थियो ।
सांझ खाना खाने टेबुलमा मैले उनि प्रति प्राय सार्वजनिक रुपमा नउठाइने प्रसंग उठाएको थिए । उनले मुसुक्क हांस्दै भने जहां सम्म मेरो योगदानको कुरा छ, म एक आम नेपाली हूं , म हाम्रो राष्ट्रिय एकताको आधार एवं जग फराकिलो पारेर हाम्रो राष्ट्रियता, नेपाली नेपालीबीचको एकता अझ बजबुत होस् भन्ने चाहाने ब्यक्ति हूं । जनजाती एवं संघियताका सवालमा भैरहेको मतभेदबारे जान्ने उत्सुकता देखाउदा उनले २०४६ साल पछि मुलुकमा त्यति ठुलो बिभेद नभएको स्वीकार गर्दै भने, सदियौं देखिको बिभेदको खाडल पुर्न भने अझै बांकी रहेको छ । समस्यालाइ एक पछि अर्को गर्दै समाधानको बाटोतिर लानु पर्छ । यसका लागि भाषा, संगीत र साहित्यले महत्वपूर्ण भूमिका खेल्ने छ ।
उनि आफूले पाएको सम्मान, इज्जत, ब्यक्तित्व कसरी जोगाउने भन्ने चिन्ताग्रस्त पनि रहेछन्, तर त्यसमा आफूले सक्दो मेहनत र सजगता अपनाउदै आएको कुराको खुलासा पनि गरे उनले । हो राष्ट्रियगानको सर्जक भै सके पछि मैले धेरै चर्चा परिचर्चा, मायाँ, स्नेह र सम्मान पाएको छु । आफ्नो जीवन सार्थक र सफल भएको अनुभूती गरेको छु । सार्बभौम, स्वाधीन, स्वतन्त्र एवं गौरवमय इतिहाँस भएको हाम्रोे देश नेपालको राष्ट्रियगानको सर्जकको हैसियतमा एक गरिमामय ब्यक्तित्व प्राप्त भयो भन्ने लाग्छ मलाइ । यो ब्यक्तित्व, जिम्मेवारी, गरिमामय उत्तरदायीत्व उत्तिकै चुनौतीपूर्ण पनि पाएको छु । यस कुरा प्रति हरपल सचेत र दृढ छु र यस कार्यमा मेरो निरन्तर लगाव रहीरहने छ । नेपाल र नेपालीबाट म प्रति गरिएको यस प्रकारको आशा र शुभेक्षालाइ म सिरोपर राख्ने छु ।

Bookmark the permalink.

One Response to ब्याकुल माहिलासंग एक साँझ

  1. Kpsharma says:

    Good opportunity to meet him!

Leave a Reply

Your email address will not be published. Required fields are marked *