डा बाबुराम भट्टराइको सरकारले मुलुक र मुलुकबासीको हितमा काम त गरेन गरेन, एक जीउदा सहीदको नाममा श्रद्धान्जली दिन समेत चुक्यो । जहानियाँ राणाशासनविरुद्ध लडाइँ लडेका ‘जिउँदा सहिद’ रामहरि शर्माको निधन भएको छ । एउटा जिउँदो इतिहास बोकेका शर्मा राणाकालको मृत्युदण्डबाट धार्मिक आस्थाका कारण बाँच्न सफल भएका थिए । त्यसताका राणाहरूको हुकुमी शासन थियो । नियम, कानुन, सुशासन र मानवीय समवेदना पटक्कै नभएको त्यो जमानामा शर्माहरू राणाहरूको ज्यादतीविरुद्ध टाउकामा कात्रो बाँधेर आन्दोलनमा लागेका थिए । शर्मालगायत आन्दोलनकारी पक्राउ परेपछि शुक्रराज शास्त्रीसमेत चारजनालाई मृत्युदण्ड दिइयो । ब्राह्मण भएकाले उतिबेला टंकप्रसाद आचार्य र रामहरि शर्मा बाँच्न सफल भए । भाग्यले जीवित रहन सफल दुई योद्धालाई ‘जिउँदो सहिद’ को सम्मान दिइएको थियो । २००७ सालमा जहानियाँ राणाशासन समाप्त भएपछि नेपाली जनताले स्वतन्त्रताको श्वास फेर्न पाएका थिए । जो सहिद र जिउँदा सहिदको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको थियो । वास्तवमा नेपाली जनताले उपभोग गर्न पाएको गणतन्त्र, स्वतन्त्रता, न्याय र कानुनी राज्यको जगमा स्व.रामहरि शर्माजस्ता व्यक्तिको ठूलो योगदान रहेको छ । यो इतिहास हो कसैले बिर्सन मिल्दैन । तर, दु:खद पक्ष के रह्यो भने यिनै जिउँदा सहिद शर्माको मृत्यु सरकार र ठूला राजनीतिक दलका लागि महत्त्वहीन बन्न पुग्यो । एउटा जिउँदो इतिहास समाप्त हुँदा राज्यले संवेदना र सहानुभूति समेत जाहेर नगर्नु कृतघ्नताको पराकाष्ठा हो ।
सरकारले राष्ट्रिय व्यक्तित्वहरूको निधनमा शोक व्यक्त गर्न, संवेदना जाहेर गर्न र यथोचित सम्मान गर्न जान्नुपर्छ । कसैको पनि इतिहास बिर्सन मिल्दैन । इतिहास बंग्याउने र झुटको लिउन लगाएर छोप्ने काम राष्ट्रकै लागि राम्रो होइन । अहिले प्रश्न उठेको छ जिउँदा सहिद शर्माको मृत्युप्रति सरकार यतिविघ्न अनुदार बन्नुको कारण के हो, शर्माप्रति यत्रो उपेक्षा किन ? एमाओवादी उपाध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई शर्माप्रति यति साह्रो वितृष्णा कसरी उत्पन्न भयो ? अहिले वर्तमान सरकारसामु थुप्रै प्रश्न तेर्सिएका छन् । राणाशासनविरुद्ध लडेर निष्ठा र त्यागको अनुपम उदाहरण बनेका शर्मालाई राज्यले उचित सम्मान दिन नसक्नु विडम्बनापूर्ण घटना हुन पुगेको छ । नेपाली जनताले मृत्युपछि शर्माले राजकीय सम्मान प्राप्त गर्ने ठानेका थिए । तर, त्यो हुन सकेन । इतिहासलाई बडो हलुका ढंगले लिने काम भयो । जसले गर्दा यो सरकारलाई गैरजिम्मेवार भन्न सकिने भएको छ ।
बुधबार बिहान निधन भएका शर्माको साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । धेरैले सोचेका थिए त्यहाँ सरकारी प्रतिनिधि उपस्थित भएर सम्मानका दुई शब्द बोल्नेछन् । तर, सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मन्त्रिपरिषद्को बैठक बस्न नसकेका कारण सम्मान जाहेर गर्न नसकेको लज्जाजनक अभिव्यक्ति दिएको खबर सञ्चारमाध्यममा आयो । उनले बुधबार दाहसंस्कार सम्पन्न भएका व्यक्तिलाई बिहीबार ‘सम्मान गर्ने’ बताएर अर्को विद्रुप अभिव्यक्ति पनि दिए । विभिन्न रहस्यमा जेलिएका व्यक्तिलाई राजकीय सम्मान दिने सरकारले जिउँदा सहिद शर्माप्रति सम्मान जाहेर नगरे पनि इतिहासले उनलाई महान् व्यक्तिका रूपमा स्थापित गरिसकेको छ । साथै नेपाली जनताले शर्मालाई हृदयदेखि नै सम्मान जाहेर गरेका छन् ।
राजनीतिक पार्टी र पद्धतिको सूत्रपातकर्ता शर्माहरूकै कारणले नेपालमा विभिन्नखाले राजनीतिक परिवर्तनको खाका कोरिएको हो । १९९७ सालको ऐतिहासिक राजनीतिक घटना, त्यसले स्थापित गरेको ००७ सालको क्रान्तिको रूपरेखा, त्यसपछि भएका ०३६, ०४६ सालका परिवर्तन साथै ०६२/६३ को जनआन्दोलन शर्माहरूकै आन्दोलनका जगमा उभिएका घटना थिए । यसलाई सबैले स्वीकार गर्नै पर्छ र ती योद्धाप्रति सम्मान व्यक्त गर्नै पर्छ । बुधबार स्वर्गे भएका व्यक्तिप्रति कुनै चासो नराख्नु र बिहीबार झारा टार्ने संवेदना व्यक्त गर्नु सरकारको नालायकी व्यवहारको पराकाष्ठा हो । राज्य कसैको पेवा होइन । स्व.शर्माले वर्तमान सरकारका मठाधीशहरूलाई अपाच्य हुने त्यस्तो कुन काम गरे ? त्यसको यथोचित जवाफ सरकारले ढिलोचाँडो दिनुपर्ने छ । तर, के चाहिँ स्पष्ट हुन जरुरी छ भने राष्ट्रिय सम्मान पाउने व्यक्तिहरूप्रति राज्य कन्जुस बन्नु हुँदैन । यस्ता गैरजिम्मेवार कार्य भविष्यमा नदोहोरिऊन् । अहिलेलाई भने शर्माको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै उनको निधनबाट भएको अपूरणीय क्षतिप्रति संवेदना जाहेर गर्छौं ।
पत्रकारहरुले समयमा वहाँको स्वास्थ्यको बारेमा प्रचार प्रसार गरेको भए सरकार को आँखा खुल्थ्यो होला तर पत्रकार ले पनि वहाँ को देह त्याग नभएसम्म केही बोलेनन् , सरकार को त कुरै छोडौ।
हामी अपूरणीय क्षतिप्रति संवेदना जाहेर गर्छौं ।
R Gurung