—शशी पौडेल
“शशी तिमीहरु अहिले आउन सकेनौ भने पनि हाम्रो मित्रता सदाका लागि रहिरहने छ । जीवन प्रयन्त र सात जन्मका लागि । तर यदि सम्भव भयो भने तिमीहरुको अनुहार मात्र देख्न पाँए भने अत्यन्त खुसी हुने छु ।”
तीस अगस्त बिहिबार साढे दश बजे राती एक अधबैसे महिला जसले जीबनका घण्टा गनेर बाँचीरहेकी थिइ, टेलीफोनमा मसंग भन्दै थिइ । जर्मन नागरिक, मेरो छोराको किन्डर गार्डेनकी हेड टिचर, मायाँ र ममता की देबी उला ओसबर्ग ।
“उला हामी सबैजना आउन नसके पनि म जसरी पनि तिमिलाइ भेट्न आउने छु । भोली पेरिस जाँदै छु, सम्भव भए सम्म म तेतैबाट फुत्त छिर्ने छु , भएन भने दुइ चार दिन भित्रै आइपुग्ने छु ।” मैले बचनबद्धता गरें । तर पेरिसबाट जर्मनी छिर्न मिलेन । सोमबार बेलायत फर्केर मंगलबार देखि यहाँ आफ्नो कुटो कोदालो गर्नु थियो । मनभरी आफ्ना असफलता संगालेर दुइ दिन बिताएं । बुधबार उसलाइ अस्पताल लगियो रे भन्ने खबर आयो । बिहिबार जर्मनीका लागि टिकट लिने प्रयास गरें तर पाउन सकिन, सनिबार बिहान साढे सातबजे उड्ने गरि टिकट बुक गरें । मनभरी संका बोकेर दिउसोको साढे चार बजेतिर फोन गरें, उ अस्पतालमै भएको खबर प्राप्त भयो । दुइ दिन नहो पुगिहाल्छु भन्ने लागिरहेको थियो, राती सुत्ने तयारी गर्दै थियौं , टेलीफोनको घण्टी बज्यो, करुणाले फोन उठाइन् र रुन थालिन्, उनको हातबाट फोन खोसें ।
योर्क (उलाको पति) अर्को लाइनमा रहेछ, रुदै भक्कानिदै शब्द उच्चारण गर्न सकिरहेको थिएन उसले । “शशी उलाले मलाइ छोडेर सदा सदाका लागि बिदा भै । मलाइ एक्लै फगत एक्लै छोडेर गइ ।” उसले भन्दै थियो । मलाइ बिश्वास लागेन, मलाइ लाग्यो मैले सही सुनिरहेको छैन । म बोल्न सकिन, आँखा रोकिएनन्, मुटु्मा भक्कानो छुटेर आयो । लाग्यो उलाले हामीलाइ एक हप्ता पर्खिछ, तर हामी पुग्न सकेनौं । हामी कति स्वार्थी ? आफ्नो जीवनको घण्टा र मिनेट गनेर बसेकी एक मित्रले भेट्ने चाहाना गर्दा पुग्न सकेनौं । अझ उसको मृत्युको खबर सुनेपछि पनि स्वार्थी चिन्तन सामुन्नेमा आयो “उसले हामीलाइ माफी दिने छैन, उसले हामीलाइ स्राप दिने छ ।” भन्ने कल्पना अचानक ममा आयो ।
मानिसले हरेक सुख बैभव सायद पुनः पुर्ति गर्न सक्दछ, तर मानब जीबन, उसंगको मित्रता साथीत्व र प्रेम पुनः पुर्ति गर्न सकिंदैन । हामीले सदा सदाका लागि एक अत्यन्त सहयोगी मित्र, मुखबोली दिदी, छोराहरुको मुखबोली काकीलाइ सदा सदाका लागि गुमायौं । कहिल्यै नभेट्ने गरि टाढैबाट उसले नसुन्ने गरि बाइ बाइ भन्यौं । कति स्वार्थी समाजमा छौं हामी ? यस्तै नियती सायद धेरै धेरैले भोग्नु पर्ने हुन्छ ।
हुनत उला र हामीबिच कुनै हाड वा रगतको नाता होइन, उ जर्मन नागरिक हामी नेपाली, नितान्त फरक समाज, संस्कृति, धर्म, मूल्य र मान्यतामा बाँचेका दुइ भिन्न परिवार तर समय र परिस्थितीले यति नजिक ल्याइदियो की बिगत एक्काइस बर्ष देखि एउटै परिवार जस्तो गरी समय बितायौं । कहिलेकाँही धर्मबारे छलफल हुन्थ्यो, हामीले उसलाइ पुरा हिन्दू त बनाउन सकेका थिएनौ तर पुनर्जन्म प्रतिको बिश्वास भने उसलाइ गहिरो गरी छाप पारीदिएका थियौं, यद्यपी उसले कुनै धर्म प्रतिको बिश्वास भने इन्कार गर्थी । त्यसैले होला उसले सात जन्म सम्म पनि हामीसंग मित्रता रहिरहने कबुल गरेकि ।
समयक्रम संगै हिन्दी सिनेमामा हिरो र हिरोइनको बाटो अलग अलग भए जस्तै हामीबीच पर्खाल खडा नभएको पनि होइन तर फेरी परिस्थितीले जुटायो । उसकि आमा बेसरी बिरामी परिछ र अस्पतालको बिछ्यौनाबाट “मेरो नाती नातीना कोही छैनन् मैले योयो(हाम्रो छोराको नाम यजुर उच्चरण गर्न अप्ठारो मानेर योयो भन्ने गर्थी) लाइ नाती सरह मानेकीछु एक पटक उसलाइ ल्याइदेउ” भनिछ । अनि उलाले टेलिफोन गरेर हामीलाइ बोलाइ । यो २००१ सालको कुरा हो, यता हामी पनि उनिहरुसंग सम्पर्क बिहिन हुदा के के हराए जस्तो अनुभव गरिरहेका थियौं । हामी तुरुन्तै दुबै छोराहरु लिएर अस्पताल भेट्न गयौं । केही समय पछि आमा चाहीले यो संसारबाट बिदा लिइ ।
उलाले हामीलाइ गरेको सहयोग, दिएका सल्लाहा र सुझाव अनगिन्ति छन् तर यहाँ एउटा मात्र घटना प्रस्तुत गर्ने अनुमति माग्दछु । १९९१ दिसम्बर महिनाको कुरा हो, छोरा यजुर टुकु टुकु हिड्न मात्र थालेको थियो । “तिमीहरु क्रिस्मस मान्दैनौ त्यसैले क्रिस्मस आउनु एक हप्ता अघिनै हामीकहाँ आउ” भनेर हामीलाइ निम्ता दिइ , त्यतिखेर मैले छोराको लागि एकजोर सस्तोखालको जुत्ता किनीदिएको थिंए, त्यही लगाइदिएर हामी उकहाँ गयौं । उसले यी जुत्ता कसले किनेको ? भनेर सोधी, करुणाले कसले हुनु शशीले नी भनेर जवाफ दिइ । उला बसीरहेको सोफाबाट जुरुक्क उठेर जुत्ता लगांउदै भनि ल हिंड बजार जाँउ । मैले सोधें किन ? उसले जवाफमा भनि तलाइ केही कुरा सिकाउन । सबैजना गाडीमा चढ्यौं र बजार तिर लाग्यौं । उसले गाडीमा फतफताउदै भनि तिमीहरुले ध्यान दिनु पर्ने कुरा केहो भने बच्चालाइ यस्तो सस्तो जुत्ता लगाइ दिन हुन्न, किन भने मान्छे जीवनभर खुट्टामा उभिएर बाँच्नु पर्छ, सस्तोे जुत्ताले खुट्टाको आकार बिग्रने मात्र हैन, खुट्टा कमजोर पनि बनाउन सक्छ ।
यसरी उसले हामी जर्मनीमा छंदा सम्म जीवनका हरेक पल पलमा ख्याल गर्थी । मानौ उसले एउटी दिदी, आमा वा काकीको भूमिका निर्बाहा गरिरहेकी थिइ । उसले हामीलाइ ख्याल गरेको देखेर उसको सहोदर भाइले समेत डाहा गथ्र्यो । कहिले काँही उलाले हामीलाइ बोलाउदा उ आफ्नी दिदीकहाँ आउदैनथ्यो, यद्यपी उ जोडिएको घरमा बस्थ्यो ।
यस अघि पनि म तीन पटक नराम्रोसंग रोएको छु । तीनै पटक मेरा प्रियजनले मलाइ झुक्यार कहिल्यै नफर्किने गरि छोडेर गए । म तेह्रबर्षको थिंए, मेरो प्रिय दाज्युले आफ्नो अन्तिम घण्टा आएको महसुष गरेपछि तानसेनको मिसन अस्पतालको सैयाबाट मालबोक केरा खान मनलागेको बहाना गरेर मलाइ बजार पठाउनु भयो । लगभग दुइ घण्टा पछि मालबोक केरा लिएर अस्पतालको कोठा भित्र छिर्दा खाली कोठा देखेर बेहोस भएंछु । केही घण्टा पछि म आफै अस्पतालको सैयामा सुतिरहेको पाएं ।
दाजुसंगको बियोगको घाउ पुरिएको थिएन, दुइ बर्ष पछि हजुरबुवाले हामीलाइ सदाका लागि छोडेर जानु भयो । त्यतिबेला भने मैले चार दिन सम्म नसुतेरै उहाँलाइ काखमा लिएर बसें । उहाँको चाहाना अनुसार देबी भागबत बाचन गरेर उहाँलाइ सुनाएं । पहिलाका दुइ दिन उहाँले मसंग कुराकानी गर्नु हुन्थ्यो । म स्कूल नगएकोमा चिन्ता ब्यक्त गर्नु हुन्थ्यो । मैले उहाँलाइ ठीक भए पछिमात्र स्कूल जाने तर अहिले बिरामी हजुरबाबा लाइ छोडेर स्कूल पनि नजाने भन्दा टपक्क आँसु चुहाउनु हुन्थ्यो । मेरो हात बेस्सरी कसेर समाउनु हुन्थ्यो । मैले उहाँलाइ मबाट टाढा जानबाट रोक्न चाहान्थें । चार दिन सम्म मैले हात समाएर राखें, तर एक दिन म भन्दा बलियो आएर मबाट मेरो हजुरबाबालाइ सदा सदाका लागि खोसेर लग्यो । सधै ज्ञान गुनका कुरा सुनाउने, साँझ सुत्नेबेलामा उपयोगी एवं शिक्षाप्रद कथा सुनाएर थुमथुम्याउने प्रिय हजुरबाबासंग सदा सदाका लागि बिदा लिनु पर्दा मेरा आँखा रोकिएनन्, मुटु भक्कानिएर आयो । मेरो विह्वल अवस्था देखेर मलाइ कसैले अंगालोमा बाध्यो र दलानबाट भित्र लग्यो । त्यस पछि केही समय सम्म के के भयो ? मलाइ आज सम्म पनि याद छैन ।
१९९७ मार्च महिनाको कुरा हो, म आफ्नो कार्यालयमा ब्यस्त थिएं । नेपालबाट टेलिफोन आएछ, रिसेप्सनिष्टले टेलिफोनको लाइन दिदै भन्यो शशी नेपालबाट तेरो टेलिफोन । मेरो ज्वाइ उताको लाइनबाट बोल्न थाल्नु भयो, उहाले कतै कुरा चपाउदै र कतै कुरा निल्दै भूमिका बाध्न थाल्नु भयो । मैले भनें किन यो सबै भूमिका प्रष्ट भन्नुस कुरा केहो ? उहाले मेरो पिताज्यूले हामी सबैलाइ छोडेर सदाका लागि बिदा भएको खबर सुनाउनु भयो । मैले आफुलाइ सम्हाल्न सकिन । फोनको रिसिभर त्यही फालेर स्टाफ कोठामा गएर घोप्टो मन्टो पारेर रुन थालें । मेरो त्यो अवस्था देखेर मलाइ हाकिमले घर पु¥याइ दियो । र उसले भन्यो शशी तलाइ ठीक भए पछि खबर गर्नु तब सम्म मैले तंलाइ छुट्टी मिलाइ दिने छु ।
शरीरको कुनै भाग खसेर हराए जस्तो, के के अपुरो भए जस्तो अनुभव हुन थाल्यो । छ महिना अघि नेपालबाट जर्मनी फर्किदा पिताज्युले भन्नु भएका वाक्यहरु पटक पटक दोहरिन थाले । “अव त म मरे पनि सन्तोषले मर्ने छु , नातीहरुलाइ देख्न नपाइ मरिने हो कि भन्ने डर थियो ।”
आफूले गरेको बचनबद्धता घाटीमा अड्केको महसुष भयो, बिदाइका बेला घरको ढोकामा उभिएर पिताज्युसंग बचनबद्धता गरेको थिंएं —बुवा म चैतमा फेरी आउने छु , त्यतिबेला दुइ हप्ता छुट्टी हुन्छ, पीर नगरिबक्सेला ।
त्यो चैत मेरो जीवनमा फेरी कहिल्यै नआउने गरि हरायो । त्यो चैतको एक महिना अघिनै पिताज्युले हामीलाइ कहिल्यै नभेट्ने गरि यो संसारबाट बिदा लिएर जानु भयो ।
यतिखेरै उला र हामीबीच केही असमझदारी पैदा भएको थियो । पिताज्युसंगको बियोगले नेपाल जाने हतारमा उलालाइ यो खबर गर्न बिर्सेछौं । हाम्रो उनिहरु प्रति बिश्वास नभएको भन्ने भ्रम परेछ र उसले हामीलाइ प्रश्टै भनि “यदि दुख, अप्ठारो, साँगुरो पर्दा हामीलाइ बिश्वास गर्दैनौ भने हामीबीच मित्रता रहीरहन उपयुक्त हुदैन । मित्रताको स्वाङ्ग पार्न जरुरी छैन । सुख सुबिधामा जति पनि साथी भाइ भेटिन्छन्, नभेटिए किनेर पनि ल्याउन सकिनछ । सही अर्थमा साथी भाइ त्यतिखेर चाहिन्छ, जतिखेर पीर मर्का र दुख र असजिलो परेको हुन्छ र सही साथी ती हुन् जसले दुखमा साथ दिन्छन् ।”
हो उला तिमी सत्य थियौ र अहिले पनि सत्य छौ, त्यसैले तिम्रा सल्लाहा, सुझाव र सहयोगलाइ आत्मसात गर्दै तिम्रो दिवंगत आत्माको चीर शान्तीको कामना गर्दछु ।
शुक्रबार ७ सेप्टेम्बर २०१२
अत्यन्त करुण भाव को यस लेख मा आफ्नोपन र मायाको कथाले म साह्रै भाव बिव्हल भएको छु। दिवङत आत्मा को चिर शान्ती को कामना गर्दछु !
R. Gurung
eauta dukhanta smaran, jasle pathaklai samet bhavuk banau 6.
We are extremely sorry to hear her demise, though we do not know her, it is quite natural to have the sad feeling of sorrow when someone- who has shown so much concern to you and your family- passes away.
We pray the almighty for the eternal peace of the departed soul!
साह्रै मार्मिक, म त पढ्दा पढ्दै ह्वाँ ह्वाँ रुन पो पुगेछु । कसरी लेख्नु हुन्छ यस्तो ।
Even though the news is sad, the presentation is excellent. I feel sorry to hear the news.
Sad News.Rest in Peace.
I am really sorry about दिबंगत आत्माको चीर शान्तीको कामना गर्दछु .
Kunjar
Very sad news I am really sorry, shashi sir
Yo sansmaran karunikatale bharieko payen maile. Shashi,atmeeyasambandhalai kunai barna, dharma, linga,sampradaya wa bhugolko seemale chhekna sakdaina.Hajurbuwa, buwa ra Bimal daiko ullekhle mero balyakalin smriti taja bhayera aayo.