के तपाईंले नेपाली भाषामा लेखिएका हास्यब्यङ्ग्य कथाहरु पढ्नु भएको छ ? किटानीसाथ भन्न सकिन्छ, पाउनुभएको छैन । किनकि नेपाली साहित्यमा हास्यव्यङ्ग्य कथा सर्जक दुर्लभप्रायः छन् । कुनै बेला भैरव अर्यालले यस क्षेत्रमा केही कलम चलाएका थिए । पछिल्लो समयमा लक्ष्मण गाम्नागे र हेटौडा निवासी आरसी रिजाल छिटपुट रुपमा देखिँदै छन् । अरुबाट पनि फाट्टफुट्ट लेखियो होला । तर हास्यब्यङ्ग्यका कथाहरुको संग्रह नै निस्कने साइत अहिलेसम्म जुरेको छैन भने पनि हुन्छ । यसबाट पनि नेपाली साहित्यको स्तर विश्व साहित्यको दाँजोमा कहाँ छ भनेर आँकलन गर्न सकिन्छ ।
यहाँ समीक्षा एवम् चिनारी प्रस्तुत गर्न लागिएको कृति ‘टेडो ऐना’ हास्यब्यङ्ग्य विधाका उनै महारथि भैरव अर्यालको बाह्रौ सन्तान हो । उनका हालसम्म ‘यो के हो ?’ (गीतिकाब्य) ०१६, ‘उपवन’ (कवितासंग्रह) ०१८, ‘राष्ट्रिय आव्हान’ (लघुकाब्य) ०१८ तथा ‘काउकुती’ ०१९, ‘जयभुँडी’ ०२२, ‘गलबन्दी’ ०२६, ‘इतिश्री’ ०२८, ‘दश अवतार’ ०३३ लगायतका कालजयी हास्यव्यङ्ग्य निबन्ध यसअघि नै प्रकाशित भइसकेका छन् । अझ त्यसमा पनि ‘टाउको’, ‘मपाईं’ र ‘जयभुँडी’ निवन्ध पढेर खित्का नछाड्ने शिक्षित नेपाली विरलै होलान् ।
‘टेडो ऐना’ अर्यालका छरिएर रहेका दुर्लभ रचनाहरुको संग्रह हो । यसमा नेपाली साहित्यमा विरलै लेखिने हास्यव्यङ्ग्य कथा ७ वटा, संस्मरण, निबन्ध, चिठ्ठी र एउटा प्रहसन गरी ३३ वटा रचना संग्रहित छन् । उनको जीवनकालमा विभिन्न पत्रपत्रिकामा छापिएका ती रचनाको संकलन माणिकरत्न शाक्यले र सम्पादनको जिम्मेवारी अर्यालका रचनामाथि नै विद्यावारिधि गरिरहेका स्रष्टा विष्णु प्रभातले सम्हालेका छन् ।
सम्पादक प्रभातले विधापिच्छेका रचनाको छुट्टाछुट्टै कृति बन्न नसक्ने स्थिति देखिएकोले अहिलेसम्म पुस्तकाकार रुपमा समेटिन नसकेका रचना संग्रहमा समावेश गरेको बताएका छन् । साथै ‘टेडो ऐना’ शीर्षकको छनोट पनि अर्यालको आफ्नै भएको जानकारी दिएका छन् । यसमा उनको पहिलो निबन्ध रचना मानिएको ‘सरकारले दुलो खोज्नुपर्ला’ पनि परेको छ । तर कृति पढिसक्दा अचम्म लाग्छ ! अर्यालद्धारा आजभन्दा झन्नै ४० देखि ५० वर्षअघि लेखिएका रचनाहरु अहिलेसम्म उत्तिकै सान्दर्भिक भएको देखेर ।
‘सरकारले दुलो खोज्नुपर्ला’, ‘प्रतिनिधिमण्डल फक्र्यो’ र ‘आधुनिक संकल्प’ शीर्षकका निबन्धहरुमा ब्राहृमणवादको धज्जी उडाइएको छ । एकअर्काका पूरकका रुपमा आएका यी निबन्धहरुमा उनले सरकार कसरी टुप्पीवाद र टपरीवादको शिकार हुने गरेको देखाएका छन् । साथै उनमा रहेको माक्र्सवादी चिन्तनको प्रभाव पनि प्रष्ट्याउँछन् । त्यस्तै ‘दौरा सुरुवाल नपठाइदिने भएँ’ नेपाली पहिरनमा आएको परिवर्तनलाई कसिलो कटाक्ष गरिएको छ ।
‘ढाकछोप मन्त्रालयलाई कुरौटे चाहिएको छ’ निबन्धमा अर्यालले विपिका पालमा भएको गण्डक सम्झौताको भण्डाफोर गरेका छन् । तर मन्त्रीहरुको चरित्र चित्रणमा अहिले पनि यो निबन्ध उत्तिकै सान्दर्भिक छ । त्यस्तै ‘सुटुक्क विभागको गुप्त विज्ञप्ति’, ‘दर्खास्त’ ‘पृथ्वीनारायण ! तिमी फेरि आऊ’ आदिमा भने कर्मचारीतन्त्रमा विद्यमान विकृतिको धज्जी उडाइएको छ । चरित्रगत विरोधाभाषलाई सूल्प रुपमा औंल्याइएको छ । ‘पूरक स्वस्थानी’ स्वस्थानी कथाको व्यङ्ग्यात्मक पुर्नलेखन हो । यसमा स्वस्थानी कथाले गरिरहेको अन्धविश्वास र कुसंस्कारको प्रबर्द्धनमाथि निर्मम कटाक्ष गरिएको छ ।
‘हावाको बिउ, हल्लाको हाँगा’ कृति भित्रको सर्वोत्कृष्ट रचना हो । प्रहसन विधाको यो रचनाले राजनीति विसंगति र धार्मिक पाखण्डको खोइरो उतारेको छ । लौकिक र अलौकिक पात्रहरुको संयोजन गरिएको यसमा हास्य प्रचुरता छ ।
कथाहरु पनि उत्तिकै रोचक छन् । ‘परिवर्तन’ कथामा व्यङ्ग्यात्मक शैलीमा सामन्ती शोषणको विरोध गरिएको छ । ‘यो पनि एउटा कथा हो’ मा दुर्घटनामा परेकाहरुको उद्धार गर्ने नाममा हुने लुट र विसंगत व्यवहारको चिरफार गरिएको छ । ‘अन्तर्वार्ता’ कथामा पत्रकारिता क्षेत्र भित्रका विकृतिको एउटा पाटो उप्काइएको छ । मालिक र श्रमिकबीचको चरित्रगत विरोधभाषलाई नङ्ग्याउँछ । ‘भाउजू’ कथामा पुरुषहरुमा हुने अवसरवादी चरित्र र एक्ली महिलालाई हेर्ने दृष्टिकोणलाई उजागर गरिएको छ । यौन मनोभावको विकृत रुप र शहरिया नारीहरुमा हुने धनवादको मोहको खिल्ली उडाइएको छ । जे होस् अर्यालका प्रत्येक रचनाले हामी नेपालीहरुको सनातन चरित्रको चित्रण गरेका छन् ।
भैरव अर्याललाई नजिकबाट चिन्न र स्तरीय हास्यव्यङ्ग्य साहित्यको स्वाद लिन चाहनेहरुका लागि यो कृति खुराक बन्न सक्छ । भैरव पुरस्कार गुठीले प्रकाशित गरेको १२८ पृष्ठको यस कृतिको मूल्य दुई सय मात्र छ । बजारमा जहाँसुकै नपाइए पनि साझा प्रकाशनका स्टलमा पक्कै फेला पार्न सक्नुहुन्छ ।
उक्त पुस्तक समीक्षा अनलाइनखबरमा प्रकाशित भएको हो । www.onlinekhabar.com गएर अरु बढी पढ्न सक्नुहुने छ