‘जमिन हाम्रो हो। यो युरोपेलीहरूको होइन र हामीले यो लिएका छौं। हामीले अधिकार भएका मानिसहरूलाई दिएका छौं। ती गोराहरू जो देशभित्र बस्न चाहन्छन् र खेती गर्न चाहन्छन्, तिनलाई स्वागत छ। तर, तिनीहरूले समानतामा आधारित भएर त्यो काम गर्नुपर्छ।’
धेरै भएको छैन, ३३ वर्षअघिसम्म जिम्बाबेको सत्तामा कालाहरूले सीधा नजरले हेर्न पनि पाउँदैनथे। यी तिनै रबर्ट मुगाबे हुन्, जसले कालाहरूलाई सत्ताको मालिक बनाए, अल्पसंख्यक गोराहरूका हातबाट सत्ता खोसे र जिम्बाबेमाथि उनीहरूको पूर्ण अधिकार स्थापित गराए। आज ३३ वर्षपछि सम्पन्न निर्वाचनमा तिनै मुगाबेले लगातार विजय प्राप्त गरेका छन्। पश्चिमाहरूका लागि यही नै टाउको दुखाइको विषय बनेको छ, जति पटक निर्वाचन हुन्छ, जिम्बाबेलाई स्वतन्त्र बनाउने जानु पीएफले जित्छ, यसका नेता रबर्ट मुगाबेले जित्छन्।
पश्चिमाहरूका लागि मुगाबे प्रिय छैनन्। किनभने, उनी तिनको औपनिवेशिक नीतिको कडा विरोध गर्छन्, कालाहरूका पक्षमा सर्वत्र वकालत गर्छन् र अधिकत जनताका पक्षमा आवाज बुलन्द गर्दछन्। उनी सीधासीधै पश्चिमाहरूलाई हाँक दिन्छन्। आदिवासी कालाहरूलाई अधिकार दिँदा तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयर कडा विरोधमा उत्रिए, युरोपेलीहरूले जिम्बाबेमाथि प्रतिबन्ध लगाउने त्रास देखाए। त्यसबेला यिनले हाकाहाकी भने–
‘गोरा मानिसहरू अफ्रिकाका आदिवासी होइनन्। अफ्रिका अफ्रिकीहरूका लागि हो। जिम्बाबे जिम्बाबेलीहरूका लागि हो। ….त्यसैले ब्लेयर तिमीसँग आफ्नो इंग्ल्यान्ड राख र मलाई मसँग जिम्बाबे राख्न देऊ। …हामी युरोपबाट हामीमाथि लगाउन खोजिएको प्रतिबन्धप्रति मतलब गर्दैनौं। हामी युरोपेली होइनौं।’
३३ वर्षपछि पनि अनुमोदन
रबर्ट मुगाबे जिम्बाबेका स्वतन्त्रता सेनानी हुन्, जसले सन् १९८० मा बेलायती गोराहरूका हातबाट शासन खोसेका थिए। त्यसपछि सात वर्ष उनी जिम्बाबेको प्रधानमन्त्री बने। सन् १९८७ यता उनी लगातार राष्ट्रपति छन्। हालै सम्पन्न निर्वाचनमा पनि उनले ६१ प्रतिशत मत हासिल गरेर विजय प्राप्त गरेका छन्। सन् २००९ को निर्वाचन विवादित बनेपछि त्यहाँ संयुक्त सरकार थियो। त्यतिबेला पहिलो चरणमा विपक्षी नेता मोर्गन भानगिराईले मुगाबेभन्दा केही बढी मत ल्याए। तर, त्यहाँको संविधानअनुसार जितका लागि त्यो मत पर्याप्त थिएन। दोस्रो चरणको निर्वाचन भने उनले बहिष्कार गरे र त्यहाँ मुठभेड सुरु भयो। मुगाबे र मोर्गनबीच शक्ति बाँडफाँटमा सहमति बन्यो र मोर्गन प्रधानमन्त्री भए।
यस पटक त्यहाँ राष्ट्रपति र संसद्को निर्वाचन सँगै भएको थियो। मुगाबेले ६१ प्रतिशत मत पाएर राष्ट्रपतिमा जितेका छन् भने उनको संसद्मा उनको दल जानु पीएफले ४९ को बदलामा १ सय ५८ सिट ल्याएर जितेको छ। आफैँ सत्तामा भएर गराएको निर्वाचनलाई मोर्गनले झालझेलपूर्ण र लुटको संज्ञा दिएका छन्। स्वाभाविक छ, त्यसलाई अमेरिका र बेलायतले साथ दिएका छन्।
क्रान्तिको विरासत
रबर्ट मुगाबे र जानु पीएफ त्यति लोकप्रिय हुनुका पछाडिको एउटै कारण छ, उनीहरूले जिम्बाबेलाई साम्राज्यवादी पन्जाबाट मुक्त गराए। अत्यन्त थोरै संख्यामा रहेका गोराहरूका प्रतिनिधि इयान स्मिथका हातबाट सत्ता मुगाबेले खोसेका थिए। त्यहाँको परिवर्तनको स्वरूप पनि गजबको छ। उत्तेजनापूर्ण भाषण गरेको भन्दै गोरा सरकारले मुगाबेलाई सन् १९६४ मा जेलमा हाल्यो। जेलभित्रैबाट उनले जानु पार्टीमा पकड जमाइसकेका थिए। १० वर्षपछि उनी रिहा भए र मुलुकमा गृहयुद्ध चर्क्यो। त्यतिबेला रोडेसियाका नामले चिनिने त्यस मुलुकलाई मुक्त गराउन जानु र पीएफ दुई पार्टी मिलेर गुरिल्ला युद्ध तीव्र पारे। छिमेकी जाम्बिया, मोजाम्बिक र अंगोलालाई आधार बनाएर युद्ध तीव्र बनाएपछि गोरा सरकार सन् १९७९ मा सम्झौता गर्न बाध्य भयो। लन्डनमा सम्पन्न सम्झौताअनुसार बेलायती सरकारकै नेतृत्वमा सन् १९८० को जनवरीमा त्यहाँ निर्वाचन भयो र जानु पार्टीले अत्यधिक बहुमत ल्यायो। त्यसयता यो पार्टी सत्तामा रहिआएको छ।
बन्दुकको बदला बन्दुक
रबर्ट मुगाबे बन्दुक र मत सँगँगै जान्छन् भन्ने कुरामा विश्वास गर्दछन्। बन्दुकबाट सम्झौतामा पुगेको र मतबाट सत्तामा आएकाले पनि होला, उनलाई बन्दुकमाथि साह्रै धेरै विश्वास छ। उनले भनेका छन्–
‘हाम्रा मतहरू बन्दुक सँगसँगै जानुपर्छ। अन्ततः हामीसँग जति मतहरू छन्, ती सबै बन्दुकका उत्पादन हुन्। बन्दुक, जसले मत उत्पादन गरेको थियो, त्यो यसको संरक्षकका रूपमा रहनुपर्छ। जनताको मत र जनताको बन्दुक कहिल्यै पनि छुट्याउन नसकिने जुम्ल्याहा हुन्।’
मुगाबेको जीवन उतार–चढावयुक्त छ। उनी जेलमै थिए, सन् १९७४ मा उनले आफ्नै पार्टीका नेता सिथोललाई पदमुक्त गरेका थिए। त्यतिबेला जानु अर्थात जिम्बाबे अफ्रिकन नेसनल युनियनका नेता सिथोललाई हटाएर मुगाबेले पार्टी हातमा लिएपछि आन्दोलनले गति लिएको थियो। उस्तै–उस्तै विचार राख्ने पेटि्रओटिक फ्रन्ट पनि त्यतिबेलाको लोकप्रिय पार्टी मानिन्थ्यो। यी दुवै पार्टीको झुकाव कम्युनिस्ट विचारधाराप्रति थियो। यी दुवै पार्टीले स्वतन्त्रता आन्दोलन पनि एकसाथ लडे। सन् १९८० मा सम्पन्न निर्वाचनमा जानु पार्टीभन्दा पछि यही पीएफ पार्टी थियो। मुगाबेले पीएफका नेता नाकोमोलाई मन्त्रिपरिषद्मा पनि सामेल गराएका थिए। तर, दुई वर्षपछि नै उनलाई बर्खास्त गरे। पछि त्यो पार्टीमाथि जानुबाट थिचोमिचो पनि भयो। विचारमा नजिक रहेका ती दुई पार्टीका बीचमा एकता भयो र मुगाबेको नेतृत्वमा पार्टीको नाम जानु पीएफ
कायम भयो।
पत्नीका नजरमा असल प्रेमी
‘म साह्रै सानी थिएँ, जब म राष्ट्रपति मुगाबेसँग बस्न थालें। तर, उहाँ साह्रै धैर्यवान हुनुहुन्छ। उहाँले मलाई एउटा आइमाईका रूपमा विकास हुन दिनुभयो र आज म यहाँ छु।’
रबर्ट मुगाबेकी श्रीमती ग्रास मुगाबेले बालविकास केन्द्र उद्घाटन गर्दा व्यक्त गरेका यी भनाइ रोचक छन्। किनभने, ग्रास पहिला मुगाबेकी स्वकीय सचिव थिइन्। अहिले मुगाबे ८९ वर्षका भए भने ग्रास चाहिँ ४८ वर्षकी भइन्। उनीहरूका बीचमा ४१ वर्ष फरक छ। ग्रास मुगाबेकी दोस्री श्रीमतीका रूपमा भित्रिएकी हुन्। उनले पहिलो विवाह घानाकी स्यालीसँग गरेका थिए, जो जिम्बाबेमा साह्रै लोकप्रिय मानिन्थिन्। मिर्गाैला रोगका कारण सन् १९९२ मा उनको निधन भएको चार वर्षपछि मुगाबेले ग्राससँग विवाह गरेका थिए। ७३ वर्षको उमेरमा ग्रासबाट मुगाबेकी छोरी जन्मेकी छन्।
ग्रासको जीवनलाई मुगाबेले नजिकबाट नियालेका थिए। मुगाबेकी स्वकीय सचिव हुँदाहुँदै ग्रासको विवाह एकजना विमान चालकसँग भएको थियो। स्यालीको मृत्यु लगत्तै उनले सम्बन्ध विच्छेद गरिन् र मुगाबेसँग विवाह गरिन्। बाहिरबाट हेर्दा र प्रचार गर्दा मुगाबेलाई एक जना क्रूर शासक र कठोर व्यक्तिका रूपमा चित्रित गरिन्छ। तर, ग्रासका अनुुसार, मुगाबे कमलो मनका र परिवारलाई अत्यन्तै माया गर्ने स्वभावका छन्। गाउँमा एक जना सिकर्मीको छोराका रूपमा जन्मिएका मुगाबेलाई अफ्रिकाका काला जातिका ठूला नेता मानिन्छ। त्यही भएर पनि होला, भर्खरै सम्पन्न निर्वाचनमा पश्चिमाहरूले धाँधली भएको आरोप लगाए पनि अफ्रिकी युनियनले पूर्ण रूपमा शान्तिपूर्ण र निष्पक्ष भएको बताएको छ। (बुधबार साप्ताहिकबाट)
३३ वर्षपछि पनि अनुमोदन
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…