नेपाली कांग्रेसका सभापति सुशील कोइराला चल्तीका नेताहरूमध्ये उमेर र अनुभव दुवैले सबैभन्दा पाका हुन् । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसको बागडोर सम्हालिरहेका कोइरालाको व्यवहार भने बेलाबखत कच्चा देखिने गरेको छ । अमेरिकी राजदूतसित हालै भेटेर उनले गरेको अनुनयले यही देखाउँछ । कोइरालाले अमेरिकी राजदूतसित एमाओवादीलाई पुराना सहमति पालना गर्ने विषयमा दबाब दिन आग्रह गरे । यसले एकातर्फ कोइरालाको बच्कना व्यवहार प्रदर्शन भएको छ भने यसले नेपाली राजनीतिको परनिर्भरतालाई फेरि एकपटक उजागर गरेको छ । आफ्नो देशभित्रको समस्या आफूले सल्टाउन नसकेर अर्को देशका कूटनीतिक प्रतिनिधिलाई हस्तक्षेपका लागि खुला आमन्त्रण दिनु हास्यास्पद र लज्जास्पद विषय हो । भेटवार्तामा कोइरालाले माओवादीकै कारण राजनीति सहमतिको हलो अड्किएको गुनासोसमेत सुनाएका थिए । बदलामा अमेरिकी राजदूतले नेपालका राजनीतिक दलहरूले चाहेको जस्तोसुकै सहयोग गर्न पनि अमेरिका तयार रहेको आश्वासन फ्याँके ।
कुनै पनि देशका सामान्यभन्दा सामान्यस्तरका कूटनीतिक प्रतिनिधि अथवा राजदूतले नेपालका शीर्ष नेताहरूसित निर्वाध भेट गर्ने अनि नेताहरूले नेपालको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने गलत परम्परा बसेको छ नेपालमा । त्यस्तो भेटका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने भए पनि त्यो नियम केवल कागजमा सीमित छ । भेट वार्तामा प्रतिनिधिसित एक–अर्को दलविरुद्ध आक्षेप लगाउन अघि सर्छन् हाम्रा नेताहरू । सामान्यता विदेशी प्रतिनिधिसितको भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी हुनुपर्ने हो । तर, नेपालका हकमा त्यस्तो हँुदैन । नेपालका नेताले एकतर्फी रूपमा आफ्नो देशको राजनीतिक अवस्थाबारे बेलिबिस्तार लाउने अनि विदेशी प्रतिनिधिले सहमतिमा अघि बढ्न एक डोज उपदेश दिने संस्कार नै बसिसकेको छ । अर्को देशको प्रतिनीधिलाई आफ्नो देशको आन्तरिक राजनीतिबारे बेलिबिस्तार लाउन कति आवश्यक छ ? कत्ति पनि छैन । तर, विदेशीहरूको गुलामी गरे मात्र सत्तामा पुगिन्छ भन्ने दरिद्र मानसिकता बोकेका दल र नेताहरूका लागि यो अत्यावश्यक छ । छिमेकी राष्ट्रहरूले नेपालप्रति गर्ने हेपाहा व्यवहार यसकै परिणति हो भन्दा फरक पर्दैन ।
नेपालको राजनीति सपार्ने जिम्मा यहीँका राजनीतिक दलहरूको हो । बाहिरी हस्तक्षेप आफैँ निम्त्याउने अनि विदेशी हस्तक्षेप भयो भनेर ठुल्ठूलो स्वरमा आफैँ चिच्याउने नेपाली राजनीतिकर्मीको चरित्र आमरूपमा परिचित भइसकेको छ । कांग्रेस सभापति कोइरालाको अमेरिकी राजदूतसितको भेट एउटा नमुना मात्रै हो । यस्ता प्रकृतिका भेटघाट र कुराकानी दिनहँुजसो भइरहेको हुन्छ । भेटघाटमा द्विपक्षीय सम्बन्धका विषयमा विरलै छलफल हुन्छ । छलफल हुन्छ केवल नेपालको आन्तरिक राजनीतिबारे । नेपालको शान्तिप्रक्रियाप्रति विदेशी राष्ट्रहरूको चासो र सद्भाव आफँैमा आपत्तिजनक होइन । त्यसलाई नकारात्मक रूपमा लिइहाल्नु आवश्यक छैन । तर, चासो र हस्तक्षेपमा फरक हुन्छ । चासो निवारण गर्ने बहानामा आन्तरिक राजनीतिका आन्द्राभुँडी सबै उनीहरूसामु पस्किनु आवश्यक हँुदैन । त्यसमाथि एक–अर्को राजनीतिक दलमाथि आरोप/प्रत्यारोप गर्नु वा अरूलाई दबाब दिन आग्रह गर्नु झनै आपत्तिजनक कुरा हुन् ।
राजनीतिक दलहरूबीचको आन्तरिक विवाद समाधान दलहरू आफैँले गर्नुपर्छ । यसका निम्ति समझदारीमा आउन अरूले दबाब दिएर हँुदैन । दलहरूबीच पछिल्लो समय समझदारीका निम्ति क्रियाशीलता बढेको छ । यसलाई निर्णायक टुंगोमा पुर्याउन निरन्तर संवाद र छलफल आवश्यक छ । नेताहरूले पटक–पटक आफ्नो देशको आन्तरिक समस्या आफैँले समाधान गर्ने भाषण त गर्छन् तर समाधान गर्ने तत्परता र अठोट उनीहरूमा देखिँदैन । तर, गर्ने आखिर दलहरूले नै हो । विदेशीको मुख नताकीकन आफ्नो देशको समस्या हल गर्ने सोच उनीहरूले विकास गर्न सक्नुपर्छ । विदेशी मित्रराष्ट्रहरूको समर्थन वा सद्भाव सधँै चाहिन्छ । आवश्यक पर्दा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग लिन सकिन्छ, जसरी विगतमा संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा प्रत्यक्ष सहयोग गरेको थियो । विदेशी राष्ट्र र निकायहरूको सहयोगको एउटा सीमा हुन्छ । त्यो सीमाभित्र उनीहरूलाई प्रवेश गराउनु कदापि हँुदैन ।
शुशिल कोइराला लाइ दुइवटा पिर परेको हुन सक्छ, प्रथम आफुलाइ भारतले बिश्वास नगर्ने अर्को भर्खरै अमेरिकाले माओबादीलाइ टेरोरिष्टको लिष्टबाट हटाएको त्यसैले उनले अमेरिकालाइ पुकारेको हुन सक्छ जे होस् यसरी बिदेशीलाइ आफ्नो भित्री कुरा दिनु राम्रो होइन । शुशिल कोइरालाले यो कुरा बुझ्नु पर्दछ ।
शेर बहादुर देउबा भए सिधै मलाइ प्रधानमन्त्री बनाउ भन्ने थिए धन्न शुशिल पदको लोभी र राजनैतिक पापी छैनन् । जे होस् शुशिल दा कृपया यसो नगर्नुस् । अहिले सम्मको इमान पानीमा डुब्न नदिनुस् ।
देउबा र शुशिलको यसै पनि झगडा छ अव झन ठुलो झगडा हुने भयो अमेरिकीहरुको चाकरी गर्ने र सी आइए संग एजेन्टको काम गर्ने जिम्मा लिएका त शेर बहादुर देउबाले हो नी । शुशिल कहाँबाट त्यहाँ पुगेछन् ?
अब फेरी जी मी कार्टरको यात्रा नेपालमा हुने भो । शेर बहादुर लाइ सम्झाउन र अमेरिकाले पनि शुशिललाइ पत्याउदैन भन्ने देखाउन । बिचरा शुशिल
शुशिलको प्रधानमन्त्री हुने पालो कहिल्यै नआउने भो । अव फेरि किन भारतलाइ चिढाउन अमेरिकी राजदूत कहाँ पुग्नु परेको ?
यति धेरै शुशिलको चाकरी किन गरेका हँ, यदि शेरबहादुर देउबाले देखे भने अनाहकमा शुशिललाइ दुख दिन्छन् अनि आफ्ना चम्चा चपेटा लिएर भक भक गर्न थाल्छन् क्या छन् बा यी भकभके ।