सर्वथा अप्रत्याशित र स्तब्ध पार्ने घटना थियो, सार्वजनिक स्थलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्नु, त्यो पनि आफ्नै दलका अन्य नेता र दर्जनौं कार्यकर्ताको उपस्थितिबीच । मंसिर १ गते त्यस्तो दु:साहस गर्ने व्यक्ति बाग्लुङनिवासी २६ वर्षीय पदम कुँवर हुन्, जो संयोगले विगतको माओवादी सशस्त्र द्वन्द्वकालमा सक्रिय रूपले संलग्न लडाकु परिवारका एक हतास सदस्य पनि थिए । यतिबेला फेरि उनको चर्चा किन भइरहेको छ भने दाहाललाई थप्पड हानेपछि हिरासतमा रहेका उनलाई सोमबार सार्वजनिक अपराध मुद्दामा काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ हजार रुपियाँ धरौटी माग गर्दा उनले त्यो रकम जम्मा गर्न नसकी केन्द्रीय कारागार चलान भए । तर, लगत्तै यो समाचार सार्वजनिक हुनासाथ कुँवरलाई सहयोग गर्नेहरू धेरैतिरबाट सतहमा देखा परे । यसले गर्दा उनी मंगलबार धरौटी रकम जम्मा गरी तारेखमा छुट्ने सम्भावना छ । यो वास्तवमा वर्तमान राजनीति र ‘राजनीतिका खेलाडी’ नेताहरूप्रतिको तीखो सामाजिक व्यंग्य पनि हो ।
यहाँनिर, चिन्ता केवल घटनामा मात्र होइन, प्रवृत्तिमा हो । किनभने यसअघि पनि विभिन्न कालखण्डमा रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, झलनाथ खनाल, झक्कु सुवेदी, सुशील कोइराला र पछिल्लोपटक दाहाल यस्तो आकस्मिकताका भुक्तभोगी बन्न पुगेका छन् । त्यसो त बगदादको पत्रकार सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि जुत्ता प्रहार गर्ने इराकी पत्रकारको आक्रोशसित नेपालका ती कुनै पनि घटनाको तुलना हुन सक्दैन, यद्यपि यहाँ पनि केही आक्रोश र हतासाको भाव भने निश्चय नै अभिव्यक्त भएको हो ।
प्रश्न, कुँवरले अध्यक्ष दाहाललाई किन थप्पड हाने भन्ने मात्र होइन, यो प्रवृत्ति कसरी यस रूपमा अभिव्यक्त भइरहेको छ भन्ने हो । स्वाभाविक हो– जब नेताहरू आश्वासनका गुलिया पोका बाँड्छन्, नेपाललाई केही वर्षमै सिंगापुर बनाइदिने गुड्डी हाँक्छन् र रोजगारी तथा उडन्ते विकासका हरिया बगैंचाको सयर गराउँछन् अनि पछि तीमध्ये कुनै कुरा पूरा गर्न सक्दैनन्, त्यतिबेला जनता हतासा र आक्रोशको रापमा रापिन्छन् । गाँस, बास र कपासको आशामा रुमल्लिइरहेका उनीहरूको निराशा कतै असंयमित रूपमा त कतै अभद्र र अप्रत्याशित जुनकुनै रूपमा जुनै स्थान औ समयमा अभिव्यक्त हुनसक्छ । के यस्ता परिदृश्य र घटनाहरूमा ती नेता र राजनीतिक दलहरू जिम्मेवार छैनन्, जसले मुलुकमा कहिल्यै एउटा प्रशंसनीय र उदाहरणीय राजनीतिक संस्कारको जगसम्म पनि बसाल्न सकेनन् ?
मुलुकको दुर्भाग्यले गर्दा नेपाली जनताले इतिहासको लामो कालखण्ड मध्ययुगीन बर्बरतामा कूपमण्डुक भएरै बिताउनुपर्यो । राणाशाही ढलेर संग्रहालयमा थन्किए पनि स्थापित सामन्ती कुलीनतन्त्रले ज्यू, हजुर र ख्वामित् भन्नुपर्ने गरी बसालेको घरानियाँ वर्गीय संस्कारले लोकतन्त्रका अगुवाहरूलाई पनि त्यसको प्रभावबाट मुक्त हुन दिएन । यसले गर्दा धेरैजसो दलका नेता आफूलाई छोटे राजा भनाउन र अन्य दलका जति सबैलाई ‘राजनीतिका अनागरिक’ बनाउन नजानिँदो गरी मानसिक कसरतमा लिप्त रहे । सामन्तशाहीको त कूटनीति नै हो, आफूबाहेक अन्य कुनै पनि व्यक्तिलाई आमजनमानसमा स्थापित र सम्मानित हुन नदिनु । यसै प्रवृत्तिको पनि परिणाम हो– हिजो विश्वेश्वरप्रसाद कोइरालालाई बाँचुन्जेल उनकै भाइ मातृकासमेत तमाम विपक्षीले त्यो सम्मान कहिल्यै दिएनन्, जुन आदर र सम्मानका उनी सच्चा हकदार थिए । पुष्पलाल श्रेष्ठ, सुवर्णशमशेर, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला प्रभृत्ति तमाम नेताहरू यस्तै अराजनीतिक संस्कारका स्वाभाविक सिकार भए । राजनीतिक असम्मानलाई अन्तत: पचाउन नसकेर गणेशमान र कृष्णप्रसादले त आफ्नो त्यो राजनीतिक पार्टीबाटै आफूलाई अलग गरेका थिए, जुन पार्टीका लागि उनीहरूले जीवन–सर्वस्व नै अर्पिंदै आएका थिए । राजनीतिक संस्कारहीन समाज नै भए पनि त्योभन्दा ठूलो विडम्बना अरू केही हुन सक्दैन ।
अहिलेका प्राय: सबै दल र नेताहरूको अवस्था पनि उस्तै देखिँदै छ । कांग्रेस, एमाले, अनेक नामधारी माओवादी, मधेसवादी, राप्रपा र अन्य तमाम झिना–मसिना दल एवं तिनका नेताको हविगत एउटै छ । अगाडि हुँदा सम्मान दर्शाउने र पछाडि पर्ने बित्तिकै दलभित्रै पनि गुटबाजी गरेर र दलबाहिर त विरोधी दलीय नेता भनेर अनादर भाव व्यक्त गर्ने सामान्य चलन जस्तै छ । त्यसमाथि नौथरी दलका अठारथरी मुखपत्र बनेका सञ्चारमाध्यम छन् जसले यही अनादर र असम्मानको भावनालाई नै मलजल गरिरहेका हुन्छन् । यस्तो अवस्थामा कार्यव्यवहार, आदर र सम्मानको भाव सर्वप्रथम नेता र तिनका दलहरूबाटै सुरु हुनुपर्छ । यसले मात्र सहिष्णुता र संयमपूर्ण अनुकरणीय राजनीतिक संस्कारको जग बसाल्न सक्छ, जहाँ अन्य कुनै पदम कुँवरहरू हठात् सतहमा अवतरित हुन आउने छैनन्
सौर्य दैनिकको सम्पादकीय बाट
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…