शशी पौडेल
रबिन्द्र मिश्र लगभग दुइहप्ता बेलायतमा हेल्प नेपालको प्रचार प्रसार पछि नेपाल फर्केका छन् । उनलाइ बेलायत स्थित नेपाली समुदायले बिभिन्न ढंगले चिन्दछन् । प्रथम बिबिसी नेपाली सेवाका रबिन्द्र, द्धितीय हेल्प नेपाल नामक कल्याणकारी संस्थाका संस्थापक रबिन्द्र, र फर्किएका रबिन्द्र ।
सामान्यतया मानिसहरुको दुइ प्रकारका परिचय हुने गर्दछन् । ब्यक्तिगत र पेशागत । ब्यक्तिगत मान्छे कहाँ जन्म्यो, कहाँ हुर्कियो भन्ने जस्ता जन्म कुण्डली र पेशागत, उसले गर्ने पेशा, जीबिकोपार्जनका निम्ति बनाएको क्यारियर तर रबिन्द्र मिश्रको बेलायतमा ब्यक्तिगत जन्म कुण्डली बाहेक अन्य परिचय पनि छन् । यो कसरी सम्भव भयो ? यो प्रश्नको उत्तर खोज्नु भन्दा बिषय बस्तु तिर लाग्नु उपयुक्त हुने छ ।
बिबिसी नेपाली सेवाका रबिन्द्र मिश्र, बिबिसी नेपाली सेवाले रबिन्द्र बिश्रलाइ बिश्वभर रहेका नेपालीहरुबीच पुर्यायो । मानिस जति चर्चित हुदै जान्छ त्यत्ति उसका प्रसंसक र आलोचक पनि थपिदै जान्छन् । उनका आलोचकहरुले उनलाइ आफुलाइ मन नपर्ने मान्छेसंग अन्तवार्ता लिदा ओठ कमाउन्नन्, उनको जीब्रो लरखराउन्नन्, मान सम्मान सबै बिर्सिन्छन् , भनेर आलोचना पनि गर्दछन् ।
मानिस उच्च बिबेकशील र चिन्तनशील प्राणी हो । त्यसैले उसमा स्वभाबैले मन पराउने र मन नपराउने, कम वा बढी मन पराउने अधिकार हुन्छ । त्यसमा पनि पत्रकारिता पेशा अपनाएका ब्यक्तिहरु सधै गुलिया भैरहन सक्तैनन् । उनिहरु तिता र पिरा पनि हुने गर्दछन् । प्राय खरा र चर्का स्वभावका हुने गर्दछन् । रबिन्द्र मिश्रले मात्र होइन हर पत्रकारले आफ्नो पत्रकारिताको कर्तब्य पालन गर्दै जिम्मेवारी बहन गर्न सक्नु पर्दछ । जनतालाइ राजनितीबारे सुसुचित गर्नु, बिषयबस्तुलाइ छलफलमा ल्याउनु उसको जिम्मेवारी हो । ब्यक्तिको अधिकारको रक्षा गर्नु, कर्तब्यबोध गराउनु र कुराकानी गर्ने क्रममा उसको रक्षाकवच बन्नु पत्रकारको कर्तब्य हो ।
जसरि अन्य बिज्ञान जस्तै सामाजिक बिज्ञान, स्वास्थ्य बिज्ञान, टेक्नोलजी आदीको अनुसन्धान र बिकाश हुदै जान्छ त्यसरीनै पत्रकारिताको पनि अध्ययन र बिकाश हुदै गएको छ । सोह्रौ एवं सत्रौं सताब्दीको कुरा गर्ने हो भने पत्रकारिता आदेशात्मक थियो । कसैले आदेश दिन्थ्यो र त्यो सार्बजनिक हुन्थ्यो । सरकारले जनताका कुरा पनि सुन्नु पर्छ भन्ने थाहा न जनतालाइ थियो नत सरकारलाइ । तर उन्नइसौं सताब्दीको मध्यतिर जव पत्रकारितामा उदारबादी(लिबरल) सिद्धान्तको बिकाश भयो त्यतिबेला देखि राजनैतिक स्वतन्त्रता र शिक्षाको बिकाश संग संगै यसको पनि बिकाश भयो र पत्रकारिता जनताको छलफलका लागि उपयोगी बन्नु पर्ने आवश्यकताको महसूष गरियो । तर पनि अझै यो जनताको सहयोगी हुनु भन्दा सरकारलाइ मात्र सहयोग गर्ने यन्त्रका रुपमा बिकशित हुदै आयो । अझै पनि पत्रकारले कुनै राजनितीज्ञसंग कुराकानी गर्दा आफूलाइ सानो पार्नु, आबश्यकता भन्दा बढी नरम हुनु पर्ने स्थिती थियो । जसका कारण सार्बजनिक रुपमा ल्याउनु पर्ने कुरा खोदल्न सहज थिएन । तर जव म्याक कुवालीको मास मेडिया कम्युनिकेशन बारेको सोध सार्वजनिक भयो त्यस पछि मात्र पत्रकारहरुलाइ राज्य बिकाश र राज्यको स्थाइत्वका लागि संचार सकारात्मक हुनु पर्छ, राजनीती संग संगै उभिन र राजनीतिलाइ टेवा पुर्याउन सक्नु पर्छ, ब्यक्तिबादिता बिरुद्ध सामाजिक संलग्नता हुनु पर्छ, समग्रमा पत्रकार एक मेडिएटर हुनु पर्छ भन्ने कुराको ज्ञान भयो । यद्यपी पत्रकारितामा त्यस्तो कुनै रिसीपी हुदैन जस्तै तरकारी पकाँउदा हाल्नु पर्ने मर मसला र नून खुर्सानीको मात्रा भनिए जस्तो । यो त देश काल परिस्थिती, राज्यब्यवस्था, राजनैतिक स्थाइत्व, मुलुकको आर्थिक अवस्था, उत्पादन र बितरणको सिद्धान्तमा बढी आधारित हुन्छ ।
केही समय अघिको कुरा हो, मेरा एक जना मित्रले अन्य साथीहरु लगायत मलाइ पनि चिया पानका निम्ति निम्त्याएका थिए । संयोगबश त्यसको एक दिन अघि रबिन्द्र मिश्रले न्यूज २४ का प्रेम बानियाद्धारा पूर्व राजा ज्ञानेन्द्रसंग गरेको कुराकानी झण्डै दश मिनेट बीबीसी नेपाली सेवाबाट प्रसारण गरेका थिए । त्यस पछि तगत्तै उनले लगातार माधब नेपाल, कृष्ण सिटौला लगायत तीन नेताहरुसंग कुराकानी गर्दै राजतंत्रबारे खरोसंग सोधेका थिए । जहाँ केही मान्छे जम्मा हुन्छन् त्यहाँ कुराकानी गर्न एउटा बिषय बस्तु चाहिन्छ । त्यसैले होला जम्मा भएका मध्य एक जनाले उक्त प्रसारणको प्रसंग उठाउदै मसंग प्रश्न गरे “हैन रबिन्द्र मिश्र किन राजाबादी ?” मैले उत्तर भेट्न सक्ने कुरै भएन । यदि उनिहरुलाइ त्यस्तो लाग्छ भने यो प्रश्न रबिन्द्र मिश्रलाइ पो सोध्नु पर्छ भन्ने जवाफ दिने बारे सोचिरहेको थिंए । त्यसैबीच अर्का ब्यक्तिले थपे “राजतंत्र मरिसके पछि पनि यो नाटक किन फेरी?”
दोस्रो प्रश्नको उत्तर भेटाउन मलाइ कुनै गाह्रो भएन । पहिलो प्रश्नको उत्तर यदि छ भने रबिन्द्र मिश्रले मात्र दिन सक्लान, किन भने यो नितान्त उनका बारेमा थियो तर दोस्रो भने राजतंत्र जिउदै वा मरेको भन्ने सार्वजनिक प्रश्न ।
त्यतिबेलाको बसाइको परिस्थिती शब्द उच्चारण गरेर चित्त बुझाउन सक्ने अवस्था नभएको र ब्यबहारिक एवं प्रयोगात्मक सैली अपनाउनु पर्ने बुझ्न मलाइ कत्ति गाह्रो परेन र म बसिरहेको ठाँउबाट जुरुक्क उठेर प्रश्नकर्ता साथीलाइ हात तान्दै उनको करेंसा बारी तिर लगें । उनलाइ त्यहाँ उम्रेका झार पतिङ्गर देखाउदै भनें ल हेर्नुस यो तपाइको करेसा बारी हो प्रकृतिले यहाँ थुप्रै झार बिरुवा उमार्दछ, ती मध्य तपाइले नचिन्ने वा तपाइको बिचारमा तपाइलाइ काम नलाग्ने जती उखलेर फाल्नु हुन्छ । त्यस्तै हामी पत्रकारले पनि बिभिन्न बिषय बस्तु तपाइ पाठक एवं श्रोताबीच छरिदिन्छौं । यसरी छर्ने क्रममा सकभर बहुसंख्यक समुदायको चासोका बिषय बस्तु खोज्ने प्रयास भने अवश्य गर्दछौं । सायद अहिले नेपालीहरुको मन भित्र एउटा अनौठो मनोबिज्ञानको बिकाश भएको छ, त्यो हो कतै अहिलेको यो लोकतन्त्र भन्दा राजतन्त्र त ठीक थिएन ? कमसेकम त्यतिबेला यति धेरै राजाहरु थिएनन्, यति धेरै मनपरीतन्त्र थिएन भन्ने एक प्रकारको प्रश्न पलाएको छ । सायद यसैको उत्तर खोज्ने प्रयास थियो रबिन्द्र मिश्रको त्यो कुराकानी । मैले यति भन्दा भन्दै अर्का मित्रले थपे “हैन राजतन्त्र त मरिसक्यो तर पनि यसबारे किन यति धेरै चर्चा आइरहनु पर्ने ?”
मैले मित्रलाइ शान्त हुने आग्रह गर्दै शुरु गरें राजतन्त्र मरेको छैन र यो मर्नेवाला पनि छैन । हो यदि तपाइले नेपालमा अहिले राजतन्त्र सत्तामा छैन भन्नुहुन्छ भने म सहमत हुने छु । उनले जंगिदै भने “ए त्यसो भए तपाइ पनि राजतन्त्र ब्यूझाउन चाहानुहुन्छ ?”
होइन मैले त्यसो भनिरहेको छैन बरु तपाइनै त्यसो भन्दै हुनुहुन्छ । यदि मलाइ दुइ मिनेट समय दिनुहुन्छ भने मात्र कुरा सुरु गर्ने छु मैले भनें । “दुइ मिनेट मात्र होइन चार मिनेट पाउनुहुन्छ कमसे कम कसैलेत यो मरी सकेको राजतन्त्रलाइ बिउताउन खोज्नेहरुका बिरुद्ध कलम चलाउनु पर्यो नी ” उनले भने ।
मैले तर्क गरें, राजतन्त्र एउटा सिद्धान्त हो जस्तै माक्र्सबाद, पूजीबाद भने जस्तै एउटा बाद हो । यो संसारको राजनैतिक प्रणालीको पुरानो आदिम साम्यबादी काल पछि बिश्वमा प्रत्यक्ष ब्यबहारमा आएको राजनैतिक सिद्धान्त हो । राजतन्त्र सामन्तबादी कालमा बिश्वभर हाबी भयो । जव बिश्वका बिभिन्न मुलुकहरुमा औद्योगिक क्रान्ति सुरु हुन थाल्यो, लग भग सोह्रौ, सत्रौं सताब्दी देखि यता राजतन्त्र सत्ताबाट बाहिरिन थालेको इतिहाँस भेटिन्छ । त्यस यता सुरु भएको पूजींबादी राजनैतिक सिद्धान्तको बिकाशसंगै राजतन्त्रको जोडदार बिरोध हुन थाल्यो । यसरी जोडदार बिरोध हुने क्रममा बिश्वका कैयौं राजा रजौटाहरु मारिए र केही फेरी पुनस्थापना पनि भए । यहीं बेलायतमै पनि १९४९मा राजा चार्लस प्रथमलाइ अचानोमा राखेर घांटी गेंडियो । तर लगभग बाह्र बर्ष पछि बेलायतमा फेरी राजतन्त्र स्थापना भयो र त्यो राजतन्त्रले आज सम्म राज्य गरिरहेको छ । बिश्वका बिभिन्न मुलुकहरुमा राजतन्त्रात्मक सत्ता नभएपनि त्यहाका पुराना राजा रजौटाका सन्तानहरुलाइ राजकीय सम्मान दिएर राखेका छन् । १९९० यता पूजीबादीहरुले संसारबाट अव समाजबाद खत्तम भएको, अब यो नब्यूजिने गरी मरेको भनेर प्रचार प्रसार गरे । तर त्यो सत्य थिएन । सिद्धान्त र बाद कहिल्यै मर्दैन । राजतन्त्र पनि एउटा सिद्धान्त हो, एउटा बाद हो । तत्कालिक अवस्थामा यो सत्तामा छ कि छैन भन्ने अलग प्रश्न हो । मैले अघिनै भनिसकें तपाइ हामी देशका जनता देश रुपी बगैचाका माली हौैं । हाम्रो बगैचामा उम्रेका कुन मिरुवा वा कुन झारको संरक्षण गर्ने वा कुन बिरुवा उखलेर फाल्ने हाम्रो चाहानाको कुरा हो । जुन बिरुवा तपाइलाइ उपयोगी लाग्छ त्यो बिरुवालाइ हुर्कन दिनुस् जुन बिरुवा उपयोगी लाग्दैन उखलेर फाल्नुस् तर तपाइलाइ मन नपर्दैमा बिरुवा फेरी फेरी उम्रन छोड्ने छैन । यस्तै समाचार वा अन्तर्बाताहरु कुन तपाइलाइ मन पर्छ ग्रहण गर्नुस् मन पदैंन फिल्टर गरेर फालीदिनुस् ।
रबिन्द्र मिश्रले तनि बर्ष अघि एक दशक भन्दा बढीको बेलायतको बसाइ छोडेर नेपाल फर्किन लागेको कुरा बिभिन्न समाचार माध्यमद्धारा सार्वजनिक गरेका थिए । फर्किने बेलामा उनले पुराना बेलायतबासी नेपालीहरुलाइ “कुरा मात्र बढी गर्ने तर देशका लागि भने केही काम नगर्ने” भनी राम्रैसंग कटाक्ष पनि गरेका थिए । त्यतिबेला उनले हेल्प नेपाल नामक उनैले सुरुवात गरेको कल्याणकारी संस्थाका लागि बढी समय दिने घोषणा गरेका थिए । उनको यो घोषणाका कारण केही बेलायतबासी नेपालीहरुले रबिन्द्रले बिबिसी छाडेको भन्ने बुझेका रहेछन् । तर त्यसो रहेनछ । उनी बिबिसी नेपाली सेवाका लागि नेपालबाट काम गर्न निम्ति नेपाल फर्केका रहेछन् । १९९९मा उनले बेलायतबाटै सुरु गरेको भए पनि हेल्प नेपाल नेटवर्कलाइ नेपालबाट उनले अझ क्रियाशील बनाए । हेल्प नेपाल नेटवर्क नेपालका लागि महिनाको एक डलर कोष बिश्वका बिभिन्न देशमा बस्ने नेपालीहरुको सव भन्दा ठूलो परोपकारी संजाल हो । यो बिदेशी दाताको संस्था होइन । यसले संसारभरका नेपाली ब्यक्तिहरु र संस्थाबाट कोष संकलन गरेर गाँउ गाँउमा समुदायलाइ सहयोग पुग्ने शिक्षा, स्वास्थ्य र आपतकालिन राहतको क्षेत्रमा काम गर्दछ । नेपालीका लागि नेपालीले गरौं भन्ने यसको नारा हो । हेल्प नेपाल वास्तवमा अन्तरराष्टिय गैर सरकारी संस्थाबाट दशौ लाख डलर सहयोग संकलन गर्ने क्षमता राख्दछ तर यसको मूल लक्ष्य नेपाली ब्यक्ति र नेपाली संस्थाको साथ लिएर नेपालीहरुको मनमा परोपकारी भावना अभिबृद्धी गर्नु रहेको छ । त्यसैले यसले बिदेशी दात्रीहरुसंग सहयोगको अपेक्षा राख्दैन । नेपालीहरुबाटै नेपालीहरुकै खुट्टामा उभिइरहेको छ ।
यो लेख सौर्य दैनिकमा गत बुधबार प्रकासित भएको हो ।
रबिन्द्र मिश्र र हेल्प नेपाल
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…