-प्रियंका पाण्डे
आज मिडियाको शक्तिलाई अस्वीकार गर्न मिल्दैन । मिडिया जनभावनालाई व्यक्त गर्ने सशक्त माध्यम हो । साथै मिडियाले वैश्विक दूरीलाई पनि कम गरेको छ । मिडियाको दुबै माध्यम इलेक्ट्रोनिक र प्रिन्टको आफ्नो खास प्रभाव छ । तर, अन्यक्षेत्र जस्तै मिडियामा पनि महिलाकर्मीहरु समक्ष विभिन्न चुनौतीहरू छन् । बिभिन्न चुनौतिका बाबजुद पनि कतिपय मिडियामा खासगरि इलेक्ट्रोनिक मिडियामा महिलाहरू को वर्चस्व बढिरहेको छ । नेपालमा महिला पत्रकार निकै कम छन् । सञ्चारिका नामक महिला पत्रकारको गैरसरकारी संस्थाको तथ्यांकमा करिब दुई सय जना छन् । व्यावसायिक तथा सक्रिय रूपमा पत्रकारिता गर्ने भने जम्मा ७५ जना छन् । मोफसलमा सबैभन्दा बढी महिला पत्रकार भएका पूर्वाञ्चलमा दुई वर्षअघि पहिलोपटक सञ्चारिकाको क्षेत्रीय समिति गठन गरियो । पूर्वाञ्चलस्तरीय समिति भनिए पनि त्यहाँ मोरङ, सुरसरी र धनकुटाका पत्रकार महिला मात्र समेटिए । जबकि मेची अञ्चलका प्रत्येक जिल्लामा राष्ट्रिय पत्रिकाका महिला संवाददाता छन् ।
बिहानै उठेर घरको काम सकेपछि हातमा भिडियो क्यामेरा र डायरी बोकेर लिना गुरूङ हतार–हतार निस्कन्छिन् । दुई छोराछोरीकी आमा लिना गुरूङको दैनिकी यसरी नै सुरू हुन्छ । राजधानीको एउटा निजी टेलिभिजनमा संवाददाताको रूपमा काम गर्ने उनी समाचार संकलन मात्र होइन, भिडियो पनि आफैं खिच्छिन् । पोखराबाट राजधानीको टेलिभिजनका लागि भिडियो खिच्ने र समाचार सम्पे्रषित गर्ने उनी पोखराकी एक्ली महिला हुन् । यसअघि उनी स्थानीय हिमचुली एफ.एम.का लागि रिपोर्टिङ्ग र समाचार वाचन गर्थिन् । तर जबर्दस्त कार्यक्षमता र आफूलाई सक्षम साबित गर्ने क्षमता हुँदा पनि उनको प्रोमोशन उप–सम्पादक अथवा वरिष्ठ रिपोर्टरसम्म मात्रै सीमित हुन्छ । एउटा ठूलो स मस्या अझै के छ भने प्रबन्धकहरूद्वारा महिलालाई डेस्क रिपाेिर्टङ्गका लागि योग्य मानिदैन । जबकि कतिपय यस्ता उदाहरणहरू छन् जहाँ रिपोर्टिङ्गको मामलामा महिला पुरूषहरूभन्दा राम्रो गर्छिन् । इलेक्ट्रोनिक मिडियाको कुरा गर्दा तपाईं हेर्न सक्नु हुन्छ महिला न्यूज रिडरहरू नै समाचार पढिरहेकी हुन्छिन् । आज महिला मिडियाकर्मीहरू आफ्नो क्षमताको आधारमा नेपाली मिडियाको रूप बदलिन चाहन्छिन तर मिडिया अथवा भनौं प्रबन्धन त्यसको अस्तित्वलाई स्वीकार गर्न गाह्रो मानिरहेकोछ ।
नेपाली गणतन्त्रको विभिन्न क्षेत्रहरूमा महिलाहरूको भागीदारी हेर्दा मिडियाको क्षेत्रमा अहिले आएर उनीहरूको संख्या सन्तोषजनक भन्न सकिन्छ । तर यो संख्या राजधानीमा अपेक्षाकृत अलि राम्रो छ । मोफसलमा पनि महिलाहरूमा पत्रकारिता क्षेत्रको लागि केही गरूं या म पनि यो चुनौतीपूर्ण काम गरूं जस्तो भावना आईरहेको उदाहरणहरू छन् जुन एउटा सुखद कुरा हो । अहिले मिडियाको हरेक अंक प्रिन्ट अथवा इलेक्ट्रोनिक, न्यूज रूम अर्थात फ्रन्टलाईनमा पनि महिलाहरूको राम्रो उपस्थिति देखिन्छ । तर जब मिडियाको ठूलो पदको कुरा गर्दा यहाँ अलि निराशाजनक स्थिति नै हुन्छ ।
इलेक्ट्रोनिक मिडियाको कुरा गर्दा अहिले कुनै पनि ठूलो दैनिक अखबारको सम्पादकमा एउटा पनि महिला पुग्न सकेकी छैनन् । मुलुकमा कुल जनसंख्याको आधाभन्दा बढी महिलाहरु छन् । तैपनि देशका ठूला अखबारका जिम्मेवारीपूर्ण सम्पादकको रुपमा महिला नियुक्त हुन सकिरहेका छैनन् । महिलाहरु जिम्मेवारी सम्हाल्न सक्षम नभएर होईन बरू पुरूषहरूको अर्थात प्रबन्धकको सोचको दरिद्रताले गर्दा अहिलेसम्म यो सम्भव हुन सकिरहेको छैन ।
अहिलेकै अवस्थामा र्हेर्दा दैनिक प्रकाशित हुने ४३ वटा राष्ट्रिय दैनिकमा महिला सम्पादक रहेका छैनन् । विद्युतीय संचारमाध्यम, टिभी च्यानल र एफ.एम.हरूको प्रमुख पदहरूमा पनि महिलालाई जिम्मेवारी दिइएको छैन । २००७ सालपछिको विकासक्रमलाई हेर्दा महिलालाई लक्षित गरी प्रकाशन गरिएको पत्रपत्रिकाहरू अत्यन्त कम छन् । महिला सम्पादकद्वारा निकालिएको पहिलो पत्रिका ‘महिला’ नै थियो । यो पत्रिका २००८ सालमा सहाना प्रधान तथा कामक्षदेवीद्वारा प्रकाशन गरिएको थियो । यसको एक अंकपछि अरू प्रकाशित हुन सकेन । त्यसपछिको महिला सम्पादकद्वारा पत्रिका ‘स्वास्नीमान्छे’ प्रकाशन शुरू भयो । यो पत्रिका २०२४ सालसम्म मात्र प्रकाशित भयो र पछि बन्द भयो । यसरी महिला सम्पादकबाट केही पत्रिकाहरू प्रकाशन गर्ने प्रयास भए पनि त्यो दिगो हुन सकेन र हाल केही साप्ताहिक पत्रिकाहरू महिला सम्पादकद्वारा प्रकाशित भएका छन् तापनि राष्ट्रिय दैनिकहरूमा महिला सम्पादक नहुनुमा महिलाप्रतिको अविश्वास नै मुख्य रहेका भन्दा अत्युक्ति हुने छैन । आज पनि सुसंस्कृतिको विकास भइनसक्नु अनि समाजमा पुरूष प्रधान मान्यताले जरो गाडिराख्नु आदि कारणले गर्दा नै महिला स्वतन्त्रता र महिलाको मुख्य भूमिकालाई हेय दृष्टिले हेर्ने प्रचलन बसेको हो, जसको प्रभाव पत्रकारिता क्षेत्रमा पनि परिरहेको छ ।
नेपाली मिडिया क्षेत्रमा पहिलो पटक सम्पादकका भूमिकामा देखिएकी साधना अधिकारी देखी ‘वेभ म्यागाजिन’ की सम्पादक रूबिना दत्तसम्म पनि महिला पत्रकारको उपस्थिति र प्रभाव चित्त बुझ्दो गरी सुधेक्रो पाईदैन । आज सम्म पनि पत्रकारिता पेशाको उच्च स्थानमा पुरूषकै प्रधानता रहेको पाईन्छ चाहे त्यो सम्पादकीय होस् वा अन्य पत्रकारीता ।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिमिल्सिना समग्र महिला पत्रकारहरूकी गौरवमयी प्रतिनिधि पात्र हुन् । प्रथम समाचार वाचिका रमा सिंह आज पनि जनमानसमा उत्तिकै प्रिय छिन् ।
रेडियो पत्र कारितामा मण्टेश्वरी राजभण्डारी एउटा स्थापित नाम हो । रेडियो नेपालकी सर्वाधिक लोकप्रिय समाचारवाचिका कोमल वली को “यो रेडियो नेपाल हो” को आवाज सुन्न आजपनि सैयौंको संख्यामा स्रोताहरू रेडियो नेपाल ट्यून गर्ने गर्छन् । टेलिभिजन कार्यक्रमहरूमार्फत् आवाज विहीनहरूको आवाज सुनाउन प्रयत्नशील आरती चटौत महिला, अपाङगता भएका व्यक्ति लगायतका वर्गहरूमा प्रिय छिन् ।
कला, साहित्य, स्वास्थ्य र संस्कृतिका विविध पक्षहरूलाई रेडियो कार्यक्रममार्फत् उजागर गर्ने सिल्भिया राजोपाध्याय नेपाल भाषीहरू माझमा चर्चित छिन् । यद्यपि समग्रमा नेपाली मिडियामा महिला पत्रकारको भूमिका अपेक्षाकृत कमजोर छ । रेडियो टिभिका आरजे र वीजेहरूलाई लिने हो भने मनोरञ्जनात्मक पाटोमा महिला उपस्थिति उल्लेख्य छ । अति कम तथा अनियमित पारिश्रमिक, ज्यादै सबेर वा अबेरसम्मको कार्य गर्नुपर्ने बाध्यता र ज्यानै समेत गुमाउन सकिने किसिमका चुनौतीहरू यो पेसामा छन् । नियालेर हेर्ने हो भने यो भन्दा जोखिमपूर्ण र कठिन धेरै काममा महिलाहरूको सहभागिता देखिन्छ । तैपनि एउटा सीमित अवधिपछि पारिवारिक जिम्मेवारी वा राम्रो अवसर भन्दै महिला पत्रकारहरू पलायन हुने गरेको यथार्थ नेपाली पत्रकारिता जगतमा विद्यमान छ । सफल पत्रकार हुनका लागि मुखपृष्ठमै समाचार आउनुपर्छ भन्ने छैन । राजनीतिक वा सनसनीपूर्ण खबर दिनु मात्र पत्रकारको काम होइन । एकातिर पत्रकारले मानवता, मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धहरूको सम्मान गर्नु पर्दछ भने अर्कातिर पत्रकारका काँधमा समाज रूपान्तरणको सामाजिक दायित्व पनि हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरू, असहाय, अशक्त, महिला, बालबालिका र पछाडि पारिएका वर्गको उत्थान र विकासतर्फ सहयोग पुग्ने खालका सूचना र विचारहरू प्रवाह गर्नु पत्रकारको धर्म र दायित्व पनि हो, यो सामाजिक दायित्व निर्वाहको पाटोमा महिला पत्रकारहरूको राम्रो योगदान रहन सक्छ । हुनत पुरूषको आधिपत्य रहेका विटहरूमा महिला पत्रकारहरूले आफ्नो उपस्थिति र प्रभाव देखाउन सके भने पनि पत्रकारितामा महिलाका मुद्दाहरू, तिनका सरोकारहरू र जीवन कहानीहरू अलग्गै किसिमले आउन सक्छन् । पत्रकारितामा महिलाको परिभाषा फेरिन सक्छ ।
एउटा महिला पत्रकारको सामने थुप्रै चुनौतीहरू आउने गर्छन् । सबैभन्दा पहिले यहाँ कुनैपनि बहाना चल्दैन । पत्रकारिता पेशामा जहिले पनि उपस्थित हुनु पर्छ । तर, जहाँ चुनौती हुन्छ, त्यहाँ अवसरहरू पनि पक्कै हुन्छन् । महिलाका सवालहरूलाई महिलाको संवेदना र न्यायसंगत हिसावबाट महिला पत्रकारहरूले नै उठान गर्न सक्ने कुरामा दुइमत छैन । यसबाहेक पुरूयष प्रधानता रहेका अन्य विटहरूमा पनि महिलाले न्याय गर्न सक्छन् । खोज र अनुसन्धानमूलक क्षेत्र लगायत सामाजिक मुद्दाहरूको विश्लेषणमा पनि महिला पत्रकारहरू त्यत्तिकै सशक्त हुन सक्छन् ।
सुमन थापाको शब्दमा बुझ्ने हो भने, संचार माध्यमहरूमा बढ्दो महिला पत्रकारिताको रूचीलाई राज्यले ध्यान दिन सकेन भने महिला विकासमा धक्का पुग्ने निश्चित छ । विचार, दर्शन र सिद्धान्त जतिसुकै राम्रो भएपनि त्यसलाई हाँक्ने नेताहरूमा राजनीतिक इमान्दारी र राजनीतिक संस्कार हुन जरूरी छ । कानुनमा मात्र महिला हक अधिकारहरूलाई सीमित राख्यो भने महिला विकास अत्यन्त न्यून हुनेछ । संचार क्षेत्रमा अगाडि बढेका महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर अझ बढी महिलाहरूलाई यस क्षेत्रमा प्रवेश गराउनु र उनीहरूलाई प्रोत्साहित गर्नु राज्यले विशेष ध्यान दिनु अति जरूरी छ ।
(पाण्डे मधेशी पत्रकार समाज काठमाडांै उपत्यका शाखाकी अध्यक्षा हुन् ।)
(यो लेख मधेशबाणी साप्ताहिकबाट लिएको हो)