माइलदाईको सम्झनामा

— शशी पौडेल
“माइला, मैले प्रजातन्त्रका निम्ति वालेको दीयोलाई तैले प्रज्वल्लित पार्ने छस् ।” १६ बर्षको उमेरमा आफ्ना दाजुको आदेश शिरउपर गरी नेपाल र नेपालीको मूक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ८८ बर्षका हुने थिए । ३४ बर्ष अघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर गएपनि उनले दिएको विचार, उनले गरेका योगदान आज हर नेपालीको मुटुको ढुकढुकीको रुपमा जीवन्त छ ।
आफ्ना दाजु गंगालाललाई भोली गोली ठोकेर मारिदैछ भन्ने थाहा पाए पछि आफ्ना भाइ देविलाल र बावुसंग दाजुलाई जेलमा भेट्न गएका पुष्पलाललाई गंगालालले उक्त गहन जिम्मेवारी दिएका थिए । सोही गहन जीम्मेवारीनै पुष्पलालका लागि राजनीति गर्ने प्रेरणाको श्रोत बन्यो ।
दाजुको आदेश पाएको एकबर्ष वित्दा नवित्दै विस १९९८ मा उनले नेपाली प्रजातान्त्रिक संघको गठन गर्छन् । पुष्पलालसंग प्रेमबहादुर कंशाकार, शम्भूराम श्रेष्ठ, सूर्य बहादुर भारद्वाज र राजारामले हातेमाले गर्छन् । नेपाली प्रजातान्त्रिक संघ मार्फत विभिन्न संघर्षहरु अगाडि बढाउछन् । आन्दोलनका क्रममा पुष्पलाल द्वारा नेतृत्व गरिएको “नागरिक अधिकारका लागि आन्दोलन” ले पद्य शम्शेरलाई झुकाउछ र बिसं २००४ सालमा केही सुधार गर्न वाध्य गराउछन् । यति खेर शम्भूराम श्रेष्ठ, स्नेह लता श्रेष्ठ र सहाना प्रधानले पुष्पलाललाई साथ दिन्छन् । यो आन्दोलन नै नेपालको एक ऐतिहासिक खुल्ला जनताद्वारा गरिएको पहिलो आन्दोलन थियो । यतिखेर सम्म पुष्पलाल र सहाना प्रधानबीच विवाह भैसकोको थिएन । यो आन्दोलन पछि उनी कलकत्ता पुग्छन् र २००६ सालमा उनले कम्यूनिष्ट पार्टीको घोषणा–पत्र नेपालीमा अनुवाद गर्छन् । त्यतिवेलानै उनी भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सवादीका) नेता ज्योति वशुसंग सम्पर्कमा आउछन् । ज्योतीवसु सत्तरीको दशकको मध्यदेखि २००० सालसम्म पश्चिम वंगालको मुख्यमन्त्री पदमा आसिन रहे ।
पुष्पलाल २००९ सालमा सहाना प्रधानसंग विवाह बन्धनमा बाधिन्छन् । बैवाहिक वन्धनमा बाधिए पछि उनीहरुबीचको दुरी कम हुनु पर्ने हो तर दुर्भाग्य दुरी झन झन बढ्न थाल्यो । जीवनका दैनिकीको बिषयमा मतभेदहरु शुरु भएछन् क्यारे त्यसैले सहाना प्रधानले २०१७ साल देखि राजनीति चटक्क छोडेर निस्कृय बसिन । उनी निस्कृय तब सम्म बसिन् जवसम्म पुष्पलाल जीवीत रहे । पुष्पलाल पर्वासबाट राजनीति गर्ने, सहाना नेपालमा शिक्षण पेशामा लागिन् । उनीहरुबीचको सम्पर्क पातलिदै गयो ।
दिनहरु बित्दै गए । नेपाली कम्यूनिष्ट आन्दोलन चिरा चिरा हुदै गए । २०१७ सालमा स्व.राजा महेन्द्रले पंचायती व्यवस्था लागू गरे पछि कम्यूनिष्ट पार्टीमा ठूलो भूंईचालो नै गयो । त्यतिखेरका पार्टी महासचिव डा.केशरजंङ्ग रायमाझीले रुसमा गएर रुसी भाषको दैनिक पत्रिका प्राभ्दा मार्फत राजाको कदमलाई सर्मथन गरे । एकातिर दक्षिणपंथीधार चोइटिन शुरु गर्यो भने अर्को तिर उग्रवामपंथी धार । उग्रवामको नेतृत्व मोहनविक्रम सिहंले गर्न थाले । नेपाली कम्यूनिष्ट आन्दोलन कुइरोमा हराएको काग जस्तै रुमाल्लिन थाल्यो । २०२९ सालमा मोहनविक्रम सिंहको उग्रवामपंथको पराकाष्टा देखियो, एउटा पुस्तक “गद्धार पुष्पलाल” । हुन त पुस्तक प्रकाशन लगत्तै मोहनविक्रम सिहंले आत्माआलोचना गरे र उक्त पुस्तकमा आफ्ना मनगढन्ते कुराहरु खाँदेकोमा दुःख व्यक्त गरे । तर बन्दुकको नालबाट निस्केको गोलीलाई बीचमा रोक्न नसके जस्तै पुस्तक प्रकाशन भैसके पछि गरेको आत्माआलोचनाले कति माने राख्ने छ ?
पुष्पलाल के कुरामा द्रिढ थिए भने “एउटा ठूलो शक्तिबिरुध्ध लडेर उसलाई जित्न थुप्रै साना शक्ति मिल्नु पर्छ ।” त्यस अर्थमा नेपालको वामपंथी आन्दोलन पनि पंचायत ढाल्न नेपाली काँग्रेससंग कार्यगत एकता हुनै पर्छ । आखिर उनले भने जस्तै २०४६ सालमा ७/८ पार्टीहरुको संयुक्त आन्दोलनले बहुदल ल्याउन सफल भयो भने पछिल्लो परिवर्तन पनि त आखिर सम्युक्त आन्दोलनबाटै सफल भयो । त्यसैले पुष्पलाल सही थिए भन्ने कुरामा दुईमत हुन सक्तैन ।
यस पंतिकारले पुष्पलालसंग भेट गर्ने पहिलो अवसर २०२८ सालमा प्राप्त गरेको हो । त्यस पछि उनीसंग मेरो बेलाबेलामा भेट भैरह्यो । २०३१ सालको कुरो हो मैले एसएलसीको परिक्षाफल कुरेर बसिरहेको थिएं । मेरो वुवाले यी लगभग ६ महिना मलाई खाली नराख्ने निर्णय गरेर वनारस लगि पूर्व मध्यमा कक्षामा संस्कृत पढ्न भर्ना गरिदिनु भयो । वनारसको दुग्ध विनायक (जसलाई हामी नेपालीले गल्ली भनेर पनि चिन्दछौं) को बसाई नेताहरुको आउने जाने भैरहन्थ्यो । खासगरी पुष्पलालसंग कहिलेकाही त्यही गल्ली तिर भेट हुन्थ्यो ।
एक दिन म राम मनोहर लोहियाको प्रकाशन केन्द्रबाट प्रकाशित हुने समाजवादी पत्रिका किनेर काँधमा राखी त्यसमाथि खाना पकाउने कोइलाको बोरा राखेर कोठा तर्फ फर्किदै थिंए अचानक पुष्पलालसंग जम्का भेट भयो । पत्रिका मैले दुईवटा उद्देश्यले किनेको थिएं । प्रथम पढ्नका निम्ति भने दोस्रो पत्रिका काँधमा राखेर त्यसमाथि कोइलाको बोरा बोके पछि कमिजमा कालो नलागेस् भनेर ।
कोठामा पस्नासाथ पुष्पलालले ठट्यौलो पारामा कुरा गर्न थाले । उमेरले उनको र मेरा तीनदशक भन्दा बढी फरक भए पनि माइल्दाइले मलाई आफ्नो साथी जस्तै सम्झिन्थे । तर बोलाउदा भने शशी भाइ भनेर संवोधन गर्ने गर्दथे । उनले कुरा यसरी शुरु गरे । यो बोरामा तिमीले कोइला ल्यायौ त्यसैले आज तिमलिे यो बोराका बारेमा एउटा निवन्ध लेख । म तिम्रो निवन्ध हेर्न भोली आउने छु ।
त्यो त ठीक छ म लेखुंला तर अहिले केही नखाने ? मैले सोधें । ल ल छिटो छिटो गरेर पकाउ न त । आलु म ताच्छु तिमी भात बसाली हाल । उनले आदेश दिए । उनले हरेक पटक आउदा एउटा न एउटा बिषय भेटाउथे मलाई लेख्न लगाउन । कहिले हिन्दीमा त कहिले नेपालीमा लेख्नु पर्ने । म भने उनले जतीसुकै काम लगाए पनि उनलाई देखे पछि किन हो कुन्नी खुशी हुन्थे । यदि मैले मेरो जीवनमा उनलाई नभेटेको भए सायद यी पंतीहरु लेख्न सक्षम बन्ने थिइन होला । यस अर्थमा म पुष्पलालसंग व्यक्तिगत रुपमा पनि ऋणी छु ।
एसएलसीको परिक्षाफल  प्रकाशित भयो पास भएं र म काठमाण्डौं तर्फ लागें । दुई बर्ष काठमाण्डौं विताए पछि बुवाले मलाई फेरी बनारस पठाउने निधो गर्नु भयो । उहाँको निर्णयको अगाडि मेरो केही लाग्थेन, हवस भन्नु वाहेक ।
जुलाई २२, १९७८ का दिन म  वनारसमै थिए । पुष्पलाल भने मेडिकल कलेज दिल्लीमा उपचार गराउदा गराउदै यो संसार छोडेर विदा भए । एक सन्नाटा छायो । नेपाली कम्यूनिष्ट आन्दोलनमा एउटा भूंईचालो गयो । नेपाली मजदुर किसान एंव सर्वहारावर्गले आफ्नो अभिभावक गुमाए । मृृत्यु अवस्यंभावी हो । यसलाई कसैले टार्न सक्तैन, भनेर चित्त बुझाउनु बाहेक हामीलाई अर्को विकल्प रहेन ।
यदि दुख र सुखमा, जेल वा नेलमा, भाग्य वा अभाग्यमा संगै जीवन विताउने कसम खाएर बाँधेको वाचा वन्धन कुनै एउटाले तोड्छ र  दुईचार पैसाको अहंकार, पेशाको अभिमान र शिक्षा र ज्ञानको घमण्ड गर्छ भने अर्कोलाइ मनोबैज्ञानिक प्रतिकूल असर पर्छ । यसप्रकारको प्रतिकूल असरले मृत्यूलाई २/४ बर्ष अघि निम्त्याउछ भन्ने कुरा मनोवैज्ञानिकहरुले प्रमाणित गरेका छन् । कतै पुष्पलाललाई उपरोक्त कुराहरुको कारणबाट अली छिटो यो संसार छोड्नु परेको त हैन ? यो प्रश्न विगत चौतीसबर्षदेखि मेरा सामु अनुत्तरित भएर घाँटीमा तेर्सिई रहेको छ । यद्यपी साहना प्रधानले पुष्पलालको मृत्यु पश्चात बागमतीको आर्यघाटमा अस्तु सेलाउदै मैले तिम्रो सपना पुरा गर्न मेरो स्वास रहे सम्म प्रयास गर्ने छु भनी दुई थोपा आँसु चुहाएकी थिईन् । जुन परिदृष्य आज सम्म पनि मेरो आँखा सामु नाची रहन्छ । ती दुई थोपा आँसु कतै दोषी महसुस (गिल्टी फिल) को प्रायश्चित्त त थिएन ?

 

Bookmark the permalink.

One Response to माइलदाईको सम्झनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *