गए राती तीनबजे हाम्रो छिमेकीले भित्ता ढ्वांग ढ्वांग हानेको आवाज आयो । यी छिमेकी मध्य पुरुष चाँही पुगनपुग ८० बर्षका थिए । पत्नी भने उमेरले अली कान्छी हुनुपर्छ । एकहप्ता अघि पत्नीचाँही छोरा भेट्न अमेरिका गइन् । उनी अमेरिका जाने बेलामा आफ्ना पतिलाइ यसो कहिलेकाँही रेख देख गरिदिनु भनेर उनको घरको साँचो हामीकहाँ छोडेर गएकि थिइन् । यसो त ती बृद्ध पुरुषको रेख देख र खान पिन ल्याउनकालागि उनले अलग्गै ब्यवस्था गरेर छोडेकी थिइन् । तर पनि रातीमा एक्लै हुनेभएकाले साँचो हामीकहाँ छोडेकी हुन् ।
उनिहरुको छोरा १९९२ सालमा अमेरिका स्थित हाबर्ड बिश्वबिद्यालयमा छात्रबृद्धी पाएर अध्ययन गर्न अमेरिका लागेको हो रे । झण्डै बाइस बर्ष अघि अमेरिका लागे पछि उ जर्मनी कहिल्यै फर्केको छैन । यद्यपी उ यसअघि दुइ पटकसम्म अक्सफोर्ड बिश्वबिद्यालय बेलायत आफ्नो बिषयगत बैठकमा आएको थियो रे भन्ने आमा बाबुले सुनेका रहेछन् । लामो समयदेखि छोरालाइ देख्न नपाएकाले आमा बाबुको मनले मानेन । त्यसैले उनीहरु छोरा भेट्न अमेरिकानै जाने निधो गरका थिए । हवाइजहाजको टिकट किनिसके पछि बाबुचाँहीलाइ स्वास्थ्यले साथ दिएन र उड्न सकेनन् आमा चाँही भने एक्लै उडिन् ।
आज गए राती अचानक ती बृद्धलाइ स्ट्रोक भएछ तर बाँया हातले भित्ता हान्न सकेछन् । ढोका खोलेर हेर्दा उनी बाँंगो मुखलिएर सोफामा लम्पसार परेर लडेका । तुरुन्तै अस्पताल पुर्यायौं । मैलेनै उनलाइ अस्ताल पु्याएकाले अस्पतालमा सम्पर्क ब्यक्ति मेरै नाम दिएको थिंए । भर्खरै अस्पतालबाट टेलिफोन आयो र अस्पतालकी नर्सले ती बृद्ध पुरुषले सदा सदाकालागि यो संसारबाट बिदा लिएको बताइन् ।
उनिहरुले आफुहरुको बिवाह भएको पचास बर्षे सुनौलो बिबाह पर्ब गत जुन महिनामा मात्र मनाएका थिए । आखिर मर्ने बेलामा ती बुढालाइ एक्लै मर्नु पर्यो ।
यो घटना २०१२ साल अगस्त महिनाको हो । २०३१ सालमा पर्बत जिल्लामा जन्मेका टंकले बल्ल ३७ वसन्त पार गरेका थिए । पर्बतबाट पछि नवलपरासी जिल्लामा बसाइ सरेर नयाँ मौका, चुनौती र भाग्यको खोजी गर्दै चौध बर्ष अघि बेलायत आइपुगेका हुन् टंक । १९९८ सालमा बेलायत आएपछि बिभिन्न हण्डर र ठक्कर खाँदै बेलायतका बिभिन्न ठाँउमा बास बसेछन् उनी । पछि २००४ साल देखि उनले अल्डरसटलाइ आफ्नो स्थाइ बासस्थान बनाए ।
उनका आकांक्षा र चाहनाहरु पत्नी र छोरीलाइ बेलायत ल्याएर अरुहरुले जस्तै एउटा सानो घर किनेर संगै बस्ने थियो । हाँसी खुसी परिवारिक जीवनका लागि उनि प्रयासरत थिए । उनीसंग मेरो पहिलो भेट २००७ सालको जनवरीमा हरी अधिकारीको घर अल्डरसटमा भएको हो । त्यतीबेला उनले अव छिट्टै नेपाल गएर बिबाह गर्ने कुरा गरेका थिए । उनी बिबाह गरेर फर्केर आए पछि फेरी नारायण रिजालको घरमा भेट भयो । आफु बिबाहित भएको खुसीको खबर सुनाएका थिए ।
त्यतिबेला देखि उनले आफ्नी पत्नीलाइ बेलायत झिकाउन होम अफिससंग पत्राचार गर्ने ठेगाना नारायण रिजालको घरको ठेगाना प्रयोग गर्दै आइरहेका थिए । सम्पूर्ण कागजपत्र तयार भैसकेको थियो । अव उडानको टिकट किनेर हवाइ जहाज भित्र बस्न मात्र बाँकी थियो, टंक अचानक बिरामी परे, उनको यो प्रयास प्राय सबै सहकर्मीहरुलाइ थाहा थियो । टंक अस्पतालको सैयामै भएको बेला अस्पतालमा कार्यरत उनका सहकर्मीहरुले रकम संकलन गरि उनकी पत्नीको टिकटको ब्यवस्था गरेर नेपाल पठाए । पत्नी अव बेलायत आउने भइन् । पत्नी बेलायत आउने दिन, घण्टा र पलको प्रतिक्षा गरेर बसेका टंकलाइ उनकी पत्नीका लागि टिकट किनेर नेपाल पठाइसकेको खवर उनका सहकर्मीहरुले सुनाए । तर दुर्भाग्य पत्नी आइपुग्न दुइदिन ढिलो भयो । पत्नी जहाज भित्र भएकै बेला यता टंकले अन्तिम स्वास फेरे । हे भगवान ! यत्रो ठूलो अग्नी परीक्षा र अन्याय किन ?
गत बर्ष तिहारको दुइदिन अघि मेरा आदरणीय भिनाजुले यो संसारबाट बिदा लिनु भयो । एउटा भान्जा अमेरिकामा बस्छन् । मेरी प्रिय, आदरणीय दिदी अचानक एक्ली हुनुभयो । समयमै खबर पाएको भए पनि म एक्ली परेकी दिदीलाइ सम्हाल्न नेपाल पुग्न सकिन । मेरा भान्जा बिदेदमा मेहनत गरेर पढदै गरेको परीक्षा आएकाले आफ्नी आमालाइ सम्हाल्न समयमै घर पुग्न सकेनन् । दैबको लीला भनौं की बिश्वब्यापीकरणले दिएको पीडा ?
आजै प्राप्त समाचार अनुसार अफगानिस्तानको राजधानी काबुलको कसालास्थित एक क्याम्पमा भएको आत्मघाती बम प्रहारमा परेर एक नेपालीको घटनास्थलमैं मृत्यु भएको छ भने दुइ शख्त घाइते भएका छन् ।
अर्को पीडा यसप्रकार छ, नेपालमै केही गर्छु भनी कोषिस गर्दा कसैले श्रृण नपत्याएर सबैतिरबाट हरेश खाएका महोत्तरी रामनगर १ का २६ वर्षीय सतराजी महतोलाई बिदेश जान्छु भनेपछि चाँहि आफन्तजनले खुरुक्क ऋण हालिदिए । मेनपावरलाई ९५ हजार रुपैयाँ बुझाएर उनी चार वर्ष अघि मलेसिया पुगेका हुन् कम्पनीको समय अवधि सकेर नेपाल फर्कन थालेपछि भने उनका दुःखका दिन शुरु भए । गत वर्षको सेक्टेम्वर १४ तारिखदेखि एजेन्टले घर पठाउँछु भनेर उनलाई क्वालालम्पुर एयरपोर्टसम्म ल्यायो । घरमा आफन्तहरु उनको बाटो हेरेर बसेका थिए । तर उनी नेपाल र्फकन सकेनन् । वर्ष दिन बित्यो, उनी स्वदेश फर्कन सकेका छैनन् । श्रृणको बोझ उनको थाप्लोमा अझ गरुंगो हुदै झुण्डिइ रहेको छ ।
यी त केही उदाहरण मात्र हुन् । बिश्वब्यापीकरणले दिएको पीडाका घटनाहरु हजारौं छन् । कसैका घरबास उठेका छन् भने कसैका पत्नी र पतिले घर छोडेर भागेका छन् । कति बिधुवा र बिदुर बनेका छन् । हजारौं वाल बालिकाहरु टुहुरा बनेका छन् । स्वदेशी चालचलन र आचरण लोप भैरहेको छ । स्वदेशी कला र संस्कृती हराउदै गैरहेको छ । यो नेपालको मात्र समस्या नभै बिश्वब्यापी समस्याको रुपमा देखा परेको छ । तर यसको मार भने खासगरी गरीव र अल्पबिकशित मुलुकका जनतामा बढी परेको छ । धनी र सम्पन्न मुलुकहरुमा एकआध यस्ता उदाहरण भए पनि उनिहरुमा परेको यस्ता घटनाहरुको जिम्मेवारी सरकारले बहन गर्ने भएकाले त्यहाँका जनतालाइ त्यति ठुलो मानशिक प्रतिकूल असर पर्दैन । तर नेपाली समाजमा भने अझ पनि पारिवारिक मैत्रित्व र मानवीयता बाँची रहेकाले र बाँचेका परिवार र बाल बच्चाहरुको भबिश्यको जिम्मेवारी सरकारले नलिने हुदा यस्ता घटनाहरुले समाजमा प्रतिकूल असर पारीरहेको छ ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................