“एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण” शिर्षकमा हिंजो कान्तिपुरले लामै समाचार छापेको छ । कान्तिपुरले के लेख्यो वा गोपाल किराँतीले के भने भन्ने प्रश्न भन्दा पनि यो समाचारलाइ नेपाली जनताले कसरी लिए भन्ने प्रश्नको उत्तर खोज्नु आजको आबश्यकता हो । भनिन्छ मानिसका देखिने कान दुइवटा मात्र भए पनि यथार्थमा सुन्ने कान चारवटा हुन्छन् । एउटा कानले जे समाचार हो त्यही समाचारलाइ बस्तुगत रुपमा सुन्छ । दोस्रो कानले समाचारलाइ अपीलका रुपमा सुन्छ र भन्छ हो अव हामी पनि यही बाटो तिर लाग्नु पर्छ किनकि गोपाल किराँतीले आग्रह गरेका छन् । तेस्रो कानले जनकमान डंगोलले आफ्नो फेसबुकमा दिएको प्रतिकृया जस्तै “ढिलै भए पनि बुद्धि पलाएछ अब ०४७को संबिधान ब्युताउनु ठिक हुन्छ” भन्ने सुन्ने छ भने चौथो कानले जजस्ले यो कुरा थाहा पाउनु पर्ने हो पाए भैगोनी केको धंकुरी फुकेर हामीलाइ सुनाउनु पर्ने ? भनेर सुन्ने छ ।
त्यसैले यहाँ प्रश्न उठ्छ आखिर यो समाचारको उद्धेश्य के हो त ? के अब नेपालका कम्युनिष्ट पार्टीहरुले राजतन्त्र स्वीकार गरेका हुन् वा राजतन्त्र साजतन्त्रका कुरा होइन एकिकरणको कुरा मात्र हाम्रो जीकिर हो भनेका हुन् । हो यिनै माओबादीहरु हुन् जसले जनतालाइ पृथ्वी नारायण शाहका बिरुद्ध भड्काउन उनले जनताका नाक कान काटेर बुच्चै बनाएर छोडेका थिए भनी धंकुरी फुकेका थिए । मलाइ यतिखेर माओबादीहरुसंग एउटा प्रश्न गर्न मन लागेको छ, त्यो के भने त्यसो भए लंग मार्चका बेला त्यस पछि र अनि साँस्कृतिक क्रान्तिका बेला माओत्सेतुंगले कति हज्जार मान्छे मारेका थिए ? त्यसो भए माओत्सेतुंगलाइ पनि चीन क्रान्तीका बेलामा लाखौं मान्छे मारेको भनेर उनले गरेको चीनियाँ मुक्ति आन्दोलनको बिरोध गर्न सक्छन् ? यदि सक्छन् भने पृथ्वी नारायण शाहले नेपाल एकिकरणमा गरेको कामको बिरोध गर्न सुहाउने छ । आज भन्दा दुइसय पचास बर्ष अघि को राजनैतिक परिस्थिती के थियो भन्ने कुरा तर्फ ध्यान नदिइ बिरोधका नाममा बिरोध गर्ने परम्परा कुनै पनि अर्थमा मुलुकका लागि हितकर होइन । कुरा केहो भने त्यतिबेला हुनसक्छ पृथ्वी नारायण शाहले त्यसो गराए होलान्, यदि गराएका हुन् भने किन गराए ? के माओबादीहरुले त्यसको लेखाजोखा गरेको छ । मुलुक र बहुजन हितायका निम्ति कहिलेकाँही इतिहाँसलाइ इतिहाँसकै गर्भमा रहन दिन सक्नु पर्दछ । हरेक बच्चा जन्मिदा आमालाइ पिडा हुन्छ । त्यसो भए जन्मिदा आमालाइ पिडा गराएको भनेर त्यो बच्चालाइ आमाले अस्वीकार गर्न, घृणा गर्न वा जीवनभर बहिस्कार गर्न सक्छे ? कदापी हुन सक्तैन ।
हरेक राजनितीक कर्मी र हामी सर्वसाधारण जनताले बुझ्नु पर्ने महत्वपूर्ण कुरा केहो भने यदि हामीले अण्डाको अमलेट खान चाहान्छौं भने अण्डा नफोरीकन अमलेट पकाउन सम्भव छैन । तर यसमा असाध्यै ध्यान दिनु पर्ने कुरा केहो भने यदि हामीले दुइवटा अण्डाको अमलेट खान चाहेका हौं भने चारवटा अण्डा फोरेर फाल्नु हुदैन । यस अर्थमा पृथ्वी नारायण शाहले नेपाल निर्माण गरेको देनलाइ बिर्सिनु भनेको एकिकरण नेपालको बिरुद्ध बिष बमन गर्नु हो । त्यही काम माओबादीहरुले र नेपालका अन्य अबुझ राजनैतिक कर्मीहरुले गरिरहेका छन् । अरुले गरेको योगदानलाइ स्वीकार नगरेर नकारात्मकतातिर मात्र लैजानु भनेको आफ्नो योगदान पनि पछिका पिंढीले बिर्सुन भन्ने चाहनु हो अर्थात “हिड्दै छ पाइला मेट्दै छ” गरेको हो । माओबादीहरुले के कुरा नबिर्सुन् भने यदि उनिहरुले अरुको योगदानलाइ लत्याउन मात्र खोज्दछन् भने उनिहरुको योगदान प्रति पनि नेपाली जनता गंभीर हुने छैनन् । कान्तीपुरमा प्रकाशित यो प्रसंगको समाचार यस प्रकार छ ।
काठमाडौ, भाद्र २२ ( पृथ्वीनारायण शाह जन्मेको पुस २७ गते राष्ट्रिय एकता दिवस पहिला धुमधाम मनाइन्थ्यो। जनआन्दोलनपछि बनेको सरकारले त्यसलाई नमनाउने निर्णय गर्यो। भर्खर शान्ति प्रक्रियामा आएको माओवादीले सामन्तवादी राजतन्त्रका सुरुवात गर्ने राजा भएको भन्दै रद्द गर्न दबाब दिएको थियो।
त्यही एमाओवादीको जातीय मोर्चाले यसपालि राष्ट्रिय एकता दिवस मनाउने भएको छ। मोर्चाका महासचिव गोपाल किराँतीले नेपाल एकीकरण गर्नु राम्रो भएको तर्क गरे । एकीकरण राम्रो कुरा हो, त्यसकारण पृथ्वीनारायणलाई सम्झन लागिएको हो, उनले भने, ुयो सम्झनु भनेको मुलुक नयाँ एकीकरणको सुरुवात गर्नु पनि हो।
मोर्चाको बैठकले पृथ्वीनारायणले जुन उद्देश्यका लागि एकीकरण गरेको भए पनि त्यसले नेपाल एक गराउन महत्त्वपूर्ण काम गरेको निचोड निकालेको हो। किराँतीले
यो अभियानले सबै जातजाति, क्षेत्रलाई एकीकरण हुन सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पुस २७ गते नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन, प्रतिरोध सभा गरिने छ।
उनले पृथ्वीनारायणको शासन सामन्ती भएकाले न्याय नगरे पनि उनको एकीकरण गर्ने काम भने प्रशंसनीय भएको बताए। नेपाल एकीकरणबारे विगतमा चासो दिन छाडियो, उनले भने, अब यसलाई नयाँ एकीकरण अभियानका रूपमा अघि बढाउनुपर्छ। उनले एकीकरण स्मरण गर्नु कसैको जयजयकार नभएको पनि टिप्पणी गरे।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही समयअघि भारतीय प्रधानमन्त्री काठमाडौं आएका बेला भएको भेटमा दौरासुरुवाल लगाएका थिए। अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई लगायतले पनि बेलाबेला ढाका टोपी लगाउने गरेका छन्। गोरखा घर भएका नेता भट्टराईले पनि विगतमा पृथ्वीनारायणको एकीकरणको प्रसंग कोट्याउँदै सकारात्मक भएको बताइसकेका छन्।
एमाओवादी भने यसमा कुनै निष्कर्षमा पुगेको छैन। पृथ्वीनारायणलाई सम्झने मोर्चाको निर्णय हो, प्रवक्ता दीनानाथ शर्माले भने, पार्टीमा यसबारे छलफल भएको छैन। किराँतीले भने एकीकरण गर्ने व्यक्तिलाई पार्टीले नै सम्झनुपर्ने धारणा राखे।
प्रसंग: पृथ्वीनारायण शाह र २७ पुसको
Bookmark the permalink.
” त्यसो भए माओत्सेतुंगलाइ पनि चीन क्रान्तीका बेलामा लाखौं मान्छे मारेको भनेर उनले गरेको चीनियाँ मुक्ति आन्दोलनको बिरोध गर्न सक्छन् ? यदि सक्छन् भने पृथ्वी नारायण शाहले नेपाल एकिकरणमा गरेको कामको बिरोध गर्न सुहाउने छ ।” वाह तर्क !! सलाम शशी सरलाइ ।