शशी पौडेल
उत्तरी हाम्बर्गमा एउटा बाह्रतले घर छ । त्यो घरको पाँचौं तल्लामा नर्द डचे रुण्डफुंक (उत्तर जर्मनी टेलिभिजन) को कार्यालय छ । पाँचौं तलामा पुगेपछि लिफ्टले एउटा अटोमेटिक आवाज दिन्छ “यहाँबाट तपाइको स्वतन्त्रता छ” । लिफ्टबाट बाहिर निस्कनासाथ भित्त्तामा टाँसिएको एउटा ब्यानर देखिन्छ, त्यो ब्यानरमा लेखिएको छ “नराम्रा विषयवस्तुबाट नतर्साउनुस्” ।
गतबर्ष अनलाइनखबरका फोटो पत्रकार कविन अधिकारीमाथि हमला र त्यो हमला पनि प्रहरी अधिकृतबाट भएको भन्ने समाचार पढेपछि दुईवटा प्रश्नहरुको उत्तर पाउन सकिरहेको छैन । पहिलो प्रश्न हो, के पत्रकारहरु प्रहरी प्रशासनको नोकर-चाकर हुन् ? अथवा उनीहरु राज्यका चौथो अंग हुन् ? जसले राज्यको, प्रहरी प्रशासनको कमी कमजोरी देखाउँछन् र ती कमी कमजोरीहरु सुधार्ने बाटोसमेत सुझाउँछन्, जनताका चाहना आकांक्षा सरकारसमक्ष पुर्याउँछन् अनि जनतालाई सरकारका भावी कार्यक्रमबारे सुचित गराउँछन् ।
डोनाल्ड ट्रम्प राष्ट्र्पति पदमा निर्बाचित भएदेखि अमेरिकामा मेडिया र राष्ट्रपती बीच वाक यद्धनै चलेको छ । डोनाल्ड ट्रम्प निरंक३श ढंगले पत्रकार बिरुद्ध जाइलाग्ने गरेका छन् ।
जर्मनीमा पनि गतबर्ष टर्कीका राष्ट्रपति एर्डोगानले एक जर्मन कमेडियन पत्रकारविरुद्ध व्यक्तिगत मानहानीको मुद्दा हाले । यसबारे जर्मन चान्सलर अन्गेला मेर्केलले स्वतन्त्र पत्रकारिताको वकालत गरिन्। निज जर्मन कमेडियन पत्रकार ब्योहमेरमानले अहिले सम्म कार्यक्रमहरु चलाएका छैनन् र उनलाई उनको घरमा प्रहरीले सुरक्षा दिएको छ ।
विश्वभर अहिले देखिएको सत्यता के हो भनेः पत्रकारिता अहिले यस्तो संघारमा उभिएको छ कि हरेक धु्रवबाट थिचिएको छ । आफु भित्रैबाट, बाहिरबाट, तलबाट र माथिबाट । अनि एक प्रकारको आशंका, पत्रकारिता र पत्रकारलाई दुश्मन देख्ने शासकहरुले भजनमण्डली खडा गरेर स्वतन्त्र पत्रकारितालाई “झुटो प्रेस” को बिल्ला भराउने मात्र नभई मुख बन्द गराउने प्रयाससमेत भैरहेका छन् ।
पटक-पटक शासकहरुले स्वतन्त्र पत्रकारिताका कारण आफुहरुले चाहेको मनोमानी गर्न नपाएर डिस्टर्व भएको भन्नसमेत पछि परेका छैनन् । तर, पनि यी सबैका बावजुद हामी पत्रकारहरुले आफुलाई कमजोर महशुस गर्नुहँुदैन, बरु त्यसको विपरीत दह्रो भएर लाग्नुपर्ने हुन्छ ।
विश्वभरका शासकहरुले बुझ्नुपर्ने कुरा के हो भने अमेरिकाको सर्वोच्च अदालतले समेत “सर्वसाधारण जनताका लागि वाक एवं सूचनाको स्वतन्त्रता राज्यका विभिन्न अंगहरु भन्दा महत्वपूर्ण हुन्छ ।” भनेर फैसला गरेको छ । सन् १९७२ मा न्युयोर्क टाइम्सका विरुद्ध अमेरिकी सरकारले हालेको मुद्दाको फैसलामा अमेरिकी सर्वोच्च अदालतले यसरी सफाइ दिएको हो ।
त्यतिबेला न्युयोर्क टाइम्सले अमेरिकी सरकारले भियतनाम युद्धका बारेमा जनतालाई यथेष्ट सूचना नदिएको मात्र नभई सरकारले जनतासामु झूठ समाचार प्रसारण गरेको भनेर पेन्टागनविरुद्ध तथ्यसहित समाचार लेखेको थियो र सोही समाचारका विरुद्ध अमेरिकी सरकारले न्युयोर्क टाइम्का विरुद्ध मुद्दा हालेको थियो । यसरी त्यतिबेला अमेरिकी सर्वाेच्च अदालतले समेत स्वतन्त्र पत्रकारिताका पक्षमा बोलेको छ । त्यतिबेलादेखि पत्रकारितामा छर्लंग भएको कुरा के हो भने, यदि पत्रकारिताले कसैलाई डिस्टर्व गरेन भने त्यो पत्रकारिता होइन ।
सीमाविहीन पत्रकारिता नामक पत्रकारहरुको एक गैरसरकारी संस्थाले यस वर्ष प्रकाशन गरेको ब्यालेन्स हेर्ने हो भने कहालीलाग्दो तथ्यांक देखिन्छ । उक्त संस्थाले हरेक वर्ष कुन-कुन मुलुकमा स्वतन्त्र पत्रकारिता देखियो, कुन कुन मुलुकमा पत्रकारहरु मारिए, कुन-कुन मुलुकमा पत्रकारहरु बन्दी बनाइए भनेर तथ्यांक दिने गर्छ । उक्त संस्था अनुसार यस वर्ष विश्वभर स्वतन्त्र पत्रकारितामाथि दबाव आएको देखिन्छ ।
स्वतन्त्र पत्रकारिताविरुद्ध एउटा उत्तेजक भाइरस लागेको छ भन्दा अत्युक्ति हुने छैन । स्वतन्त्र पत्रकारहरुका पक्षधर मानिने युरोपमा समेत पत्रकारहरु धरपकड भएका छन् । जस्तै पोलैण्ड, हंगेरी, टर्की र रस्सा आदि आदि ।
इस्लामिक मुलुकहरुको त कुरै छोडौं । पाकिस्थान, इरान, कुवेत, कतार, सउदी अरब जस्ता मुलुकहरुमा त झन् पत्रकारहरु “डर र त्रास”लाई साथी बनाएर बाँचेका हुन्छन् । एसियाकै कुरा गर्ने हो भने चाइना, भारतजस्ता ठूला मुलुकहरुमा समेत स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाइएको छ । लण्डन रिभ्यु अफ बुक्सका अनुसार इजरायलले यस वर्ष पत्रकारितामा अंकुश लगाउने काममा रसियालाई उछिनेको छ ।
पश्चिमेली धनी मुलुकहरुमा स्वतन्त्र पत्रकारितालाई पैसाको रवाफमा कठपुतली बनाइएको छ । जस्तै इटलीका पूर्वशासक शिल्भियो बेर्लुस्कोनीले आफूले भ्रष्टाचार गरेको पैसाले मिडिया हाउस किनेर त्यसमार्फत पित पत्रकारिता गराएर अन्य स्वतन्त्र पत्रकारितालाई आर्थिक संकटमा पुर्याएर बन्दै गराई मनोमानी गरिरहेका छन् ।
स्वयं स्वतन्त्र पत्रकारिताको दुहाइ दिने र सर्वोच्च अदालतले समेत स्वतन्त्र पत्रकारिताको पक्षमा बोलेको मुलुकको यस वर्ष तथ्यांक हेर्ने हो भने चिड चिड पसीना आउने छ । सीमाविहीन पत्रकारिता नामक संस्थालाई एक अन्तवार्ता दिँदै न्युयोर्क टाइम्सका पूर्व प्रधानसम्पादक क्रिष्टिआन मिहर भन्छन् “ओबामा एक यस्तो उदाहरण बनेका छन् कि जति पत्रकार र ब्लगरहरुमाथि उनका पालामा मुद्दा चलाइए, त्यति विगत ५० बर्ष सम्म चलाइएको थिएन ।”
यी पंक्तिहरु लेखिरहँदा मलाई गार्जियनका पूर्वप्रधानसम्पादक आलान रुस्बि्रजरका केही पंक्ति सम्झना आयो । ती हुन्ः “तिमी एक पत्रकार हौ, तिमी सरकारको कर्मचारी अथवा सरकारको कुनै एक भाग होइनौ । तिम्रो काम भनेको अनुसन्धान गर्नु, पत्ता लगाउनु र आफुले पत्ता लगाएको कुरा लुकाउनु होइन, सार्वजनिक गर्नु हो ।
राज्य एकातिर उभिएको छ र तिमी अर्कोतिर उभिएका छौ, किनभने तिमी प्रश्नकर्ता हौ । तिम्रो काम भनेको सार्वजनिक चासोका विषयवस्तुतर्फ ध्यान दिने र सार्वजनिक महत्वका विषयहरुलाई जिम्मेवारीपूर्वक सार्वजनिक गर्नु हो । यदि तिमीले त्यसो गर्यौ भने मात्र सार्वजनिक चासो र महत्वका विषयहरुमाथि छलफल हुने गर्छ । एक पत्रकारको हैसियतले सार्वजनिक विषयवस्तु नाप तौल गर्ने अधिकार तिमीलाई पनि त्यत्ति नै छ, जति एक प्रहरी र एक न्यायाधीशलाई छ ।”
हुन त माथि भनिएको पत्रकारिताको महत्वपूर्ण कडीबाट कहिलेकाँही हामी पत्रकारहरु पनि विचलित नभएका होइनौं । तर, उक्त कडीबाट पत्रकारहरुलाई विचलित गराउनमा राज्यको कलुशित चाहना रहेको छ । शासकहरुले पत्रकारितालाई राज्यको चौथो अंग होइन कि एउटा फेसन बनाउन चाहिरहेका हुन्छन् । त्यतिबेला पत्रकारिताले स्वतन्त्र पत्रकारिताको अनुहारमा दाग लाग्नबाट बचाउन सक्नुपर्छ । यसनिम्ति पत्रकारले विवेक प्रयोग गर्न सक्षम हुनुपर्छ ।
अहिलेसम्मको इतिहासमै पत्रकारिता यसअघि यति शक्तिशाली भएको थिएन । तर, यसका साथसाथै पत्रकारिता यति शक्तिविहीन पनि थिएन । शक्तिशाली यस मानेमा कि अनुसन्धात्मक पत्रकारिताले विश्वभिर आफ्नो जरा गाडिसकेको छ । तर, त्यो जरा उखल्ने काममा विभिन्न मुलुकका शासकहरु लागिपरेका छन् । यो पत्रकार र शासकबीचको लडाइको सबल पक्ष पनि हो । त्यसैले पत्रकारहरुले आफैले आफ्नो समीक्षा गर्नुपर्ने छ ।
हामीले के काम राम्रा गरिरहेका छौं र के काम अनुत्पादक छन् ? चिन्तन, मनन गर्नुपर्ने छ । कहाँनिर हाम्रो कमजोरी छ ? कहाँनिर हामीलाई दबाव परिरहेको छ ? कहाँ हामी असफल भएका छौं ? यीवाहेक हामीसँग अरु विकल्प छैन, किनभने पत्रकारिताबिना हाम्रो समाज इलेक्ट्रीको तार छुटाइएको मृत मसिनजस्तै हुने छ ।
हामीले जताततै लोकतन्त्र लोकतन्त्रको दुहाइ दिनेछौं समाचार शून्य हुनेछ । त्यसैले पत्रकारितालाई स्वतन्त्रता प्रदान गर्नु शासकहरुको काम हो भने सार्वजनिक चासोका विषय-वस्तुतर्फ ध्यान दिने र सार्वजनिक महत्वका विषयहरुलाइ जिम्मेवारीपूर्वक सार्वजनिक गर्नु पत्रकारको काम हो . (गत बर्ष मैले अन्लाईनखबर कालागि लेखेको यो लेख वर्तमन अवस्थाको कुराहरु थपी पुन प्रकाशित गरेको छु । )