प्रचण्डले घनश्याम भुसालको दस्ताबेज चोरेकै हुन्?

हालै हेटौंडामा सम्पन्न एनेकपा माओवादीको महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकेा दस्तावेज एमाले नेता घनश्याम भुषालको दस्तावेजको फोटोकपी भनेर प्रतिनिधिहरूले टिप्पणी गरे। एमालेका युवा नेता घनश्याम भुसालले पार्टीको आठौं महाधिवेशनमा फरकमतको रुपमा प्रस्तुत गरेकेा दस्तावेजलाई एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो बनाएर हालै सम्पन्न सातौं महाधिवेशनकेा दस्तावेजमा पेश गरेको भनी चर्चा भइरहेको सन्दर्भमा अध्ययनका लागि भनि यही हो प्रचण्डले चोरेको एमालेको सम्पती- घनश्याम भुसाल को शिर्षकमा साँघु साप्ताहिकले प्रकाशित गरेको रहेछ

घनश्याम भुषालको दस्तावेजको अंश
कम्युनिष्ट आन्दोलनको इतिहास र खासगरी चिनियाँ क्रान्तिका अनुभवका आधारमा हामीले के कुरा मान्दै आएका छौँ भने ‘अर्द्ध–सामन्ती तथा अर्द्ध–औपनिवेसिक’ समाजहरू समाजवादमा पुग्नुअगाडि ‘नयाँ जनवादी’ वा ‘नयाँ पुँजीवादी’ चरण पूरा गर्नुपर्छ, किनकि एकातिर त्यस्ता समाजका उत्पादक शक्तिहरू समाजवादका लागि आवश्यक पर्ने गरी विकसित भइसकेका हुँदैनन् अर्कातिर त्यस समाजका उत्पादक शक्तिहरूको विकासमा ‘अर्द्ध–सामन्ती, अर्द्ध–औपनिवेशिक’ सम्बन्ध बाधक रहने हुँदा क्रान्ति अनिवार्य हुन्छ। जुन समाजको पुँजीवादी विकास भइसकेको छ, उत्पादक शक्तिहरूको अझ विकासका लागि स्वयं पुँजीवादी उत्पादन सम्बन्ध बाधक भएकाले ती उत्पादक शक्तिहरूको विकासको बाटो खोल्न समाजवादी क्रान्ति गर्नुपर्छ।
क्रान्ति सम्बन्धी अनुभवमा आधारित उक्त सैद्धान्तिक ढाँचालाई हाम्रो सामाजिक अवस्थामा राखेर हेरौं: नेपाली समाज मूलतः पुँजीवादमा प्रवेश गरिसकेको छ। तर यो पुँजीवाद उद्यमशील पुँजीवाद होइन जसले उत्पादक शक्तिको विकास गरोस्। यो दलाल चरित्रको पुँजीवाद भएकाले अविकसित उत्पादक शक्तिलाई विकास गर्न योगदान गर्दैन, बरु अविकसित बनाइरहन नै योगदान गर्छ। यदि हाम्रो समाज औद्योगिक पुँजीवादमा प्रवेश गरेको हुन्थ्यो भने त्यसलाई विकसित गर्दै हामीले समाजवादको आधार तयार गर्थ्यौ। उत्पादक शक्तिको पर्याप्त विकास अर्थात् राष्ट्रिय पुँजीको पर्याप्त विकास समाजवादको लागि पूर्वसर्त हो, हामीकहाँ राष्ट्रिय पुँजीको विकासमा दलाल पुँजीवाद बाधक छ भन्ने तथ्य अगाडि राखेपछि त्यसको स्वाभाविक निष्कर्ष हुन्छ: हाम्रो कार्यभारले दलाल पुँजीवादको ठाउँमा त्यस्तो सामाजिक–आर्थिक व्यवस्था स्थापित गर्नुपर्छ, जहाँ उद्यमशील पुँजीको विकासका लागि परिस्थिति अनुकूल होस्। अथवा, उत्पादक शक्तिले विकास गर्ने उपयुक्त परिस्थिति बनोस्। यसरी यो राष्ट्रिय पुँजीको विकास गर्ने चरण हो। उत्पादक शक्ति र सम्बन्धमा आउने उद्यमशील पँुजीवादी परिवर्तनले सामाजिक बनोट पनि त्यस अनुसार नै रुपान्तरित हुँदै जानेछन्। समाजवादमा पुग्नुभन्दा पहिले क्रान्तिको यस चरणले धेरै लामो समय लिनेछ। अनि, त्यो निजी पुँजीको स्वच्छन्दतामा आधारित सामाजिक–आर्थिक व्यवस्था पनि होइन, किनकि त्यस्तो पुँजी अहिलेको युगमा साम्राज्यवादी पुँजीसँग जोडिएको हुन्छ। त्यस्तै, यसले निजी पुँजीको उन्मूलन पनि गर्दैन किनकि अहिले उद्यमशील पुँजीको विकासका लागि निजीपुँजी सहयोगी हुन्छ। यो वैदेशिक पुँजीमा भरपर्दैन, तर यसले वैदेशिक पुँजीसँग सम्बन्ध विच्छेद पनि गर्दैन बरु आन्तरिक उत्पादक क्षमतालाई विस्तार गर्ने वैदेशिक पुँजीलाई भित्र्याउँछ। यसरी यो अवस्था समाजवादमा संक्रमणको अवस्था भन्दा पहिलेको सामाजिक–आर्थिक व्यवस्था हुन्छ। त्यसैले यो जनवादी क्रान्तिको अवधि हो। यो अवधि कति लामो हुन्छ भन्ने कुरा उत्पादक शक्तिहरूको विकास कति द्रुतताका साथ हुन्छ भन्ने कुरामा भर पर्छ।
हाम्रो क्रान्तिको वर्तमान चरण र ‘नयाँ जनवाद’ मा केही समानता र केही भिन्नताहरू छन्। नयाँ जनवादको कार्यभार राष्ट्रिय पुँजीको विकास गर्नु थियो, अहिले हाम्रो क्रान्तिको कार्यभार पनि राष्ट्रिय पुँजीको विकास गर्नु हो नयाँ जनवाद समाजवादपूर्वको संक्रमणकालीन सामाजिक–आर्थिक व्यवस्था थियो, समाजवादपूर्वको संक्रमणकालीन सामाजिक–आर्थिक व्यवस्था स्थापना गर्नु यस चरणको लागि हाम्रो पनि कार्यभार हो। नयाँ जनवाद साम्राज्यवाद विरोधी तथा समाजवादी नयाँ विश्वव्यवस्थाको अङ्ग थियो, हाम्रो क्रान्तिले पनि साम्राज्यवाद विरुद्ध समाजवादको पक्षपोषण गर्छ। तर, नयाँ जनवादले कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गलेे मात्रै क्रान्ति सम्पन्न गर्छ भन्ने मान्यता राख्दथ्यो, हामीकहाँ श्रमजीवी वर्ग र पुँजीपति वर्गको नेतृत्वमा पुँजीव्ाादी राजनीतिक क्रान्ति सम्पन्न भइसकेको छ नयाँ जनवादले दलाल पुँजीवादी सामाजिक चरित्रको परिकल्पना नै गर्दैन, अहिले नेपाली समाजको विकासको बाधक दलाल पुँजीवाद छ नयाँ जनवादी क्रान्ति राज्यलाई ‘ध्वस्त गर्ने’ रणनीति र कार्यनीतिहरूको योग थियो, हाम्रो राजनीतिले राज्यलाई रूपान्तरण गर्छ नयाँ जनवादले राजनीतिक प्रतिस्पर्धाका लागि ठाउँ दिँदैन, हाम्रो क्रान्ति राजनीतिक–विचारधारात्मक प्रतिस्पर्धाबाटै विकसित हुन्छ, आदि। हाम्रो क्रान्ति प्रजातान्त्रिक राजनीतिक प्रतिस्पर्धाबाट विकसित हुनेहुँदा यो सामाजिक जनवादसँग पनि नजिक छ तर पछिल्लो सामाजिक जनवाद कम्युनिष्ट आन्दोलनको विरुद्ध र साम्राज्यवादको पक्षमा उभियो जबकि हाम्रो समाजवाद कम्युनिष्ट आन्दोलनबाटै विकसित हुन्छ र कम्युनिष्ट आन्दोलनका कमजोरीलाई हटाउँदै अगाडि बढ्छ।
आज हामी जहाँ छौँ त्यो दलाल पुँजीवादी अवस्था हो। हामी जहाँ जान चाहान्छौँ त्यो समाजवादी व्यवस्था हो। यसरी हाम्रो लक्ष्य समाजवाद हो। तर त्यहाँ पुग्नु भन्दा पहिले हामीले राष्ट्रिय पुँजीवादको एउटा चरण पूरा गर्नु पर्नेछ। त्यो चरण आफैमा एउटा सामाजिक–आर्थिक व्यवस्थाको चरण भएकोले त्यसको आफ्नै कायैक्रम हुनुपर्छ। हामीले यो चरणको कार्यक्रमलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्दै आएका छौँ। यसरी बहुदलीय जनवादी चरण समाजवादमा पुग्ने बाटो हो। यसले एकातिर हाम्रो तात्कालिक उद्देश्यलाई र सँगसँगै दीर्घकालिन लक्ष्यलाई पनि बताउँछ। यसको अर्थ के हो भने जनताको बहुदलीय जनवादी चरणको वर्तमान अवस्थामा राष्ट्रिय पुँजीको विकास गर्दै र दलाल पुँजीवादलाई विस्थापित गर्दै जान्छौँ, यो आफैमा विकासको लामो प्रक्रिया अन्तरगत हुनेछ र त्यस प्रक्रियामा परिवर्तित अवस्था अनुसार जनताको बहुदलीय जनवादको ठोस कार्यक्रम बनाइने छ। जनवादी क्रान्तिको नेपाली स्वरुप जनताको बहुदलीय जनवाद भएकोले नेपाल जनताको बहुदलीय चरणमा प्रवेश गरिसकेको छ।
परम्परागत कम्युनिष्ट मान्यताहरूका कारणले गर्दा हामीले नेपाली जनवादी क्रान्तिको विशिष्ठतामाथि कम अध्ययन गरेका छौँ। यसमा रहेका अस्पष्टताहरूका कारणले सबजसो कम्युनिष्ट पार्टीहरूले आफ्नै पार्टीको हातमा सम्पूर्णसत्ता नआउञ्जेलसम्म जनवादी क्रान्ति भएकै छैन भन्ने मान्यता बनाउने गरेका छन्। हामीभित्रै पनि फेरि जनवादी क्रान्ति वा जनताको बहुदलीय जनवादी क्रान्ति गर्नुपर्छ भन्ने भ्रम छ। वस्तुतः राजनीतिक क्रान्तिको हिसाबले अब फेरि अर्को कुनै क्रान्ति हुने छैन। नेपाल जनताको बहुदलीय जनवादी चरणमा प्रवेश गरिसकेको हुँदा क्रान्तिकारीहरूको काम जनताको बहुदलीय जनवादका कार्यभारहरू पूरा गर्दै समाजवादका आधारहरू तयार गर्नु नै अहिलेको आम कार्यभार हो। २०६२/६३ मा सम्पन्न भएको क्रान्तिका कार्यभार पूरा गर्न नसक्दा फेरि प्रतिक्रान्ति हुने सम्भावनालाई इन्कार गर्न सकिन्न। त्यसरी फेरि प्रतिक्रान्ति भयो भने पनि त्यसपछि यहि क्रान्तिको पुनरावृत्ति हुनेछ, जसरी २००७ साल र २०४६ सालका क्रान्तिहरू भएका थिए र २०१७ साल र २०५९ तथा २०६१ सालमा प्रतिक्रान्तिहरू भएका थिए।

अन्य पठनीय सामाग्रीहरु

https://www.theglobal.co.uk/2012/06/447

https://www.theglobal.co.uk/2010/05/34

https://www.theglobal.co.uk/2012/06/525

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *