—शशी पौडेल
“आज भन्दा तीन दशक अघिको मात्र कुरा हो हामी काठमाण्डौबाट भक्तपुर, भक्तपुरबाट ललितपुर के रात के दिन ढुक्कसंग हिड्थ्यौं । कुनै खतरा महशुष हुन्थेन । सबै सुरक्षित थियौं । कसैले त्यहाँ लप्पन छप्पन गर्थेन । हामी नेपाल जानु अघि समेत हामिलाइ नेपालमा कुनै खतरा मोल्नु पर्दैन भनेर सिकाइन्थ्यो । नत हामीलाइ बाटोमा कसैले छेणखान गथ्र्यो, न त कुनै ट्याक्सी चालकले हामीलाइ ठग्यो, न त यात्रुहरुले ट्याक्सी चालकलाइ ठगेको खबर सुनियो । काठमाण्डौ रत्नपार्कबाट पाटनढोका सम्म पुग्न बसभाडा २० पैसा मात्र थियो । १९८२ देखि १९८५ सम्म म काठमाण्डौमा कार्यरत रहें । नेपाल यति शान्त थियो, अहिले यी कुराहरु गर्दा सायद पौराणिक कथा जस्तो लाग्ला किनभने अहिले नेपालमा अपराध यति चुलियो कि यो भन्दा बढि माथि चुलिने कुनै ठाउनै छैन जस्तो लाग्छ ।”
उक्त कुरा गुण्टर स्प्रेङ्गरले एक प्रसंगमा भनेका हुन् । एक जर्मन नागरिक जसले शाही नेपाल बायुसेवा निगमको एरोनटिक एन्जिनियरका रुपमा २०३८ देखि २०४१ साल सम्म काठमाण्डौमा काम गरेका थिए । जर्मनीको सेना बुण्डेसबयरमा एरोनटिक इन्जिनियरको पढाइ सके पछि उनि साउदी अरब, रुसको मास्को हुदै काठमाण्डौसम्म काम गर्न पुगेका थिए ।
कसरी तपाइ संसारका बिभिन्न मुलुकमा कामका निम्ति पुग्नु भयो त ? भन्ने जिज्ञासा राख्दा उनि भन्छन् ,—“दोस्रो बिश्वयुद्धमा जर्मनीले गुमाएको दक्षता बिस्तारै बिकाश गर्दै थियो अनि ७० को दशक सम्म आइ पुग्दा हामिले बिश्वका बिभिन्न मुलुकहरुमा हाम्रो शिप र दक्षता निर्यात गर्न सक्ने भैसकेका थियौं । अर्को तिर केही मुलुकहरुमा हवाइसेवा भर्खर भर्खर सुरु भएको थियो । हवाइजहाज बनाउने वा मर्मत संभार गर्ने इन्जिनियरहरु र बिज्ञहरु कम थिए । अनि जर्मनीले आफ्नै श्रोतमा संसारका बिभिन्न मुलुकमा दक्ष जनशक्ति पठाउनेक्रममा म छानिए ।”
जर्मनीको बायुसेवा निगम लुफ्तहान्साका इन्जिनियर लुफ्तहान्सासंगको संझौता अन्तरगत संसारका बिभिन्न मुलुकमा काम गर्न जाने क्रममा नेपाल पुगेका थिए उनि । उनको काम एउटा मुलुकमा जाने अनि त्यहाँ केही दक्ष जनशक्ति तयार गर्ने अनि अर्को मुलुक जाने र त्यहाँ अरु दक्ष जनशक्ति तयार गर्ने थियो । नेपाल पछि उनि केही समयका लागि मलेसिया पुगे । मलेसियामा कार्यरत रहदा पनि उनि बर्षको एक वा दुइ पटक नेपाल पुग्ने गर्दथे । हाल उनि जर्मनीको हामबर्गमा बसे पनि उनको धेरैजसो समय नेपालको चिन्तनका लागि खर्चिएका हुन्छन् । राजनितिमा कुनै चासो राख्न नचाहने गुण्टरले नेपालको अहिलेको अवस्था आउनुमा नेपालका माओबादीहरु र माओबादी जन्माउने तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाइ दोषी ठान्छन् ।
“मैले संसारका आधा दर्जन भन्दा बढी मुलुकहरुमा काम गरें । त्यहाका युवा पिढीलाइ तालिम दिएं । धेरै जसोको म आदरणीय एवं प्रिय शिक्षक बने । म जहाँ पुगे मैले त्यहाँ इमान्दारितापुर्बक काम गर्ने प्रयास गरें । त्यहाँको कला संस्कृतिलाइ आत्मसात गरें । म जहाँ जान्थे त्यहाँ सर्वप्रथम मैले कसरी स्थानीय ब्यक्तिहरुसंग घुलमिल गर्ने भनेर योजना बनाउथें । त्यहाँको स्वभाव र चाल चलन अध्ययन गरेर त्यहाँका स्थानीय जनतासंग संगत बढाउथें जवकि मसंगै जाने अन्य साथीहरुले त्यहाँको खाना, रहनसहनका र बोली चालीका बारेमा नकारात्मक प्रतिकृया दिन्थे । तर मैले त्यसको बिरुद्ध त्यहाँ सहज रुपमा काम गर्न र त्यो मुलुकमा आफ्नो शिप लगानी गर्ने मेरो प्रमुख लक्ष्य रहन्थ्यो ।”
उनले आफ्नो बारेमा यसरी बताइरहेकै बेला बीचमा रोकेर तपाइ जर्मन नागरिक संसारका आधा दर्जन भन्दा बढी मुलुकहरुमा काम गर्नु भयो तर किन नेपालकोनै छाप तपाइलाइ अहिले सम्म सकारात्मक भएर बस्यो ? भनेर प्रश्न गर्दा उनि भन्छन्, “म आफु पुगेर काम गरेका मुलुकहरुको तुलनामा नेपाल आफैमा उच्च छ । म सुन्छु अचेल नेपालीहरुले गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर गर्ब गर्दछन् त्यो आफ्नै ठाउमा होला तर मेरो बिचारमा नेपालीहरुले नेपाल प्रति गर्ब गर्न न त गौतम बुद्धको नाम लिनु पर्छ न त सगरमाथाको चुचुरो देखाउनु पर्छ । नेपालीहरु आफैमा यति महान थिए जुन कुरा हामी युरोपियनहरुले कल्पना समेत गर्न सक्तैनौं । तर अहिले ……….? ”
कुरा गर्दा गर्दै गुण्टर ठक्क रोकिए र एक क्षेण भाबुक बने । मैले अगाडी बोल्न आग्रह गर्दै सोधें, ती के कुरा हुन् जुन हामी नेपालीहरुले आफैमा गर्ब गर्न सकौं ? उनी बोल्न थाले ।
“हेर्नुहोस् नेपाली नेपालीबीचको धार्मीक सहिष्णुता, बिभिन्न धर्म, जात, जातीको कला र संस्कृतिको संगम, निस्वार्थ सहयोगको भावना, आफु भोकै बसेर भएपनि पाहुनाहरुको सत्कार गर्ने परम्परा । एकले अर्को प्रति गर्ने आदर सम्मान र स्वीकार गर्ने मनोबिज्ञान । यी भन्दा ठुलो पुँजी मानिसमा के हुन सक्छ ? ती सबै नेपालीहरुमा थियो । त्यहाका जनता गरीव थिए, तर उनिहरुसंग भएको सामाजिक, साँस्कृतिक एवं आचरण पुँजीलाइ क्यासमा परिणत गर्न सकेको भए नेपाल यति धनी हुने थियो कि जसको कल्पना गर्दा समेत मलाइ गौरव लाग्छ । भारत भन्दा धनी कती कती धनी । सारा बिश्वले नेपालीहरुलाइ एक शान्ती पे्रमी देशका आदरणीय जनता भनेर हेर्ने थिए । तर दुर्भाग्य १९९० को परिवर्तन पछि नेपालको बागडोर गलत मान्छेहरुको हातमा पुग्यो । घमण्डी, चतुर र स्वार्थी मानिसहरुको हातमा पुग्यो । त्यहाँको राजपरिवारले भन्दा पनि अझ उग्ररुपमा आफ्नो पार्टी मेरो परिवारको पार्टी हो र यो देश मेरो परिवारको हो भन्ने मनोबिज्ञानले केही नेताहरु प्रेरित भए र त्यही मनोबिज्ञान लिएर पार्टी र राज्यको सत्ताको कुर्चीमा टासिइरहे । अनि उनिहरुले पार्टी पाल्न, गुण्डा पाल्न र नितान्त आफ्नो ब्यक्तिगत स्वार्थहितका निम्ति बिभिन्न आर्थिक अपराधमा संलग्न हुन थाले । पहाडे, हिमाले र तराइबासी भनेर फुटाए । जनजाती र चुच्चे बाहुन क्षेत्री भनेर मनमुटाव गराए । थुप्रै भ्रष्टाचार गरे । अरु त अरु शाही नेपाली बायुसेवा निगमलाइ समेत खाल्टोमा हाले । अन्तरराष्ट्रिय उडान बन्द गराए । भ्रष्टाचार जताततै सलह जस्तै फैलियो । भ्रष्टाचार भनेको रुखमा लाग्ने ऐजरु जस्तै हो । ऐजरु लागेपछि रुख मर्नु न बाँच्नुको अवस्थामा पुग्छ । त्यस्तै भ्रष्टाचारले मुलुकलाइ मर्नु न बाँच्नुको अवस्थामा पुर्याउछ । नेपाल अहिले त्यस्तै भएको छ । ” उनि अगाडी बोल्दै गए, “ बायुसेवा निगम भनेको आफ्नो मुलुकको ध्वजा अन्तरराष्ट्रिय स्तरमा फहराउने साधन हो । त्यसलाइ समेत ध्वस्त पारे । यस्ता राष्ट्रघातीहरु छन् नेपालमा । सानो पैसामा बिक्ने नेताहरु जन्मे नेपालमा । तै पनि नेपालका लागि केही गर्न सकियोस् भन्ने उद्धेश्यले मैले गत २००७ सालमा केही साथीहरुको सहयोगबाट “चान्स फर लाइफ नेपाल” नामक एउटा संस्था गठन गरेर सानो तिनो सहयोग पुर्याउदै आइरहेको छु । हुनत यो नेपालका लागि घामको रापले तातेको बालुवामा एक थोपा पानी सरह मात्र हुने छ ।”
तपाइले जर्मनीमा गठन गरेको यो संस्था “चान्स फर लाइफ नेपाल”को मुख्य उद्धेश्य के हो र यहाँबाट कसरी नेपालमा सहयोग पुर्याउदै आउनु भएको छ ? भनी सोधेको प्रश्नमा उनि यसरी उत्तर दिन्छन्, “पिछडिएका र आफ्नै श्रोत र साधनबाट स्कूल जान नसक्ने बाल बालिकाहरुलाइ शिक्षाको उज्यालो घाम देखाउने हाम्रो उद्धेश्य हो । अहिले सम्म हामीले झापामा एउटा प्राथमिक बिद्यालय र सुनसरी जिल्लामा एउटा माध्यमिक बिद्यालयलाइ नेपालमा कार्यरत एन् जी ओ होष्टे हैसे मार्फत सहयोग पुर्याउदै आइरहेका छौं भने नवलपरासीमा पनि एउटा नर्सरी स्कूलमा सहयोग गर्दै आइरहेका छौं । यस बाहेक हामीले सिधै १४ जना छात्र छात्राहरुलाइ स्पोन्सर गरेका छौं । उनिहरुको पढाइ खर्च हामीले यहाँबाट सिधै पठाउने गरेका छौं । यदि कोही सहयोगी हात हुनुहुन्छ भने संसारको कुनै पनि कुनाबाट हामी मार्फत नेपालका गरीब र असक्त बिद्यार्थीहरुलाइ स्पोन्सर गर्न सक्नुहुने छ । हामीले नर्सरी देखि उच्च माबि सम्म सहयोग पुर्याउने उद्धे्रय राखेका छौं ।”
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................
4 Responses to नेपाल एक बिदेशीको आँखामाः पहिले र अहिले