गोबिन्द वर्तमानको मृत्युको खबरले म स्तव्ध भएं । एक होनहार साहित्यकार कबि भाबुक एवं नरम स्वभावका हुदा हुदै पनि राजनैतिक बिचार भने उनको स्पात जस्तै बलियो थियो । उनी आफुलाइ मन नपरेका ब्यक्तिहरुसंग ठोक्किन मन पराउन्नथे । उनिसंग मेरो २०३९ सालमा पहिलो पटक भेट भएको हो । यो भेटले २०४५ साल सम्म निरन्तरता पायो । एक आपसमा राजनैतिक छलफल गर्ने एक प्रकारको थलो बनाएका थियौं भैरहवामा । उनको र मेरो बीचमा चुरोट पिउने कुरा देखि राजनैतिक बिचार सम्म मत भिन्नता थिए । तर पनि हामी दुइबीच भिन्न चरित्र, भिन्न राजनैतिक बिचार, भिन्न सोचाइ राख्ने भिन्न्ताकै बीचमा मित्रता गासिएको थियो ।
२०३९ सालमा उनि काठमाण्डौबाट भैरहवा झरेका थिए । म प्रताप कुमार भट्टचनद्धारा सम्पादित एवं प्रकाशित दैनिक निर्णयको सह सम्पादक थिएं । गोबिन्द त्यही काम गर्न आइपुगे । उनि त्यतिखेर यस्तै २२, २३ बर्षका हुदा हुन् । पत्रकारितामा भन्दा साहित्यमा बढी दखल भएका गोबिन्द वर्तमान हर समय गीत गुनगुनाउन मन पराउंथे । तर राम्रोसंग गीत गाएको भने मैले कहिल्यै सुनिन । पत्र पत्रिका साथै साहित्य रचना अध्ययन गर्न मन पराउंथे उनि । खाली समयमा कतै पुस्तक पसल वा कही कुनै मित्रसंग गफगाफ गर्दै गरेको भेटिन्थे ।
यस्तै २०४० साल बैशाख वा जेष्ठ तिरको कुरा हो, प्रताप कुमार भट्टचनले मलाइ गोबिन्द बर्तमान कार्यालयबाट निस्कीसकेपछि आफ्नो छापाखानाको कार्यालय तिर डाके । त्यहाँ डाक्नु भनेको यात पुरस्कार दिन हुन्थ्यो यात सजाय दिन । अन्य सामान्य कामका लागि भने प्रताप दाइ आफै दैनिक निर्णयको कार्यकक्ष भित्र पस्थे । उनका भाइ गोपाल भट्टचन पनि साथमा थिए । प्रताप दाइले यो संसार छोडेर गएको पनि निकै भैसक्यो । गोपाल दाइ अहिले कहाँ छन् मलाइ कुनै खबर छैन अहिले ।
प्रताप दाइले मलाइ त्यहाँ किन डाके खुल्दुली लागीरहेको थियो । यसैबीच प्रताप दाइले सोधे, शशी भाइ तपाइले दैनिक निर्णय एक्लै धान्न सक्नुहुन्छ ? बरु मैले एक जना कोही सम्बाददाता थपिदिन्छु, किन भने पत्रिकाबाट त कुनै खास आम्दानी हुदैन, सबै प्रेसले बेहोर्नु पर्छ । गोबिन्दजी हामीलाइ अली महंगो पर्नु भयो । मैले कुरा नबुझे जस्तो गरि किन भनेर सोधें । गोपालले त्यत्तिखेरै पत्रिका प्रकाशनमा लाग्ने खर्चको फेहरिस्त लगाए । उनिहरुको आशय बुझेर पनि मलाइ परिस्थिती बुझ्न कठिन भैरहेको थियो ।
दाइ ! मैले यसको जवाफ भोली दिए हुन्छ होला ? डराइ डराइ प्रश्न गरें । प्रताप दाइले भने खर्च निकै छ शशी भाइ हामीले गोबिन्द जीलाइ बिदा दिनु पर्छ । मैले प्रतिकार गर्दै भनें होइन होइन दाइ अर्को बिकल्प खोज्नु पर्छ । गोपालले सोधे त्यो के हुन सक्छ ? मैले थपें हेर्नुस दाइ म स्थानीय ब्यक्ति हुं, मेरो यही नजिकै खेती पाती छ, घर छ । मलाइ एक छाक खाने समस्या नपर्न सक्छ । तर गोबिन्द जी काडमाण्डौबाट आएका हुन्, उनि यहाँ डेरा गरेर बस्दछन् । उनले डेरा भाडा तिर्नु पर्छ । हर पाइलामा उनलाइ पैसा चाहिन्छ । भकारीबाट धान झिकेर कुटेर भात पकाउन सक्तैनन् उनले यहाँ । यदि उनले दैनिक निर्णय एक्लै चलाउन सक्छन् भने यो बिकल्प बेश हुने छ ।
प्रताप दाइ मेरो कुरा प्रति असहमत हुदै भने भैरहवा मण्डलेहरुको बिग्बिगी भएको ठाँउ हो । यहाँ तपाइ स्थानीय भएकाले झट्ट हात हाली हाल्न सक्दैनन् । गोबिन्द बाहिरका हुन् ।
मैले प्रतिबाद गर्दै भने, दाइ त्यसो होइन, उनि पत्रकारितामा एकदम ठीक छन् । उनमा समाचार क्याच गर्ने क्ष्यमता छ । समाचारको अगाडि र पछाडिको पाटो हेर्ने उनको बिषेशता छ । हो साहित्य साधना उनको नसानसामा बसेको छ । तर पत्रकारितामा हुनु पर्ने धर्म निर्बाह गर्न पनि उनि त्यक्तिकै योग्य छन् । दाइ ! बरु गोबिन्दसंग हामी सबैजना बसेर कुरा गरौं । मलाइ बिश्वास छ उनले आफ्नो सक्षमता प्रदर्शन गर्ने छन् । बरु मैले बाहिरबाट सहयोग गर्ने छु । यदि हुदै भएन भने म जुन सुकै बेला पनि दाइकोमा हाजीर हुने छु । कमसेकम कोशिष गरेरत हेरौं ।
प्रताप दाइले केही असन्तुष्टी जनाउदै मेरो आग्रहलाइ स्वीकार गरे । गोबिन्द बर्तमान र म बीच केही राजनैतिक भिन्नता त थियो नै । उनि नेकपा मसालसंग नजिक थिए । म भने अहिलेको एमाले अर्थात त्यतिखेर नेकपा माले । मेरो पार्टी भित्र लुम्बिनी अञ्चल क्षेत्रीय कमिटीको सेल्टरको जिम्मा थियो । दैनिक निर्णय यसरी छोड्दा मैले पार्टीलाइ सोधिन । छोडे पछि मात्र खबर गरें । त्यही साँझ कामरेड गौरब (प्रदीप नेपाल) बुटवल आइपुगे । उनलाइ घटनाको बेलीबिस्तार लगाएं । उनको अनुहार त्यति खुसी देखिएन । मैले उनको चिन्ता बुझ्न सक्थें । दैनिक निर्णयको बुटवल, भैरहवा मात्र होइन लुम्बिनी अञ्चलभर एक प्रकारको इज्जत थियो । यो पत्रिका लुम्बिीनी अञ्चलको पहिलो दैनिक थियो । यो पत्रिकाको नाम लुम्बिनी अञ्चलभरका राजनैतिक सजग हर ब्यक्तिको मुखमा थियो । अघि रामचन्द्र भट्टराइ यसको सम्पादक हुदा सम्म पार्टीको बिचार, समाचार आदि बिना रोक तोक प्रकाशन हुन्थ्यो । त्यस पछि म आएं । पार्टीबाट आएका समाचारहरु प्रकाशनमा कुनै बन्देज थिएन । तर गोबिन्द बर्तमानले हाम्रो पार्टीका खबरहरु अव हुबहु जस्ताको तस्तै छाप्ने छैनन् ।
मैले प्रतापदाइसंग अघिल्लो दिन बरु मैलेनै दैनिक निर्णय छोड्ने भनी प्रस्ताव राख्दा यसबारे पटक्कै सोचेको थिइन । मेरो सोचाइ मात्र के कुरामा केन्द्रित थियो भने, भैरहवामा मण्डलेहरुको जगजगी थियो, सागर प्रताप राणा प्रधानपञ्च थिए, दीपक बोहराका युबाहरुको यत्र तत्र उपस्थिती र बिग्बिगी थियो । कुनै बौद्धिक एवं साहित्यिक माहोल थिएन । दानबहादुर शाही प्रमुख जिल्ला अधिकारी थिए । प्रशासनको दबदवा थियो, प्रशासन र दीपक बोहराका लाउकेहरुका लागि सबै खुल्ला थियो तर इतर राजनैतिक बिचारधारा राख्नेहरु खुल्ला राजनैतिक बहस वा छलफल गर्नबाट पनि बन्चित थिए । साहित्य र बौद्धिकताको कुनै कदर थिएन । मानौ भैरहवा बजार साहित्यमा सुख्खा लागेर जर्जर फुटेको थियो । साहित्यको अनिकाल लागेको ठाँउमा कता कताबाट आइपुगेको एउटा साहित्यकारलाइ बचाएर राख्न पाएमा हामी भैरहवा बासीका लागि मल्हम पट्टी हुने छ कि भन्ने मनोबिज्ञान म भित्र जागेको थियो ।
मैले सिक्काको एकातर्फको पाटो मात्र हेरेर मूल्य तय गरेको रहेछु । त्यसको अर्को पाटो पनि हुन्छ भन्ने तर्फ ध्यान नै पुगेनछ । सायद त्यो मेरो अनुभवको कमि थियो । तर अन्जानमै भए पनि त्यसलाइ परिपुर्ती गर्ने काम भने भएको रहेछ । दैनिक सिद्धार्थका सम्पादक बाबुराम अर्यालले मलाइ दैनिक सिद्धार्थको सम्पादन गर्न आग्रह गरेका थिए । त्यो खबर पनि मैले कामरेड गौरवलाइ सुनाए । त्यस पछि भने उनको अनुहारमा रंग फेरियो ।
केही समय पछि म काठमाण्डौ तिर लागें, गोबिन्द बर्तमान पनि काठमाण्डौ फर्केछन् । अनि काठमाण्डौमा पनि उनि र म संगै काम गर्ने मौका मिल्यो, साप्ताहिक बिमर्शमा । मलाइ लाग्छ उनले २०४४ सालको चैत्र सम्म साप्ताहिक बिमर्शमा काम गरे क्यार ! उनले बिमर्श छोडे पछि हामी सम्पर्क बिहिन भयौं । उनिसंग सम्पर्क छुटेको दुइ दशक पछि मैले कान्तीपुर दैनिकमा उनको एउटा लेख फेला पारें । उक्त लेखमा उनले दैनिक निर्णय र प्रताप दाइका बारेमा समेटेका थिए । उनको अर्को अमेरिका जानेहरुका दुःख भन्ने लेख पनि कान्तीपुरमै पढें । जुन लेख बिदेशिएका नेपालीहरुका लागि अत्यन्तै रोचक र शिक्षाप्रद लागेर उनको अनुमतीमा एभरेष्ट टाइम्स साप्ताहिकमा पुन प्रकाशित गरिदिएको थिंए । यिनै शब्दगुच्छा सहित गोबिन्द बर्तमानको दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त पविार प्रति हार्दिक समबेदना ब्यक्त गर्न चाहान्छु ।
दैनिक निर्णय र गोबिन्द बर्तमान
Bookmark the permalink.
दाइको यो लेख राम्रो लाग्यो। उनका नखोतलिएका धेरै प्रसंग रहेछन् बर्तमानबारे। तर पढ्दै जाँदा अन्तिममा के के छुटाउनु भएको भान भो ।
गोविन्द वर्तमानका बारेको लेख राम्रो लाग्यो साथै हजुरको राम्रो सम्बन्ध रहेकोमा खुशी पनि लाग्यो !