सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण र यहाँको शान्ति देख्दा म खुसी भएको छु। हाम्रो योगसुत्रमा सबैभन्दा पहिलो पाइला वातावरण, परिवेश शान्त हुनुपर्छ भनेको छ। त्यसले मात्र चेतनाको अन्तिम सिँढी, त्यो गहन शान्तिमा मानिस पुग्नसक्छ भनिएको छ। किसुनजीको आश्रममा पनि त्यो शान्ति कायम राखिएको म त्यो व्यवस्था गर्नेप्रति धन्यवाद दिन चाहन्छु।
किसुनजी भन्नासाथ हाम्रो आँखामा के दृश्य आउँछ भने काँधमा छाता, हातमा लौरो बोकेर निस्किएको आकृति। प्रधानमन्त्री भइसकेपछि पनि काँधमा छाता ओढेर मैले पीरमा पर्नु छैन, हातमा लठ्ठी लिएर मैले कसैलाई दण्डित गर्नुछैन र सुराही बोकेर मैले सुरा गर्नुछैन भन्दै आफ्ना स्वार्थ त्यागेर निरन्तर देश र जनताको सेवामा लागिरहने एउटा विम्ब प्रस्तुत गर्ने एउटा रुप किसुनजी वास्तविक सन्त हुन् भन्ने लाग्छ।
किसुनजी सबैभन्दा पहिला प्रधानमन्त्री भएको मैले फोन गरेँ। उहाँ फोनमा सजिलै उपलब्ध हुनुभयो। मैले उहाँलाई हार्दिक धन्यवाद दिएँ। उहाँले भन्नुभयो, मेरो जीवनको लक्ष्य मुक्ति हो।
मेरो हृदयमा एउटा झंकार उत्पन्न भयो। एउटा नेता मुक्तिका लागि काम गरिरहेको छ। उहाँले तपाईंहरुले पनि मलाई सहयोग गर्नुपर्यो भन्नुभयो।
उहाँले म मुक्ति चाहन्छु भन्नुका दुई अर्थ हुन् भन्ने मलाई लाग्यो। जनताको निम्ति, स्वतन्त्रता प्राप्तिको निम्ति जुन मुक्ति चाहिएको छ, त्यो मुक्तिको कुरा गरिरहनुभएको छ उहाँ।
उहाँको व्यक्तिगत जीवनको उद्देश्यचाहिँ मुक्तिकै चाहना थियो। जसले अन्तिमसम्म मुक्ति चाहन्छ, ऊ निरपेक्ष हुन्छ। त्यो निरपेक्षताभित्र एउटा गम्भीरता थियो। निरपेक्ष भाव यसको परिकल्पना हाम्रो संस्कृतिमा धेरै पहिलेदेखि नै थियो।
हाम्रो जीवनको उद्देश्य र आचरण कस्तो हुनुपर्छरु निरपेक्ष भाव हुनुपर्छ हामीमा। संग्रह गर्ने, लिप्त हुने यस्तो गृहस्थीको चर्चा हाम्रो धार्मिक ग्रन्थमा छैन।
योगको साधना गरेपछि जसले आफ्नो आत्माको रुपमात्र देख्दैन, अरुको आत्माको रुप पनि देख्दछ। अनुशासन, अहिंसा यो सबै साधनाले प्राप्त हुन्छन्। बुद्धको जीवनमा तिनै कुराहरु थिए। त्यसलाई हामीले आफ्नो आचरणमा ल्याउनुपर्छ।
भगवानले भन्नुभएको छ– मैत्री, दयालु, समता, निरंहकार भएको भक्त मेरो प्रिय हुन्छ। कर्मबारे किसुनजीले भन्नुभएको छ, कर्मभित्र अकर्म हुनुपर्छ। लयमा पनि त्यही कर्मको भाव हुनुपर्छ। कर्मभित्र अकर्म र अकर्मभित्र कर्म देख्न सक्नुपर्छ। वास्तविकता त्यही हो।
कृष्णजीले जीवनमा त्यो उतार्नुभएको मैले देखेको छु।
राजनीतिमा पनि उहाँ पूर्वाग्रहरहित र निरपेक्ष हुनुहुन्थ्यो। जीवनभित्र बसेर त्यसबाहिर रहेको भाव किसुनजीमा थियो।
त्यस्ता किसुनजीको जन्मोत्सवमा उपस्थित भएर श्रद्धा अर्पण गर्न पाउँदा मलाई खुसी लागेको छ।
किसुनजीको संविधान बेलैमा बनाएर बेलैमा चुनाव पनि गर्दिनुभयो। एक वर्षभित्रै सबै काम सिध्याइदिनुभयो। आज कति वर्ष बितिसकेको छ। किसुनजीबाट आजका नेताहरुले त्यही सिक्नुपर्छ। नेताहरुले विलम्ब नगरी तुरुन्तै संविधान बनाए भने अहिलेको समयमा उहाँप्रति सम्मान यही ठहर्छ। त्यो काम गर्ने नेताहरुले नै हो, किसुनजीप्रति सम्मान राखी वर्ष दिनभित्रै संविधान लेख्नुहुन्छ भन्ने आशा छ। धन्यवाद।
(यो अंश ९५ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे सन्तनेता कृष्णप्रसाद भट्टराईको ९० औं जन्मोत्सवमा सोमबार (पुस ८ गते) प्रमुख अतिथि हुनुहुन्थ्यो। बाडेगाउँ लतितपुरस्थित किसुनजी आश्रममा भएको कार्यक्रममा उहाँले गर्नुभएको सम्बोधनको अंश सेतोपाटी अनलाइन पत्रिकाले प्रकाशन गरेको थियो त्यसैबाट साभार गरिएको हो।)