जनकवि केवलपुरे किसानको पहिलो बार्षिकिको अवसरमा लेखेको श्रद्धान्जली अर्पण कविता
— लिला राज कार्की,
हे जनकवि तिमीलाई दिन्छु कवितै उपहार
श्रद्धाका फूल हे केवलपुरे सलाम छ बारम्बार
हरिया डांडा वन र पाखा तिमीलाई प्यारा थे
शहरी मोह चाहिन्न भन्थ्यौ गाउँघर सारा थे !
पहिलो भेट भएथ्यो हाम्रो त्यो चिसो छिंडीमा
दु:खका कथा भनेका थियौ बसेर पिंढीमा
विद्यार्थी थियौं त्यो बेला हामी,कोठामा आएर
सुनाउँथ्यौ तिमी भोगेका कथा भाकामा गाएर !
राजगद्धी झुक्यो, अन्याय झुक्यो कलम झुकेन
हजारौं चट्याङ् परे ता पनि मनोबल टुटेन
अँध्यारो चिर्न बालेको दियो निभेको काँ छ र
रास्ट्रको लागि त्यो तिम्रो त्याग लुकेको काँ छ र !
था पत्तै नपाई चम्किलो घाम डांडाले छेकेछ
दुखेको मन आँसुको मसी बनेर लेखेछ
आँसु कै अक्षर ओकलीरैछ यो मेरो कलम
देशका निधि रास्ट्रका मणि तिमीलाई सलाम !
गएछौ तिमी ति तिम्रा कृति लयमा बोल्दैछन्
देशका सबै दुष्मनहरुको ती पोल खोल्दैछन
शब्दका वाण धारिला बनी कलेजो चिर्नेछ
चौडा छ छाति नेपाली जाति सुदिन फिर्नेछ !
(बाइरोइथ, जर्मनी)