अहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् ।
दिलशोभाले जुन अवस्थामा परोपकारको कार्य सुरु गरिन् र बेसहारा बृद्ध–बृद्धाहरुको स्याहार संभार गरिन् यसको प्रचार नेपाली मेडियाहरुले नै गरेका हुन् । उनको बारेमा नेपाली मेडियाहरुमा आएपछि यसले विश्वभर रहेका नेपालीहरुको परोपकारी मनलाई आकर्षित ग¥यो । नेपालभित्रै रहेका र नेपाल बाहिर रहेका असंख्य परोपकारी मनहरु उनको सेवाभाव र सोझोपनको प्रभावमा परेर पग्लिए । परिणामस्वरुप उनको आमा घरको लागि निकै ठूलो सहयोग जुट्न थाल्यो ।
सञ्चार माध्यममा यसपटक जब उनको आमा घरको बारेमा विभिन्न कुराहरु आउन थाले यसपछि सबैको आङ जिरिङ्ग हुन थाल्यो । आमा घरको लागि सहयोगको हात बढाउनेहरु त यो काण्डले मर्माहत नै हुन पुगे । केहीले पत्याए भने धेरैले पत्याउन सकेनन् । तर जब दिलशोभाले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राखिन् यसले फेरि अधिकांश मानिसमा दिलशोभाप्रति जुन नकरात्मक धारण बनेको थियो त्यसलाई मत्थर गर्न सफल भयो । विशेषगरी एकोहोरो फोन टेपको जुन वार्तालाप थियो, यसैको आधारमा उनलाई यौनदुराचारीको आरोप लगाइएको थियो । तर यो टेपकै आधारमा उनलाई जुन आरोप लगाइएको थियो, त्यो कुनै पनि हालतमा प्रमाणित हुने खालको थिएन । तर यी सबै हुँदा हुँदै पनि सञ्चार माध्यम, दिलशोभा र सरकार यी तीनवोटै पक्ष यस प्रकरणमा नराम्रासँग जेलिएका छन् । यी तीन पक्षलाइृ यो प्रकरणका कारण उठेका विभिन्न सवालहरुको जवाफ निश्चित समयभित्र दिनु पर्ने जिम्मेवारी बढेको छ ।
पत्रकारको कलम र बन्दुक उस्तै उस्तै हुन् । जसरी बन्दुक पड्किएपछि गोली फिर्ता आउँदैन त्यस्तैगरी पत्रकारको कलमले चलाएको गोली पनि फिर्ता आउँदैन । यी दुबै गोलीले निशानामा घात गरी सकेका हुन्छन् । पत्रकारले यसपटक दिलशोभामाथि हानेको कलमको गोलीले दिलशोभालाई मात्र होइन दिलशोभालाई एक आइकोनकोरुपमा मनमा स्थापित गरेका हजारौँ हजार परोपकारी मनलाई पनि क्षत विक्षत पारेको छ । समाचार संकलन गर्ने र प्रवाहित गर्ने जिम्मेवारी लिएकाहरुले यस प्रकरणमा सामान्य स्तरको मानवीय चेतनाको पनि प्रयोग नगरिएको देखिएको छ । समाचारलाई हिट बनाएर एक नम्बर बन्ने गलत उद्येश्यबाट उनीहरुको निर्देशित रहेको कुरा सजिलै बुझ्न सकिन्छ । दिलशोभाबाट पनि जानी जानी वा नजानेरै भए पनि गर्न सकिने खालका काम नभएको देखिएको छ तर उनीमाथि लगाइएको मूख्य आरोप यथार्थ भन्दा धेरै पर पुगेको शंका गर्ने आधारहरु अहिलेसम्म पर्याप्त रहेको महसूस आम जनसमुदायले गरेका छन् । मेडियाले उठाए अनुसार उनलाई यौन दुराचारी वा यौन व्यवसायीको रुपमा प्रमाणित गर्ने आधारहरु नदेखिएकोले यस प्रकरणका कारण सिंगो पत्रकारिता क्षेत्रमाथि नै आम जनतामा नकारात्मक सोच विकास हुने संभावना प्रवल रहेको छ ।
दिलशोभाले आमाघरका लागि जे जति सहयोग विश्वभरबाट पाएकी छन् त्यसको आधारमा हेर्दा कतै उनीमा पनि लोभलालचा पलाएको थियो कि भनेर शंका गर्ने आधारहरु पनि रहेका छन् । उनी एक अनपढ व्यक्ति हुन् । त्यसैले व्यवस्थापकीय कमजोरीहरु रहनु त्यति अस्वभाविक होइन तर उनको नियत के थियो भन्ने कुरा भने छानविन हुनु जरुरी छ । कानूनी रित नपु(याएको भन्दै उनको घरबाट बालक उद्धार गरिएको भन्ने जुन सरकारी भनाई आएको छ, यसलाई लाज नभएको सरकारको नांगो नाचको रुपमा लिनु पर्ने हुन्छ । सडकमा रहेका अनाथ र बेसहाराहरुको लागि अहिलेसम्म सिन्कोसम्म नभाँचेको नेपाल सरकारलाई यस्तो तर्क दिनको लागि नैतिक अधिकार रहेको छैन । सरकारले चाहेको भए आजभन्दा दुई तीन दशक अगाडि नै लोककल्याणकारी कार्यक्रम लागु गर्न सक्थ्यो । राज्यले अनाथ र बेसहाराको जिम्मा लिई दिइएको भए न अनुराधाहरु जन्मनु पथ्र्यो न त दिलशोभाहरु नै । राज्यको यही लापरवाहीको कारणले अहिले अनाथ र बेसहाराको नाममा कयौँ ठगहरुले दुकान चलाएर नाफा कमाई रहेको स्थिति रहेको छ । माथिल्लो निकायको कुरा छोडौँ एउटा गाविसमा गएको बजेटमा हुने भ्रष्टचार मात्र रोक्न सक्ने हो भने पनि हरेक गाविसमा अनाथालय र वृद्धालय खोलेर चलाउन पुग्दछ । तर नेपालमा सरकार भनेको जनताको टाउकामा लठ्ठी बजार्नको लागि मात्र रहेको एक निरंकुश संस्थाको हैसियत भन्दा कहिल्यै माथि उठेको छैन । अनि यस्तो राज्यले दिलशोभाको आमा घरबाट बच्चाहरुको ‘उद्धार’ गरेको हौवा पिटाउनुलाई राज्यले गरेको घटिया प्रोपगण्डा नै भने पनि अन्याय हुने छैन । सडकमा रहेका अनाथ र बेसहारालाई अहिलेसम्म नदेखेको सरकारले दिलशोभाको घरभित्र रहेका बालकलाई ‘उद्धार’ गर्नुमा वदनीयतपूर्ण स्वार्थ लुकेको त छैन भनेर पनि प्रश्न उठेको छ ।
सुनिएको छ, यो प्रकरणको छानविनको जिम्मा सरकारले प्रहरीलाई दिएको छ । कसैको दबाबमा नपरि यसको सही छानविन गरी सत्यतथ्य उजागार गर्न प्रहरी सफल भयो भने जटिल बनेको यो प्रकरणले भोलिका दिनका लागि पनि सही मार्ग निर्देशित गर्न सक्नेछ । आशा गरौँ सत्यतथ्य बाहिर आउने छ र दोषिलाई त्यत्तिकै उन्मुक्ति दिइने छैन । (बेलायतबाट प्रकाशित सत्यतत्थ्य मासिकको सम्पादकीयबाट)