-बीके पाण्डे
नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ ।
आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले नेपालमा शासन गरेको अहिले २५ वर्ष पुग्न लागेको छ । यो पच्चिसवर्षमा यी ‘समाजवादीहरु’ स्वास्थ्यसेवा गरीवहरुको पहुँच भन्दा बाहिर पुर्याउन ‘सफल’ भएका छन् । तैपनि यी महाशयहरुले समाजवाद शव्दको दुरुपयोग गर्न छाडेका छैनन् ।
यी महाशयहरु बेलायत लगायतका युरोपियन देशमा घुम्न आउँछन् तर यी देशमा स्वास्थ्य सेवा कसरी आम पहुँचमा पुग्न सकेको छ भन्ने बारेमा बुझ्ने प्रयासमा लाग्दैनन् । यी महाशयहरुको विदेश घुम्न आउँदा ध्यान कता हुन्छ भन्ने कुराको चर्चा गर्ने हो भने अर्को नयाँ महाभारत नै तयार हुन्छ ।
विश्वमा बेलायतको स्वास्थ्य प्रणालीलाई उत्तम नै मानिन्छ । पैसावालहरुलाई यहाँ पनि प्राइभेट उपचार सेवा छ तर पनि आम जनताको लागि राज्यस्तरको यहाँको व्यवस्थापन अन्यत्र पनि अनुकरणीय हुन सक्छ । यहाँ प्रत्येक रोजगार प्राप्त व्यक्तिले नेशनल इन्सुरेन्सको लागि निश्चित प्रतिशत रकम अनिवार्य रुपमा तिर्नु पर्छ । यो रकम नै यहाँको कल्याणकारी राज्यको अवधारणालाई परिचालित गर्ने सिड मनी हो । तर नेपालमा यसको उल्टो छ । सरकारी सेवामा रहेर जिन्दगीभर सुल्टो उल्टो कमाई गर्नेहरुको लागि छुट्टै अस्पतालहरु सरकारी बजेटबाट सञ्चालित छन् । कमाउने र हुनेसँग कर उठाउने र नहुने वा कमाउन नसक्ने वा काम गर्न नसक्ने वा काम नपाउनेहरुलाई राज्यले सुविधा उपलव्ध गराउनु नै कल्याणकारी राज्यको परिभाषाभित्र पर्नु पर्छ । तर नेपालमा जोसँग छ वा जसले कमाएको छ उसले कर तिर्दैन तर राज्यको सबै सुविधा उसैले उपभोग गरिरहेछ ।
अर्थमन्त्री रामशरण महत जो एक उग्र पूँजिवादी अर्थशास्त्री हुन् उनले अमेरिकाको जस्तो स्वास्थ्य बिमाको कुरालाई बढावा दिन खोज्दैछन् अरे भन्ने चर्चा छ । यदि यो प्रणाली नै लागु गरियो भने नेपाल संसारको सबभन्दा खराव स्वास्थ्य प्रणाली भएको मुलुकमा दर्ज हुनेछ । अमेरिकामा यो प्रणालीले तल्लो स्तरका जनतामा रुवावासी गराएको छ । यो भनेको उग्र पूँजिवादी सोच नै हो । आखिरमा स्वास्थ्य पनि अनैतिक उद्योग बन्न जानेछ । जुन अहिले नेपालमा यो प्रणाली लागु नगर्दै पनि भइसकेको छ ।
आम जनताको स्वास्थ्यमा कुनै ध्यान नदिने अनि नेताहरु भने बारम्बार राज्यकोषबाट रकम खर्चेर विदेशमा उपचारको लागि गइरहने यी ‘समाजवादीहरु’लाई के भन्ने र खोई ? मलाई आफ्नै कविता “म सिंहदरबार” को सानो अंश यहाँ राख्न मनलाग्यो, यी मकुण्डोधारी समाजवादीहरुको विरोधमा ।
मुगुमा सुन्तलीहरु
सुत्केरी हुन नसकेर मरेछन्
हुम्लामा शिववहादुरहरु
सिटामल नपाएर मरेछन्
जुम्लामा जीतवहादुरहरु
जीवनजल नपाएर मरेछन्
कालीकोटमा कलिला बच्चाहरु
कुपोषणले मरेछन्
तर मेरो आँखा अगाडि नै
म माथि बुकुर्सी मार्ने स्यालहरु
औषधीको नाममा
करोड करोड हसुरेका छन्
नक्कली बिल पसारेका छन्
तर विवस म सिंहदरवार
केही गर्न सकेको छैन
चुपचाप हेरिरहेछु
चुपचाप सहिरहेछु ।